|

हेटौंडा : बागमती प्रदेशको प्रदेशसभा सदस्यहरुको बिदाई गरिएको छ।

शनिबार प्रदेशसभाले एक कार्यक्रमको आयोजना गर्दै प्रदेशसभा सदस्यहरुको बिदाई गरेको हो।

देश संघीयतामा गएपछि पहिलो पटक स्थापना भएको प्रदेशसभाले पहिलो पाँचवर्षे कार्यकाल सकेको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि भोलि समानुपातिकतर्फको बन्दसूची पेश गर्ने कार्यसूची छ।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल आजबाट सकिने बताएकोले प्रदेशसभाले सदस्यहरुको बिदाई गरेको जनाएको छ। कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्मा, सभामुख सानुकुमार श्रेष्ठ र मुख्यमन्त्री राजेन्द्र पाण्डेले सरकारको मन्त्री तथा प्रदेशसभा सदस्यहरुलाई स्मरण पत्रसमेत दिएका थिए।

प्रदेशसभाको पहिलो कार्यकालले संघीयतालाई स्थापित गरेको सभामुख श्रेष्ठ र मुख्यमन्त्री पाण्डेको भनाई थियो। पाँच वर्षको पहिलो कार्यकालमा बागमती प्रदेशसभाले ७० वटा विधेयक पास गरेको छ। तीमध्ये १५ वटा संशोधन विधेयक र १० वटा बजेटसम्बन्धी विधेयक रहेका छन्।

सरकारले पहिचान गरेको ८२ वटा ऐनमध्ये पाँच वर्षमा ४५ वटा ऐन मात्रै बनेको प्रदेशसभा सचिवालयले जनाएको छ। सरकारले पहिचान गरेको ८२ वटा ऐनमध्ये ४५ वटा ऐन निर्माण हुँदा ३७ वटा ऐन अझै बन्न बाँकी नै रहेको छ।

बनेका अधिकांश ऐनहरू पनि संशोधन भइसकेको अवस्था छ। प्रदेशसभाले १५ वटा मात्रै संशोधन विधेयक पारित गरेको भएपनि ती विधेयक भित्रबाट ५६ वटा ऐन संशोधन गरिसकेको छ।

प्रदेशसभा सचिवालयले दिएको जानकारी अनुसार हालसम्म बनेका अधिकांश ऐनहरु एक चरणमा संशोधन भइसकेका छन् भने केही ऐनहरू दोहोरिएर समेत संशोधन भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.