दाङ : लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूलाई सम्मान गर्ने निर्णय गरेको छ।
सोमबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा नेपाललाई पुर्याउन सफल भएको भन्दै प्रदेशबाट प्रतिनिधित्व गर्ने ६ जना खेलाडीहरूलाई जनही १ लाख रूपैयाँसहित सम्मान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए।
आइसिसी लिग-२ अन्तर्गत भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी नेपाललाई विश्वभर चिनाउँदै प्रदेशको गौरव बढाएको भन्दै राष्ट्रिय क्रिकेट टोलीका कप्तान नवलपरासीका रोहित पौडेल, रूपन्देहीका कुशल भूर्तेल, रूपन्देहीका कुशल मल्ल, रूपन्देहीका मौसम ढकाल, गुल्मीका सोमपाल कामी र प्यूठानका प्रतिश जिसीलाई सम्मान गर्ने निर्णय भएको उनले जानकारी दिए।
यू–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्याउन सफल भएका लुम्बिनी प्रदेशका ५ जना खेलाडीहरूलाई पनि जनही ५० हजार रूपैयाँसहित सम्मान गर्ने निर्णय भएको प्रवक्ता आचार्यको भनाइ छ।
हालै युएईमा सम्पन्न यू–१९ एशिया छनोट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाललाई विजयी बनाएका यू–१९ का कप्तान रूपन्देहीका देव खनाल, रूपन्देहीका दुर्गेश गुप्ता, कपिलवस्तुका आकाश त्रिपाठी, बर्दियाका विशालविक्रम केसी र अर्घाखाँचीका उत्तम थापा मगरलाई ५० हजार नगदसहित सम्मान गर्ने निर्णय भएको जानकारी उनले दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।