|

स्वास्थ्य जस्तो संवेदनशील विषयमा सबै सचेत हुनुपर्छ। व्यक्तिगत जीवनभन्दा विमारीको उपचारमा दिनरात खट्ने डाक्टर र स्वास्थ्यकर्मीहरू महान् हुन्छन्। उदाहरणको रूपमा कोराना महामारीलाई लिन सकिन्छ।

उपकरण अभावमा पनि स्वास्थ्यकर्मीहरूले जीवनको पर्वाह नगरी दिनरात कोभिडका विमारीको उपचार गरे। यसबारे दुईचार शब्द लेखेर पुग्दैन। डाक्टर र स्वास्थ्यकर्मीको कामको सम्मान गर्नुपर्छ। यो पेशा सेवाको पेशा हो।

स्वास्थ्य क्षेत्र सबैभन्दा माथि पर्छ। जीवन भएन भने भौतिक विकासको कुनै अर्थ छैन। त्यही भएर जीवन बचाउने डाक्टर र स्वास्थ्यकर्मीलाई आमसेवा जस्तो मान्न सकिदैन।

कहिलेकाहीँ मानव बचाउनेहरूको सानो गल्तीले विरामीको ज्यान गएका कैयौँ घटना छन्। घटना हुन नदिनु नै बुद्धिमत्ता हो। कहिलेकाहीँ सानो घटना पनि ठूलो हुन जान्छ। अझ स्वास्थ्य जस्तो संवेदनशील विषयमा त झन् होसियार हुनुपर्छ नै।

भदौ २ गते बिहान करिब ११ बजेतिर जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टरमाथि हातपात भयो। त्यस्तो घटना नहुनु पर्ने हो, तैपनि स्वास्थ्य प्रतिष्ठान जस्तो ठाउँमा त्यस्तो घटना भयो। घटनाको विषय स्वास्थ्य प्रतिष्ठानमा मात्र सीमित रहेन।

डाक्टरमाथि हातपात भएको घटना प्रशासनमा पुग्यो‚ दोषीलाई पक्राउ गर्‍यो। दोषीले सजाय पाउनुपर्छ। यदि स्वास्थ्यकर्मी अथवा डाक्टरले गल्ती गरेपछि सम्बन्धित निकायमा उक्त कुरा भन्नुपर्छ। कसैबाट पनि हुने गल्तीलाई समयमै सच्याउनु पर्छ। 

भदौ २ गते घटेको स्वास्थ्य प्रतिष्ठानको घटना देशभर फैलियो। मानिस पक्ष विपक्षमा विभाजित भए। कसैले हातपात गर्नेको दोष देखे त कसैले उपचारका लागि इमरजेन्सीमा पुगेका मानिसले समयमा उपचार नपाएको र रुखो व्यवहारले उक्त घटना घटेको विश्लेषण गरे। प्रशासन आफ्नो अनुसन्धानमा लाग्यो।

डाक्टर र स्वास्थ्यकर्मीले चरणबद्ध आन्दोलन घोषणा गरे। दोषीलाई प्रशासनले समातेर कारबाही प्रक्रिया अगाडि बढाउँदा पनि यता स्वास्थ्य प्रतिष्ठानमा चरणबद्ध आन्दोलन हुँदा सबैको ध्यान त्यही केन्द्रित हुनु स्वभाविक हो।

पहिला त म जुम्लाकी बासिन्दा हुँ। दोस्रोमा पेशाले पत्रकार हुँ। आफ्ना ठाउँको हिसाबले हेर्दा के भएको रहेछ भनेर चासो भयो। सत्यतथ्य बुझ्ने प्रयास गरेँ। मैले सिसी टिभी फुटेज मागेर समाचारका लागि अध्ययन गरेँ। मैले अध्ययन गरेको र विभिन्न व्यक्तिसँगको कुराकानीको आधारमा स्वास्थ्य प्रतिष्ठानको समाचार लेखेकी हुँ।

उक्त समाचारमा मैले कहीँ कतै डाक्टरको गल्ती हो भनेकी छैन। काममा खटिएका डाक्टरको जीउधनको सुरक्षा हुनुपर्छ। तर उपचार गर्न आएका विरामीले पनि उपचार पाउनु पर्छ।

डाक्टरले ओपीडी सेवा बन्द गर्दा विरामीलाई परेको मर्का होस् वा पीडक भनिएका शाहीका छोराले पाउनुपर्ने उपचार पाए कि पाएनन्? पाएनन् भने के कति कारणले पाएनन्। त्यो समाज र पत्रकारको चासो हो।

शाही बालकमात्र होइनन्‚ विरामी पनि हुन्। उनले उपचार पाउनुपर्छ। जुम्लाका विरामीले उपचार पाउनुपर्छ भनेर समाचार लेख्दा के गल्ती भयो? गल्ती गर्ने अथवा हातपात गर्ने शाहीलाई प्रहरी प्रशासनले पक्राउ गरेपछि डाक्टर र स्वास्थ्यकर्मीले सेवा दिनुपर्छ भन्दा के गल्ती भयो?

हरेक घटना हुनुमा एकजना मात्र दोषी नहुन सक्छ। एकजना मात्र दोषी भए पनि उसले सजाय पाउँछ नै। तर मैले लेखेको समाचार डाक्टर र स्वास्थ्यकर्मी गलत हुन् भन्ने छैन। विरामीले उपचार पनि पाउनु पर्छ र घटनाका दोषीले सजाय पाउनु पर्छ।

पत्रकारको पेशा समाचार लेख्ने हो। समाचार लेख्छन्। पत्रकारले समाचार लेख्दा आफूले देखेको, सुनेको, स्रोत जुटाएर र स्रोतको भनाइलाई आधार मान्छन्।

पत्रकारले अर्को पत्रकारको समाचारभन्दा फरक तरिकाले समाचार लेख्छन्, लेख्दै आएका छन्। जुम्लामा त पत्रकारले स्रोत जुटाएर लेखेको समाचारविरुद्ध पत्रकारले समाचार लेख्न थालेका छन्। विडम्बना भन्छु। मैले लेखेको समाचार झूटा भए फरक तरिकाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घटेको घटनाका बारेमा समाचार लेख्न सकिन्छ, लेख्नुपर्छ। मैले स्रोत माग्दा किन पत्रकार साथीको टाउको दुख्यो बुझ्न सकिनँ।

यदि पत्रकार साथीको मसँग व्यक्तिगत रिसइबी छ भने भन्दा हुन्छ होइन भने यतिसम्म गिरेर एक पत्रकारले अर्को पत्रकारका विरुद्धमा लेख्दा शोभनीय हुँदैन। पत्रकारको इमानमा रहेर पत्रकारिता गरिरहेकी मैले लेखेको समाचारमा यति ठूलो आपत्ति हो भने समाचार लेख्ने हो, मेरा बारेमा कपोलकल्पित लेख्ने होइन। यसलाई समाचार भनिँदैन‚ पीत पत्रकारिता (यलो जर्नालिजम) भनिन्छ।

यही कामलाई कार्यस्थलमा हुने दुर्व्यवहार र हिंसा समेत भन्ने गरिन्छ। पत्रकारको काम कुनै घटना, विषय वस्तुसँग सम्बन्धित विषयको आधारमा समाचार लेखेर समाजलाई सूचित गर्नु हो, जुन मैले गरेकी छु।

घटना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विषयमा मैले वास्तविकतामा रहेर लेखेको समाचारको विषय हो। प्रतिष्ठानमा कार्यरत कर्मचारी धनबहादुर शाहीले डा.करण साहमाथि हातपात गरेको विषयले जुम्ला तरंगित भयो। घटना कसरी शुरु भयो भन्ने विषयमा मैले समाचार लेखेँ। वास्तविक तथ्य उजागर गर्दा धेरैलाई खुशी लाग्यो तर केहीलाई नराम्रो लाग्नु पनि स्वभाविक हो।

अझै पनि भन्छु–  म डाक्टरमात्र होइन, काममा भएका कुनै पनि व्यक्तिमाथि दुर्व्यवहार हुनु हुँदैन।

प्रतिष्ठानभित्रको सेवा प्रवाहका विषयमा अथवा विरामीले सेवा पाएन भने त्यो विषयमा हामीले आवाज उठाएनौँ अथवा जनताका पीरमर्काका बारेमा समाचार लेख्न सकेनौँ भने कसका बारेमा समाचार लेख्छौँ? सत्य के हो भनेर खोज्न सक्दैनौँ भने के गरौँला?

डाक्टर र स्वास्थ्यकर्मीहरू पनि मानिस नै हुन्। मानिसका कमी कमजोरी हुन्छन्। त्यसलाई सच्याउनु पर्छ। पहिला हामी मानिस भएर सोचौँ। मानिसले पाउने सेवा सुविधा पाएन भने र सेवा दिनेले समयमा सेवा दिएन भने त्यो केही कामको हुँदैन। लगनपछिको पोतेको के काम भन्छन् नि त्यस्तै हुन्छ।

प्रतिष्ठानको सेवा प्रवाहका विषयमा केही दिनअघि प्रतिष्ठानले गरेको अन्तरसंवादमा नागरिक र पत्रकारहरूको सुझाव के थियो‚ सम्झौँ? सुझावमा सेवामा ढिलाइ, सेवाग्राहीप्रति डाक्टरहरूले गर्ने व्यवहार सहितका समस्या समाधान गर्नुपर्छ भन्ने थियो।

कर्णाली प्रतिष्ठानमा राम्रा अनुभवी डाक्टर समेत छन्। जुम्लाको नेतृत्वको पहल, जनताको सहयोग र आजको उपलब्ध जनशक्तिले प्रतिष्ठान हाम्रो सबैभन्दा ठूलो सम्पत्तिका रूपमा स्थापित भएको छ।

त्यहाँभित्र विकृति पनि छन्। विकृति हुँदा हामी मौन बस्नु हुन्न भन्ने मेरो धारणा हो। जसमा म अहिले पनि अडिग छु।

आज जुम्लीले कुट्छन् भन्ने सन्देश फैलाउनेले के बुझ्नुपर्छ भने चिकित्सकको आन्दोलनमा जुम्लाकै चिकित्सक र स्वास्थ्यकर्मी उत्रिएका थिए। यहाँ बाहिर र भित्रको कर्मचारी भनेर विभेद गरिनु हुँदैन।

मैले सिसी टिभी फुटेज सूचनाको हकअन्तर्गत रहेर समाचार लेख्न मागेकी हुँ, न कि मैले पत्रकार सम्मेलन गर्न। मलाई जुम्लाको गलत सन्देश प्रवाह गर्नु छैन। के त्यो बदनियत थिएन र प्रतिष्ठानको व्यवस्थापन प्रणालीको कमजोर देखिने लज्जाबोधक कार्यबारे हामी को अपरिचित छौँ र ? विश्वविद्यालय स्तरको संस्थामा व्यवस्थापन विभाग छ।

उसले घटनालाई आफैंले अनुसन्धान गर्नुपर्थ्यो। एकै कार्यालयका कर्मचारी र डाक्टरको विवाद आफैँ मिलाए बाहिरबाट कसले हस्तक्षेप गर्थ्यो र ? संस्थाभित्रको विवाद प्रशासनमा पुगेपछि त्यसबारे सत्यतथ्य के हो भन्ने चासो र चिन्ता सबैको हुनु स्वभाविक हो।

मैले समाचार लेखेर घटना उत्तेजित बनाएको होइन। घटना प्रशासनमा पुगेपछि के रहेछ भनेर खोजेकी हुँ। यो मेरो कर्तव्य हो तर मेरा विरुद्ध कथा बुन्नु सरासर गलत हो।

क्षमता भए समाचार लेख्ने हो। दोषी निर्दोषी छुट्याउने काम प्रशासनको हो। मेरो काम समाचार लेख्ने हो, मैले जनतालाई सूचित गरेकी हुँ। यो मेरो पेशा हो।

हिजो प्रतिष्ठान र त्यो संस्थाको पहल समितिको संयोजकलाई कुनै पनि कार्यक्रम, पाटीपौवा, चियापसलमा आलोचना नगरी सन्तुष्टि नलिन नसक्ने व्यक्ति आज प्रतिष्ठानको गुणगान गाउने सत्य बाटोमा आइपुगेछन्। समय निकै बलवान् रहेछ।

बच्चाले उपचार सेवा पाउनुपर्छ,  यो उसको अधिकार हो। मैले यही विषयमा केन्द्रित भएर समाचार लेख्दा ​कहाँनेर गल्ती भयो? कर्णाली स्वास्थ्य प्रतिष्ठानमा घटेको घटनाका बारेमा सत्यतथ्य बुझेर समाचार लेखेकी हुँ।

समाचार पहिला डाक्टर कुटिएको विषय प्रमुख बनेर आए। मैले घटनाको सत्यतथ्य सहित लेखेँ। उक्त समाचार छापियो। उक्त समाचारप्रति रिस हो कि मप्रति रिस हो‚ बुझ्न सकिनँ। यद्यपि जुम्लाकै पत्रकारले मेरा विरुद्धमा छद्मरूपमा जुन कथा बुनेका छन्। त्यो कथा बुनाइले समाचार र सत्यतथ्यप्रति होइन‚ मसँग व्यक्तिगत इगो लिएको छर्लङ्ग छ।

मैले लेखेको समाचार सत्यतथ्यमा आधारित नभएको भए कर्णाली स्वास्थ्य प्रतिष्ठानले नै त्यसको खण्डन गर्थ्यो होला। पत्रकारले समाचारको विषयमा रहेर होइन‚ मेरो काम गर्ने शैलीका विषयमा कथा बनाएर छाप्न लगाए। जुन हास्यास्पद छ।

समाज वर्गीय छ। समाज वर्गीय छ भन्नु भनेको मानिस पनि वर्गीय चेतका आधारमा फरक फरक विचार आस्था बोक्न स्वतन्त्र छ। मैले बोकेको विचार र आस्था मन परेन भनेर मैले सत्यतथ्यमा लेखेका समाचारको बारेमा कथा बुन्नु पक्कै पनि राम्रो होइन।

मैले सत्यतथ्य खोज्दा साउथ इण्डियन शैलीमा प्रतिष्ठानभित्र पसेको आरोप लगाएका छन्। उनले समाचारभन्दा बढी चिन्ता सत्यतथ्य खोज्ने शैलीका बारेमा चिन्ता देखाएर लेखेका छन्।

अझ पनि भन्छु मैले सिसीटिभी फुटेजमा देखेको कुरा लेखेँ। सत्य कुरा लेख्न म डराउँदिनँ। विचार बोकेको र आस्थाका आधारमा मसँग निहुँ खोजियो भने पनि राम्रो होइन। कसले के गर्छ, कुन कति पानीमा छ‚ त्यो सबैलाई स्पष्ट छ।

त्यही भएर समाचार लेख्ने हो‚ कथा बुन्ने होइन। समाचार लेखेर उत्कृष्ट हुने हो झूटा कथा लेखेर उत्कृष्ट भइँदैन।

समाचारको कुरालाई घटनासँग जोड्ने हो न कि नातागोतासँग। होच्याउने र  नेतासँग जोड्ने कुरा पनि राम्रो होइन।

पत्रकारिताभित्र खोजी पत्रकारिता पनि पर्छ। सके पत्रकारले खोजी पत्रकारिता गरौँ। अर्काको खेदो नखनौँ। बाटो खने लक्ष्यमा पुगिन्छ, खेदो खने खाल्डोमा पुगिन्छ।

पत्रकारले त समाजमा भएका दर्दनाक घटना, विकृति, विसंगति र कुकृत्यका बारेमा खोज्ने र लेख्ने हो। समाजलाई सुसूचित गर्ने हो। समाचार खोज्ने साहस जुटाउने हो‚ कुरा काट्न र झूटा कथा लेख्न होइन।

आफू बिग्रेको भन्दा अरू सप्रिएकोमा चिन्ता गर्ने बानीबाट मुक्त हौँ। यो रोग निको हुने रोग होइन। यो बढ्दै गयो भने आफू सकिएको पनि थाहा हुँदैन। तपाईं हामी नै सभ्य हुन सकेनौं भने समाजलाई कसरी एकजुट गराऔंला, कसरी समाजलाई सचेत बनाऔंला? 

पत्रकारिता गर्ने नाउँमा आफ्ना द्वेष,  ईर्ष्या र कुण्ठा पोख्ने प्रवृत्ति छोडौं। जुम्लीहरू कुट्न, आलोचना गर्न र अर्काको खुट्टा तान्न जानेका छन् भन्ने गलत सन्देश नदिऔं।

दुई वर्षअघि कोरोनाको महामारीमा कर्णालीका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकासमन्त्री दल रावल प्रतिष्ठानका स्वास्थ्यकर्मीहरूसँग छलफल गर्न जुम्ला आए।

महामारीको समयमा रावल हेलिकप्टरबाट स्वाब संकलन गर्न जुम्ला हुँदै हुम्ला पुगेका थिए। संकटका वेला प्रतिष्ठानको विरोधमा समाचार लेख्ने साथीहरू अहिले त्यही प्रतिष्ठानमा भएका गलत कुराबारे लेख्न चाहँदैनन्। उल्टै पत्रकारले लेखेको समाचारको खेदो खनेर प्रतिष्ठानको पदाधिकारी मै हुँ भन्ने गरी प्रस्तुत हुन थालेका छन्। 

विगतमा कोरोना महामारीमा प्रतिष्ठानले गरेको कामको विरोध गर्नुलाई धर्म सम्झनेले अहिले प्रतिष्ठानलाई राम्रो देख्नेसम्म त भए छन्। यसमा म खुशी छु। 

अझै पनि राम्रो कामको प्रशंसा र नराम्रोको आलोचना गर्ने हिम्मत जुटाऔँ,  पत्रकारले पत्रकारको बारेमा कथा नलेखौँ। 

समय बलवान् छ। सत्यको जित हुन्छ, समय लाग्छ। दोषीले सजाय पाउनुपर्छ तर उपचार पाउने अधिकारबाट कोही पनि वञ्चित हुनु हुँदैन। पत्रकारको पेशा सत्यतथ्य सहितको समाचार लेख्ने हो‚ कोठाभित्र बसेर कुण्ठा पोख्ने होइन। पत्रकार त समाजको ऐना हो। ऐना अरूलाई देखाउनुपर्ने ठाउँमा अरूले नै पत्रकारलाई ऐना देखाउनुपर्ने अवस्था नल्याऊँ।

त्यसैले हामीले संस्था वा व्यक्तिलाई सजग बनाउनुपर्छ। यसले नयाँ तरिकाले सोच्ने बाटो दिन्छ। समाज शिक्षित हुन्छ। शिक्षित र सचेत समाजले नै हो देश बन्ने हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.