|

इलाम : कप्तान अफिज ओलावाले प्रेरित खेलमा सहज जित निकाल्दै मछिन्द्र क्लब १३ औं इटहरी गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

इटहरी रंगशालामा जारी प्रतियोगिताको तेश्रो क्वार्टरफाइनल खेलमा पाहुना टोली भारतको कञ्चनजंघा एफसी सिलगढीमाथि ५—२ गोल अन्तरको जित निकाल्दै मछिन्द्रले अन्तिम ४ मा स्थान बनाएको हो।

मछिन्द्रको जितमा कप्तान ओलावालेले ४ गोल गरे। विजय भुजेलले १ गोल थपे। कञ्चनजंघाका अनिश राईले २ गोल गरे पनि हार टार्न सकेनन्। खेलको सुरुवाती अग्रता कञ्चनजंघाले लिएको थियो। 

१५ औं मिनेटमा अतिश राईको पासमा अनिश राईले अग्रता दिलाएका थिए। ३९ औं मिनेटमा ओलवालेले व्यक्तिगत पहिलो गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफ १—१ गोलको बराबरीमा सकिएको खेलको दोश्रो हाफमा ५ गोल सम्भव बन्यो।

६२ औं मिनेटमा ओलावालेले काउन्टरमा व्यक्तिगत दोश्रो गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए। ४ मिनेट नबित्दै ओलावालेले ह्याट्रिक पूरा गरे। कञ्चनजंघाका समिल हल्दारले शौरभ लिम्बुलाई डि-बक्सभित्र फाउल गरेपछि पाएको पेनाल्टीको अवसरलाई ओलावालेले जाली चुमाउँदै ह्याट्रिक पूरा गरेका हुन्।

मछिन्द्रको गोल यतिमै रोकिएन। ८२ औं मिनेटमा सब्स्टिच्युट खेलाडी विजय भुजेलले मछिन्द्रको अग्रता ४—१ बनाए। उनले लामो दूरीबाट गरेको प्रहारले सीधै जाली चुमेको थियो।

८८ औं मिनेटमा ओलावालेले व्यक्तिगत गोल संख्या ४ पुर्‍याए। इन्जुरी समयमा अनिशले कञ्चनजंघाका लागि दोश्रो गोल गरे पनि जितका लागि पर्याप्त भएन। ​ प्रदिप भण्डारीको स्थानमा मछिन्द्रका गोलरक्षक सुरेश साटा मैदान प्रवेश गरेको ३ मिनेट नबित्दै गोल बेहोर्न पुगेका थिए।

खेलमा ४ गोल गरेका कप्तान ओलावाले म्यान अफ दि म्याच घोषित हुँदै नगद १० हजार प्राप्त गरे। अन्तिम क्वार्टरफाइनल खेलमा मंगलबार गत संस्करणको उपविजेता त्रिभुवन आर्मी क्लब र रोलिङ क्लब झापाबीच प्रतिस्पर्धा हुँदै छ।

पहिलो हाफमा निक्कै दबाब सृजना गरेको कञ्चनजंघाले दोश्रो हाफमा फितलो प्रदर्शन गरेको थियो। दुवै टोलीले केही सुन्दर मुभ बनाए पनि सदुपयोग गर्न सकेनन्।

२३ औं मिनेटमा डिबक्स नजिकैबाट ओलावालेको प्रहार आकासिएको थियो। ६१ औं मिनेटमा दिवाकर चौधरीले गरेको प्रहारलाई कञ्चनजंघाका गोलरक्षक प्रज्वल शर्माले बचाए। ७७ औं मिनेटमा गोलरक्षक बिट भइसकेको अवस्थामा ओलावालेको प्रहार डिफेन्डरले क्लियर गरिदिए।

खेलको ३१ औं मिनेटमा कञ्चनजंघाका सुब्रतो सोरेनले डिबक्स नजिकैबाट गरेको प्रहार आकासिएको थियो। इन्जुरी समयमा वान भर्सेस वानको अवस्थामा निवाङ तामाङको प्रहार फ्रेममा पर्न सकेन।

खेलपछि प्रतिक्रिया दिँदै मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानले दोश्रो रोजाइका खेलाडीहरुले समेत उत्कृष्ट खेल प्रदर्शन गरेको बताए। उनले सुरुवातमा गोल खाए पनि कमब्याक जित निस्किएको बताए।

टिमका महत्वपूर्ण सदस्यहरु राष्ट्रिय टोलीको क्याम्पमा भएको र विमल घर्ती मगरलगायतका केही खेलाडी घाइते भएकाले विश्राम दिइएको उनले बताए। खेलाडीहरुको इन्जुरीका कारण टिमको प्रदर्शनमा तलमाथि भइरहेको उनले बताए।

यता कञ्चनजंघाका प्रशिक्षक दिनकर क्षेत्रीले खेलाडीहरुको गल्तीका कारण गोल खान पुगेको बताए। उनले पेनाल्टीमा गोल खाएपछि खेलाडीहरुको मनोबल गिरेर थप गोल हुन पुगेको बताए। काउन्टर अट्याकमा ३ गोल खानु नै पराजयको मुख्य कारण भएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.