हिन्दु राष्ट्रको झमेलामा भारत नफसोस्

|

भर्खरै भारतका गृहमन्त्री अमित शाहजीको चिन्ता पढियो, 'नेपाल र भुटानसँगको खुला सिमानाका कारण भारतलाई सदैव अप्ठेरो परेको छ।’ ठीकै छ त्यसो भए सिमानामा काँडेतारको बार लगाइदिनुस् न त! कुरो सक्किगोनि।

हामी दुईवटा मुलुकका लागि यो काँडेतार लगाउने काम अलिक बढी खर्चिलो हुन्छ। खर्बौंको बजेट खेलाउने विशाल भारतका लागि १५० किलोमिटरको (नेपाल र भुटान) को सिमानामा काँडेतार लगाउने कुन ठूलो भयो?

तर, कुरो यति सजिलो छैन। भारतीय गृहमन्त्रीले इतिहासमै पहिलोपटक नेपाल र भुटानलाई समदूरीमा राखेका छन्। उसो त भाजपा नेहरुको विरोध गर्छ, तर कांग्रेस नै भए पनि पटेलको गीत गाउँछ।

बेलायती संसदबाट स्वतन्त्र भएपछि नेहरु चीनसँग सिधै भिड्नु नपरोस् भनेर चीन-भारतबीचका केही मुलुकहरू यथास्थानमा रहुन् भन्‍ने चाहन्थे। तर पटेल जेजति छ पाकिस्तानबाहेक सबैलाई सोहोरेर विशाल हिन्दुस्तान बनाउन चाहन्थे। त्यसैले स्वतन्त्र नेपाल स्वतन्त्र नै रह्यो। र, भारतले नेपालको लाजिम्पाटमा बेलायतले प्रयोग गरेको दूतावास क्षेत्रमै सीमा काटेर आफ्नो दूतावास बनायो। 

हामीलाई युद्ध मन पर्दैन। युद्ध विजय होइन त्यो विनाश हो। नेपालमा कुनै सशस्त्र विद्रोहहरू सफल भएका छैनन्। तपाईंहरू अहिले पनि नक्सलवाद र माओवादबाट पीडित भइररहनु भएको छ। हामीले त्यही समस्यालाई दुई दशकको प्रयत्नमा समाधान गरिदियौँ।

बेलायती भारतको पालामा सिक्किम र भुटानसँग जेजस्तो सम्‍बन्ध थियो, पछिको भारतले पनि त्यही सम्बन्धलाई निरन्तरता दियो। किनभने मोहम्मद अली जिन्‍ना र जवाहरलाल नेहरु बेलायतकै र बेलायतमै ब्यारिस्टरी गरेका सम्भ्रान्त नागरिक थिए।

यही कारणले यी दुई नेता, महात्मा गान्धीलाई तिरस्कार गरेरै भए पनि बेलायती निर्णय मान्‍ज बाध्य थिए। बेलायती भारतको शासनकाल (१९४७) सम्म पनि भुटान उसैको संरक्षित राज्य थियो। (१९५०) बेलायतविहीन भारतले पनि त्यो जिम्मेदारीलाई चपक्क आफ्नो काँधमा सार्‍यो। भुटानका पूर्व-राजालाई बेलायतकी महारानीले जेट विमान उपहार दिनुको कारण पनि यही संरक्षकत्वको दायित्वबोध थियो।

अब आउनुपर्छ मूल मुद्दामा। भारतीय गृहमन्त्रीले जे बोले–हिन्दूहरूको भाषामा त्यो कालकुट विष हो। भारतले नेपाल र भुटानलाई बराबरी हैसियतमा राख्‍नुपर्छ भन्‍जे हिन्दू विस्तारवादी सोचको पूर्व-घोषणा हो। बोल्न त जे पनि पाइन्छ तर बोलेको कुरो पाइहालिन्छ भन्ने चाहिँ हुँदैन! हामी हाम्रो स्वतन्त्रतासहित यो २१ औँ शताब्दीमा आएका हौँ। तपाईंहरूको यस्तो गौरवशाली इतिहास छैन।

पहिले मेसोपोटामियाबाट आएका आर्यहरूले सिन्धु सभ्यताको विनाश गरेर हिन्दुस्तानलाई खाए। आर्यपछि आए मुसलमान। उनीहरूले चार सय वर्ष हिन्दुस्तानमा राज गरे। त्यसपछि आए अंग्रेज। अंग्रेजलाई पनि २०० वर्षको इतिहासको चोक्टो तपाईंहरूले दिनुपर्ला।

यसो भनेर मैले तपाईं र तपाईंजस्ता महान् हिन्दूवादीहरूको अपमान गर्न खोजेको होइन। म र हामी नेपाली, आधारभूत रूपमै युद्धविरोधी छौँ भन्‍जे सन्देश मात्र दिन खोजेको हुँ। हामीलाई युद्ध मन पर्दैन। युद्ध विजय होइन, त्यो विनाश हो। नेपालमा कुनै सशस्त्र विद्रोहहरू सफल भएका छैनन्।

तपाईंहरू अहिले पनि नक्सलवाद र माओवादबाट पीडित भइररहनु भएको छ। हामीले त्यही समस्यालाई दुई दशकको प्रयत्नमा समाधान गरिदियौँ। बन्दुकले मान्छे मार्न मात्र सक्दछ। यो हामी नेपालीको अटुट विश्वास हो।

नेपाल-भारत सम्‍बन्ध द्वन्द्व र हिंसामा रुमलिएर होइन, मित्रता र सद्भावका साथ अघि बढ्नुपर्छ। हामी तपाईंहरूबाट केही चाहन्‍नौँ। मेरो जीवनकालमै मैले तपाईंहरूको तीनपटकको नाकाबन्दी भोगेको छु। नालापानी अहिले तपाईंहरूले लगिसक्नु भएको छ। 

अहिले नेपालमा इसाईले मरिहत्ते गरेर ‘भगवान् येशुको’ गीत गाए पनि त्यता जानेको भन्दा आफ्नै लुम्बिनी जानेको संख्या बढेको छ। नेपालमा चर्चभन्दा चैत्य बढी छन्। चर्चसँग पैसा छ। त्यसैले त्योसँग मानवता छैन। तर चैत्यमा मानवता र सच्चाई दुवै छ।

तपाईंका गोरा-काला पुर्खाहरूले नालापानी किल्लामा ४५ दिन नाकाबन्दी लगाउँदा पनि नझुकेको बलभद्र कुँवरको 'जिन' जोगाएको जाति हो हाम्रो। त्यसैले गफ र गालीले छुँदैन हामीलाई। हामीले तपाईंका पुर्खाहरूसँग पनि लडाइँ गरेका थिएनौँ। उनीहरू हाम्रो पहाडसँग ठोक्किन आए। अलिदिन यसोउसो गरे। त्यसपछि बट्ठयाइँ गर्दै सुगौली सन्धि गरेर फर्किए।

मन दुखे पनि हामीले सुगौली सन्धि मानेका छौँ। दामोदर पाण्डे र उहाँका साथीहरूले टिस्टाको पानीमा खुँडा पखालेको इतिहास अहिलेसम्म जिउँदै छ। नेपालका सेनापति अमरसिंह थापाले गंगोत्रीमा बनाइदिएको पूर्वाधारमा पछि तपाईंहरूको पनि लगानी थपियो होला।

भारतीय गृहमन्त्रजी, हिन्दू धर्म तपाईंहरूको मूल एजेण्डा हो। त्यो तपाईंहरूसँगै रहोस्। यसमा हाम्रो कुनै आपत्ति छैन। तर, नेपाललाई हिन्दू राष्ट्र बनाउने कष्टकर काममा तपाईंहरू नलाग्नुस्। नेपाल हिन्दू राष्ट्र होइन भन्‍ने सत्य बुझ्नुहोस्। राजा महेन्द्रको पालामा बुद्ध, शिख, प्राकृतिक र मस्टोपूजक खसलाई समेत समेटेर हिन्दू धर्मलाई ८१ प्रतिशत पुर्‍याइएको भ्रममा ननाच्‍नुस्। अहिले नेपालमा इसाईले मरिहत्ते गरेर ‘भगवान् येशुको’ गीत गाए पनि त्यता जानेको भन्दा आफ्नै लुम्बिनी जानेको संख्या बढेको छ।

नेपालमा चर्चभन्दा चैत्य बढी छन्। चर्चसँग पैसा छ। त्यसैले त्योसँग मानवता छैन। तर चैत्यमा मानवता र सच्चाई दुवै छ। अपवादबाहेक, पैसा र इमान कहिल्यै एक अर्कासँग मिलेर बस्नै सक्दैनन्। अपवाद भनेको सयमा दुई या चार जस्तै हो। अथवा तपाईंहरूको खुसीका लागि म त्यसलाई दशसम्म पुर्‍याइ दिन पनि सक्छु। भन्‍न पनि सयकडा दश।

अहिलेको नेपाल भनेको सर्वधर्म समान हो। हिन्दूराष्ट्र हुनेबित्तिकै गौरवबोध गर्ने कुल जनसंख्याको त्यस्तै एकतिहाई होला। तपाईंहरूको धर्मले नेपालका दुईतिहाइ जनसंख्यालाई पीडा दिन्छ। उसै त नेपाली मानसमा भारतविरोधी भावना बहुमतमा छ। त्यसमाथि यो नयाँ झ्याउलो थपियो भने भारतविरोधी भावना झन् धेरै माथि जान्छ।

भारतीय गृहमन्त्रीको नेपाल र भुटानलाई एउटै ‘क्याटागोरी’ मा राख्‍ने षड्यन्त्रप्रति सबै नेपालीको ध्यान जानु जरुरी छ। त्यस्‍सै नेपाल कम्युनिस्ट पार्टीले २००७ सालदेखि नै विस्तारवादी चरित्रको छिमेकी भनेको होइन। त्यसैले भारतीय गृहमन्त्रीले नेपाली सिमाना बन्द गरिदिनु भएमा हामी सबै नेपाली उहाँलाई बधाई दिनुपर्छ। बरु उहाँहरूले पर्खाल बनाउँदा दशगजामा एकाध फुट मिचे पनि हामीले गुनासो गर्नु हुँदैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.