विराटनगर : चैत ९ गतेदेखि १७ गतेसम्म हुने विराट गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ।
विराटनगरस्थित शहीद रंगशालामा हुने विराट गोल्डकपको सम्पूर्ण तयारी पूरा भइसकेको आज (सोमबार) आयोजक विराट गोल्डकप ट्रष्टले पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन्।
विराट गोल्डकपमा प्रतिस्पर्धाका लागि ८ टिम सहभागी हुने भएका छन्। प्रतियोगितामा नेपालका ३ विभागीय क्लब एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिससहित संकटा, जावलाखेल र घरेलु विराटनगर सिटी क्लब सहभागी हुनेछन्।
यसैगरी भारत केरलाको लुका सकर क्लब र भुटानको डुक लयुल फुटबल क्लब आउने भएका छन्। दिल्लीको एफसी क्लबले भने अन्तिम समयमा नआउने जनाएको छ।
८ टिम सहभागी हुने प्रतियोगिता ९ दिनसम्म सञ्चालन हुने आयोजकले जनाएका छ। यस वर्षको विजेता टिमले २० लाख १५ हजार नगद र उप–विजेताले १० लाख २५ हजार प्राप्त गर्नेछ। यसैगरी विधागत रुपमा उत्कृष्ट खेलाडीले नगद २५ हजार पाउने छन्। प्लेयर अफ दी म्याचलाई ११ हजार पुरस्कार दिइनेछ।
प्रतियोगितामा सहभागी हुने दर्शकले टिकट खरिद खुला गरिसकिएको छ। टिकेटिङ पार्टनर खल्ती एपसँग सम्झौता गरिएको छ।
क्वार्टरफाइनल खेलसम्म २०० रूपैयाँ टिकट दर तोकिएको छ। त्यसपछिका खेलका लागि खल्ती एप प्रयोग गरेर खरिद गर्दा ४०० र रंगशालामा खरिद गर्दा ५०० दर तोकिएको छ। प्रतियोगिता आयोजना गर्न २ करोड ५० लाख रूपैयाँ खर्च अनुमान गरिएको छ।
विराटनगरमा २०१८ सालदेखि हुँदै आएको महेन्द्र गोल्डकपको रुपान्तरित संस्करण विराट गोल्डकप २०५७ सालदेखि सुरु भएको हो। विराट गोल्डकपको यो छैंटौं संस्करण हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।