|

काठमाडौं : गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले गठबन्धन सरकारमा मुख्यमन्त्री र अर्थमन्त्री एउटै दलको नहुँदा पश्चाताप भएको बताएका छन्। 

नेपाल प्रेस युनियन कास्कीले बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री थापाले मुख्यमन्त्री र अर्थमन्त्रीबीच बजेट निर्माणमा कुरा नमिल्दा सोचे अनुरुप काम हुन नसकेको समेत स्वीकार गरेका हुन्। 

गण्डकी सरकारले बजेट निर्माणका वेला सवारी, मालपोतलगायत क्षेत्रमा गरेको कर वृद्धि निर्वाचन मिति घोषणापछि सच्याएको बताए। बजेट निर्माणका क्रममा आफूले कुनै भूमिका नपाएको र आफ्नो मन्त्रालयले पाइरहेको बजेट कटौती गरेको गुनासो गरे।

पार्टीले टिकट दिए फेरि पनि कास्की क्षेत्र नम्बर २ बाटै चुनाव लड्ने इच्छा व्यक्त गरे। उनले भने, ‘संघीयतापछि पहिलो प्रदेश सरकार भएको कारण केही कमीकमजोरी भएका हुन सक्छन्, तिनलाई सुधारेर आगामी दिनमा अगाडि बढ्ने छौँ।’

उनले प्रदेशसभा सदस्यमा निर्वाचित भएदेखि हालसम्म खाइपाई आएको सेवा सुविधा विकास निर्माण र सामाजिक कार्यमा खर्चिने गरेकोमा हालसम्मको रकम सार्वजनिक गरे। वि.सं. २०७४ सालमा निर्वाचित भएदेखि २०७८ चैत्रसम्म विकास निर्माण र सामाजिक कार्यमा आफूले ५८ लाख २९ हजार रुपैयाँ खर्च गरेको जानकारी दिए। 

प्रदेशसभाको पहिलो वर्ष १० लाख ५४ हजार, दोस्रो वर्ष ९ लाख ३ हजार, तेस्रो वर्ष १२ लाख ४७ हजार र चौथो वर्ष ११ लाख ३६ हजार रुपैयाँ सामाजिक कार्यमा खर्च भएको बताए। सार्वजनिक गरेको विवरणअनुसार वि.सं. २०७४ सालदेखि हालसम्म उनको बैंक खातामा ४० लाख ७१ हजार रुपैयाँ रहेको छ। 

जुन रकम बैठक भत्तादेखि मासिक पारिश्रमिक र अन्य सेवा सुविधासमेतको भएको मन्त्री थापाले बताए। सांसद निर्वाचित हुनुअघि नै राज्यबाट पाउने सेवा सुविधा सामाजिक सेवामा खर्च गर्ने प्रतिवद्धता जनाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.