|

काठमाडौं : सरकारले तमोर जलाशययुक्त जलविद्युत् परियोजना अघि बढाउने जिम्मा पाएको चिनियाँ कम्पनी कम्पनी पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड (पिसिसीएल)लाई पत्राचार गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री कार्यालयमा आइताबार बसेको लगानी बोर्डको ५४औँ बैठकले ७५६ मेगावाट उत्पादन क्षमताको परियोजना अघि बढाउने चिनियाँ कम्पनीलाई पत्राचार गर्ने निर्णय गरेको हो।

आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनमा हालसम्म भएका प्रगति र समग्र स्थितिबारे पिसिसीएलको धारणा बुझ्न पत्राचार गर्ने निर्णय लगानी बोर्डको बैठकले गरेको हो। 

‘तमोर जलाशययुक्त जलविद्युत् परियोजना अघि बढाउने सम्बन्धमा प्रस्तावकसँग १९ जनवरी २०२० मा भएको समझदारी पत्रको पालना सम्बन्धमा पत्राचार गर्ने निर्णय गरेको छ,’ कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आयोजना अघि बढाउन चिनियाँ कम्पनी पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड, नेपालको हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ड एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र लगानी बोर्डको कार्यालयबीच २०७६ माघमा सम्झौता भएको थियो।

सम्झौता भएको मितिले २ वर्षभित्र आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सक्ने भनिए पनि हालसम्म उक्त काम सकिएको छैन।

लगानी बोर्डको ५४औँ बैठकले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौता (पिडिए) स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाउने पनि निर्णय गरेको छ।

‘परियोजना विकासका लागि सतलज जलविद्युत् निगम लोअर अरुण पावर डेभलपमेन्ट कम्पनीसँग गरिने परियोजना विकास सम्झौता (पिडीए) को सहमतिको मस्यौदालाई स्वीकृत गरी अनुमोदनका लागि मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ। 

लगानी बोर्डको ५३औँ बैठकले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा विभिन्न मन्त्रालय तथा निकायका प्रतिनिधि सदस्य रहेको वार्ता समिति गठन गरेर सतलज जलविद्युत् निगमसँग वार्तामार्फत् पिडिए मस्यौदा टुङ्गो लगाउने जिम्मा दिएको थियो। 

लगानी बोर्डको अघिल्लो बैठकले तल्लो अरुण जलविद्युत् परियोजनाका लागि रू ९२ अर्ब ६८ करोड बराबरको लगानी स्वीकृत गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.