समाज

'अहिले आत्तिने बेला हैन, संयमता अपनाउनु एकदमै जरुरी छ'

'चिकित्सक युद्धमा हिँडेका सैनिक हुन्, हामी नै डराएर हुँदैन'

जेठ ३, २०७७

    काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) चिकित्सक र कोरोनाबीचको लडाइँ चलेको ६ महिना हुन लाग्यो। यो भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ।

    कोरोना समस्या विश्वभर टाउको दुखाइ बनिरहेको बेला नेपाल यसबाट अछुतो हुन सकेन। नेपालमा हालसम्म २ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ।

    काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा कोरोना संक्रमितको संख्या बढ्दै गएकाे छ। कोरोनाबाट सामान्यदेखि उच्च व्यक्तिमा सामाजिक आर्थिक तथा मनोवैज्ञानिक त्रास बढ्दै गएको छ।

    कोरोना बिरामी बढ्नु र जनजीविकामा असर बढ्दै जानु सामानान्तर रेखाजस्तो देखिएको छ। कोरोना बिरामी बढ्दै जाँदा अस्पतालका शैयाहरु भरिँदै गएका छन्। सीमित स्वास्थ्यकर्मी रहेको नेपालमा कोरोना संक्रमणले थप जटिलता उत्पन्न भैरहेको छ।

    दिनरात चिकित्सक तथा नर्सहरु कोरोना संक्रमितको निरीक्षण र परिक्षणमा लागिपरेका छन्। कोरोना संक्रमणबाट स्वयं उनीहरु पनि अछुतो हुन सकेका छैनन्। नेपालमा स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण देखिँदा आफूलाई थप जटिलता महसुस हुन थालेको चिकित्सकहरुले बताएका छन्।

    कोरोनासँग लडिरहेका देशका विभिन्न क्षेत्रका चिकित्सकसँग उनीहरुको अनुभव कस्तो छ भन्नेबारे यो लेख तयार पारिएको छ।

    नारायणी अञ्चल अस्पतालमा कोरोना अप्रेसनमा फ्रन्टलाइनमा बसेर काम गरिरहेका डा. निरज सिंह भाइरसबाट आत्तिनुभन्दा स्वयमता अपनाउन आग्रह गर्छन्। सिंह भन्छन, 'यो दुनियाँमा जतिसुकै जटिल चुनौती पनि संयमता अपनाएर समाधान भएका छन्। अहिलेको चुनौती हरेक क्षेत्रका व्यक्तिले संयमता अपनाउनु जरुरी छ।'

    नारायणी अंचल अस्पतालका फिजिसियनको रुपमा कार्यरत उनले यसअघि विभिन्न सरुवा रोगको उपचार गर्दा पनि कतिपय स्वास्थ्यकर्मीहरु त्यस रोगबाट ग्रसित हुने गरेकोले कोरोना सर्छ भनेर उपचारमा संग्लन नै नहुने भन्ने सोच आफ्नो नभएको बताउँछन्।

    जब काेराना चीनबाट युरोप हुँदै भारत छिर्‍याे यसको भयावह स्थिति नेपालमा आउने आफूले पहिल्यै कल्पना गरिसकेको बताउँछन् उनी। कोरोनाविरुद्ध लड्न सुरुदेखि नै मनस्थिति बलियो बनाएको सिंहले बताए। 'जब तीन जना जमातीमा स्वाब संकलन गर्न यहाँ आउनुभयो त्यो बेला नेगेटिभ नआएसम्म  म घर जान सकिनँ।' 

    जब नेपालमा कोरोना संक्रमित बढे। यिनीहरुको उपचारमा को अगाडि आएर काम गर्ने भन्नेमा पनि आफूहरुमा छलफल भएको उनी बताउँछन्।

    कोरोना नेपाल आएपश्चात् पिपिई लगाउने विषयमा पनि आफूले अध्ययन गरेको सिंह बताउँछन्। 'सीमित पिपिईलाई कसरी लगाउने र खेर जानबाट बचाउने भन्ने कुरामा पनि आफूहरु गम्भीर भएर अघि बढ्का थियौं', उनले भने, 'मैले पिपिई लगाउँदा अन्य साथीको सहयोग लिएको थिएँ। ता कि पिपिई लगाउँदा गडबड नहोस् र कुनै आपत् आइनलागोस्।'

    तर, पछिल्लो क्रममा पिपिई लगाएर सेल्फी खिचेर समाजिक संजालमा पोस्ट गर्ने प्रवृत्ति उनलाई मन परेको छैन। पिपिई पुन प्रयोग गर्न मिल्दैन। मान्छेहरु पिपिई लगाएर तस्बिर सामाजिक संजालमा पोस्ट गरेकाे प्रति उनी गलत भएकाे ठान्छन्। अस्पताल हुँदा मोबाइल अफ गर्नु र काममा लाग्नु अहिलेको अवस्थामा बढी फाइदाजनक हुने उनले बताए।

    उनी सामान्यतया दुई तीन दिनसम्म पिपिई लगाएर अस्पतालमा खटिएका छन्। 'गर्मीमा मौसम त्यसमाथि पिपिई लगाउँदा हावा भित्र छिर्दैन। पसिनाले लुत्रुक हुन्छ शरीर। पिपिई पुन प्रयोग गर्न मिल्दैन। डाइपर लगाएर कैयौं घन्टा र दिन काम गर्नुपर्छ', उनी पिपिई लगाउँदाको अनुभव सुनाउँछन्, 'म पिपिई लगाउनुपूर्व सकेसम्म पानी कम सेवन गर्छु। खाना कम खान्छु।'

    यो लेख पार्दासम्म हाल नारायणी अंचल अस्पतालमा ७० कोरोना संक्रमित आइसोलेसनमा छन्। उनीहरु बसेको ठाउँमा माइकिङ गरेर उनीहरुको वस्तुअवस्था बुझिरहेको सिंह बताउछन्।

    उनी डाक्टर भएपनि दुई बच्चाका पिता हुन्। वृद्ध आमाको एक छोरा हुन्। बाहिर कोरोना संक्रमित थपिँदै जाँदा घरमा परिवार चिन्तामा नहुने भन्ने कुरै रहेन। 'मान्छे बचाउन डाक्टर भएको मान्छेले परिवारलाई त कन्भिन्स गराइहालिन्छ नि', उनले मुस्कानसहित कुराको बिट मारे।

    यस्तै, डाक्टर रोहन झा चितवनको पुरानो कलेज कलेज अफ मेडिकल साइन्समा कार्यरत छन्। इमर्जेन्सी विभागका प्रमुख उनी ५ वर्ष यो पेसामा खटिसकेका छन्।

    जब बारा पर्सा रौतहट कपिलवस्तु र रुपन्देहीमा कोरोना संक्रमित भटिए, तब चितवनमा खतराको घन्टी बज्यो। कोरोना संक्रमितहरु चितवन आएपश्चात आफूहरु पूर्ण रुपमा बिरामीहरुको सेवामा लागेको बताउँछन्।

    सामान्यतया १२ -१२ को सिफ्टमा पिपिई लगाएर काम गर्दा शरीरमा उत्पन्न थकानले ज्यादै कष्ट हुने उनले बताए।

    पिपिई लगाएपछि खाजा खानाको रुटिन मिल्दैन। अस्पतालले तीन प्रकारको ड्रेस लगाउने अभियान चलाएको छ। यो अभियानमा घरबाट आउँदा लगाउने एउटा पोसाक, अस्पतालमा एउटा पोसाक र घर फर्कदा अर्को छ।

    उनी पनि कोरोनासँग फ्रन्टलाइनमा बसेर काम गरिरहेका छन्। भन्छन्, 'चिकित्सक युद्धमा लडाईं गर्न हिँडेका सैनिक हुन्। सैनिकलाई डर हुँदैन।'

    चिकित्सकका लागि कोरोना स्वाब संकलन गरेपश्चात् त्यसको रिजल्ट न आउने बेलासम्म अस्पतालमा बस्नु नै बढी लाभदायक रहेको उनी बताउँछन। उनी पनि अस्पतालमा लागातार कैयौं दिन बसेका छन्।

    अस्पतालमा बस्नु, खानाको रुटिन नमिल्नु, थकान बढ्नु यो चिकित्सकका लागि सामान्य कुरा हो।' यस क्षेत्रमा आफ्नो जीवन हुँदैन भन्ने हामीलाई थाहा छ। हामी बिरामीका लागि बनेका हौं,' उनी भन्छन्, 'दुख यसकारण लागेको छ, देशमा कोरोना त्रास छ। खुसी यसकारण लागेको छ, हामीमाथि अहिले जिम्मेवारी बढी छ। जिम्मेवारी बहन गर्नु जिम्मेवार नागरिकको कर्तव्य सोचिएको छ।'

    इमर्जेन्सी २४ घन्टा खुला रहेकाले आफूहरु अहिले परिवारभन्दा बिरामी केन्द्रित भएको उनले बताए।

    हाल उनी कार्यरत अस्पतालमा कोरोना बिरामीका लागि ८ वटा आइसियू कोठा, ४० वार्ड र डाक्टर नर्सका लागि ४० कोठा तयार छन्।

    कोरोना संक्रमणको उच्च जोखिम अहिले नेपालगन्जमा छ। नेपालगन्ज मेडिकल कलेजका आइसियू-सिसियू, इको कार्डियिग्राफी इन्चार्जका रुपमा कार्यरत असिम किदवाई उल्लेखित चिकित्सकहरुको भन्दा फरक अनुभव नभएको बताउँछन्।

    सरकारले गरेको स्वाथ्य परीक्षणको दायरा बढाउनुपर्ने उनी बताउँछन्। सरकारले लकडाउन थप्दैमा कोरोना न्यूनीकरणमा केही राहत मिले पनि स्थायी समाधान नभएको बताए।

    लकडाउनको योजना बनाइरहँदा कोरोना संक्रमण न्यूनीकरणको योजना पनि अगाडि ल्याउन जरुरी छ। अहिलेको मौसमअनुसार अधिकाशंलाई रुघाखोकी र ज्वरो आउने बेला हो। यो संकेत हुने बितिक्कै आत्तिहाल्नुपर्ने अवस्था छैन। कोरोना संकेत महत्वपूर्ण कुरा होइन। कोरोना न्यूनीकरण अहिलेको प्रमुख चुनौती हो।

    कोरोनाका सामान्य बिरामीका कारण जटिल बिरामीले आइसियू नपाउने अवस्था सृजना हुन सक्ने अवस्था बन्ने देखिएको छ।

    उनी भन्छन्, ' सरकारले कोभिड र ननकोभिड बिरामीका लागि छुट्टै अस्पतालको खाका तयार पर्नुपर्छ। अहिले कोभिड बिरामीलाई महत्व दिँदै गर्दा अन्य बिरामीलाई पनि नजरअन्दाज गर्न मिल्दैन', उनी भन्छन्, 'बरु निश्चित चिकित्सक छुट्याएर कोरोनाकेन्द्रित गराैं। अन्य चिकित्सकलाई अन्य रोगका लागि केन्द्रित गर्दा अझ प्रभावकारी हुन सक्छ।'

    उनी कोरोना बिरामीसँग सीधै नजिक छैनन्। तर, बढ्दो जोखिमका लागि तयारी अवस्थामा छन्।

    चिकित्सक र नर्सलाई सिफ्टअनुसार समयवधि तोकेर कोरोना बिरामी उपचारमा लगाउनुपर्ने उनले बताए। भन्छन, 'कोरोना जसलाई पनि हुन सक्छ। बरु उपचारमा संग्लनलाई निश्चित समयावधि तोकेर त्यसैमा खटाऊँ। पुन अर्को पटक अर्कोलाई खटाउ। यो वैज्ञानिक तरिका हो।'

    अहिले कोरोनाको जोखिम न्यूनीकरण गर्न प्रयोग गर्ने मास्क एन ९५ र सर्जिकल मास्कबारे किदवाई भन्छन्, 'एन ९५ मास्क प्रयोग गर्दा कृपया सर्जिकल मास्क पनि प्रयोग गरौं। त्यसले गर्दा एन ९५ मास्क बढी समयसम्म प्रयोग गर्न सकिन्छ।'

    अहिले सामाजिक संजाल र मिडियामा कोरोनाविरुद्ध लडिरहेका चिकित्सक र नर्सलाई घर निकाला गर्ने खबरले आफू दुखी भएको उनी बताउँछन्। हरेक चिकित्सकको परिवार छ। उनीहरुले चिकित्सकलाई साथ दिइरहेका छन् भने समाजले पनि चिकित्सकहरुलाई साथ दिन जरुरी छ। 'सामाजिक दूरी आजको आवश्यकता हो। कोरोनासँग लडिरहेका चिकित्सकहरुलाई आफ्नो टोल र समाजबाट अलग्याउँदैमा कोरोना निर्मुल हुन सक्दैन', उनी भन्छन्, 'यस्ता अमानवीय कार्यले समाजमाथि नै नैतिक प्रश्न उठ्न सक्छ।'

    जीवन जिउन उत्प्रेरित गर्न जरुरी छ। उपत्यका बाहिर कोरोनालाई नजिक बाट नियालिरहेका कैयौं चिकित्सक मध्येका यी तीन चिकित्सकको स्वरमा एउटै आशय छ, 'साहस भन्ने कुरा जिनमा बोकेर आउने कुरा होइन। यो त आफैंले निर्माण गर्ने कुरा हो। बिरामी भएका व्यक्तिलाई उपचार गरेर घर फर्काउने संकल्प बोकेका हामीले कोरोनासंग डराएर भाग्नु आफ्नो उत्तरदायित्व र पेसागत मर्यादा भन्दा बाहिरको कुरा हो। जून हामी कल्पना पनि गर्न सक्दैनौ।'

राजु पौडेल

पत्रकार पौडेल थाहा खबरमा कार्यरत छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]