|

काठमाडौं : युवराज पौडेल (सफल) राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको राहदानी प्रकरणमा सर्वोच्च अदालत जाने भएका छन्। 

मंगलबार विज्ञप्ति जारी गरी उनले राहदानी दुरुपयोग मुद्दामा महान्याधिवक्ताको कार्यालयले लामिछानेलाई उन्मुक्ति दिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्ने बताएका हुन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने सन्दर्भमा लामिछानेलाई उन्मुक्ति दिएको भन्दै उनले आपत्ति जनाएका छन्। ‘अमेरिकी नागरिक कायम हुँदाकै बखत नेपाली राहदानी बनाएको र दुरुपयोग गरेको यथेष्ट प्रमाण हुँदाहुँदै सत्ता र शक्तिको  आडमा निज लामिछानेलाई सो प्रकरणबाट उन्मुक्ति दिनु घोर कानुनको उल्लंघन हो भन्ने मेरो ठम्याइ रहेको छ’, उनले भनेका छन्।

लामिछानेलाई जोगाउन जिल्ला प्रहरी परिसर, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ,उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायधिवक्ताको कार्यालयका पदाधिकारी एंव कर्मचारीहरूले अख्तियार दुरुपयोग गरेको उनको आरोप छ। यो मुद्दामा जोडिएका पदाधिकारी र कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सोमबार नै उजुरी दिएको पनि सफलले बताएका छन्।

‘यस प्रकरणमा जोडिएका जिल्ला प्रहरी परिसर, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ ,उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायधिवक्ताको कार्यालयका पदाधिकारी एंव कर्मचारीहरुले अख्तियार दुरुपयोग गरी आरोपितलाई उन्मुक्ति दिएको भन्दै  हदैसम्मको कारबाहीको माग गर्दै हिजोकै मितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दर्ता गरिसकिएको पनि यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छु’, विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.