|

काठमाडौं : ज्यादै माया गर्ने आफन्त, मच्छर र भ्रष्ट व्यक्ति उस्तै उस्तै हुन् जसले मानिसलाई माया गरेर म्वाइँ खान्छन् तर मच्छरले रोग सार्छ, भ्रष्टले आफ्नो थैलो भर्न अरूलाई रित्तो पार्छ। त्यसैले अनावश्यक रूपमा कोही हाम्रो नजिक आउँछ भने सतर्क हुनुपर्छ। 

बुटबलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा सयौँ डेंगुका रोगी भर्ना भएका छन्। बेडको समस्या छ। एउटा बेडमा दुई जनासम्म बिरामीलाई सुताउनु पर्ने अवस्था छ। रहेको ७५ वर्षका बुबा र १६ वर्षको छोरालाई अस्पताल भर्ना गरेका ४५ वर्षका एक व्यक्तिले बताए। यो समस्या काठमाडौंमा पनि विकराल हुँदै गएको छ।

डेंगु भाइरस  ‘एडिस एजेप्टाई’ र ‘एडिस एल्वोएक्टस’ जातका मच्छरबाट  एक अर्कोमा सर्छ। आज देशमा मच्छर  व्यापक समस्याको रूपमा छ जसले मानिसको रगत चुस्छ। यस्तै जनताको रगत भ्रष्ट व्यक्ति पदाधिकारीहरूबाट पनि चुसिएको छ। कुनै पनि वैज्ञानिक प्रविधिले सम्भवतः विश्वमा मच्छरको उपस्थितिलाई निमिट्यान्न पार्न सक्दैन। यसलाई कम गर्न सकिएला, यसबाट बच्न सकिएला, मच्छर नै समाप्त पार्न सम्भवतः असम्भव छ। यस्तै भ्रष्टहरूमाथि पनि प्रतिघात गर्न सकिन्छ किनकी त्यो अल्पमतमा छ। विश्वमा ९५ प्रतिशत मानिस अभ्रष्ट छन् त्यसैले  भ्रष्टाचारीलाई बहुमतको बलमा ठेगान लगाउन सकिन्छ। 

वास्तवमा यो संसारमा हाकी दाउ आक्रमण गर्ने भनेको बाघ मात्र हो बाँकी सवैले यात अर्कोलाई लुकेर वा फकाएर आक्रमण गर्ने रहेछन्। मच्छर, जुका, बलात्कारी, भ्रष्टाचारी, बिरालो शुरुमा टपक्क टासिने प्रयास गर्छन् वा लुक्छन् र अर्कोलाई घाइते बनाएरमात्र त्यहाँबाट छुट्टिन्छन्। त्यसैले बढी मीठा कुरा गर्ने र टाँसिनेहरूबाट टाढा बस्नु पर्छ।

मच्छरले मानिसमाथि बमबारी गर्दैन। गोला बारुद पड्काउँदैन। बडो मायाका साथ म्वाई खाएझैँ गरी चुस्छ र हाम्रो शरीरलाई कमजोर पार्ने विष छोडेर जान्छ। त्यो विषले अनेक रोग लाग्छ। त्यस्तै हुन्छन् भ्रष्ट पनि। बम हान्दैनन् तर तहतहका बजेट बडो मीठो पाराले आफ्नो पोल्टामा पार्छन्। नीतिगत भ्रष्टाचार गरेर गर्नु उम्नाचो गर्छन् र भाषण गर्ने वेला बडो मुलायम भाषण गरेर रनभुल्ल पार्छन्।

सामान्य नजरमा भ्रष्टाचारी पनि भीमकाय, अजंगको, देख्दै डरलाग्दो हुँदैन। साच्चैँ भन्ने हो भने सिनित्त दाह्री खौरेको, जुँगा मिलाएको वा लरक्क लिपिस्टिक लगाएको, देख्दा मायालाग्दो अनुहार भएका प्राणीबाट नै भ्रष्टाचार, कुकर्म र अन्याय भइरहेको हुन्छ। को राम्रो, नराम्रो, को असल, कमसल आदिको भनक उसको अनुहार र सार्वजनिक रूपमा उसले गर्ने भाषणबाट अनुमान गर्न सकिँदैन। प्रायः मैलो कपडा लगाउने, पैदल हिँड्ने र पसिना गन्हाउने मानिसले भ्रष्टाचार गरेको यो पङ्क्तिकारले देखेको छैन। अपवाद हुन सक्छ। बदमासले नरम बोल्ने नै गर्छ।

मच्छर हाम्रो शरीरमा आएर यसरी टाँसिन्छ। शरीरका अंगअंगमा म्वाई खान्छ तर यसमा माया हुँदैन। आज मच्छरले माया गरेका कारणले देश भरमा हजारौँ मानिस डेंगु, मलेरिया, मेनेन्जाइटिसबाटबाट ग्रस्त छन्। कताकता मैले यो देशलाई माया गर्छु भनेर टाँसिनेहरूले देशलाई अझ भनौ जनतालाई लुटीरहेका हुन्छन्। जसले अति आफ्नो बन्ने प्रयास गर्छ त्यसैले लुट्छ र लुच्छ।

वास्तवमा यो संसारमा हाकी दाउ आक्रमण गर्ने भनेको बाघ मात्र हो। अरु सबैले अर्कोलाई लुकेर वा फकाएर आक्रमण गर्ने रहेछन्। मच्छर, जुका, बलात्कारी, भ्रष्टाचारी, बिरालो शुरुमा टपक्क टाँसिने प्रयास गर्छन् वा लुक्छन् र अर्कोलाई घाइते बनाएर मात्र त्यहाँबाट छुट्टिन्छन्। त्यसैले बढी मीठा कुरा गर्ने र टाँसिने तत्त्वबाट टाढा बस्नुपर्छ।

प्रक्रिया पूरा नगरी अन्यत्र बाटोबाट गोप्य तरिकाले  कसैले हामीलाई केही दिन्छ भने बुझौँ अर्को एउटा योग्य पात्रमाथि कुनै न कुनै रूपमा अन्याय हुँदैछ। त्यसैले आफ्नो क्षमताबाट बाहेक केही नलिऊँ र केही नमागौँ। हामी सचेत भए भ्रष्ट पनि सचेत हुन बाध्य हुन्छन्। ‘फलानाहरू बदमास भएकाले म पनि भ्रष्ट भएँ’ भन्ने कुतर्कवादीहरूलाई कहिल्यै समर्थन नगरौँ।

हाम्रो समाजमा यस्ता नेता देखिएका छन्, जसले दिनभर भ्रष्टाचारविरुद्ध भाषण ठोक्छन्, साँझपख बिचौलियासँग बसेर गोप्य रूपमा कमिसनको भागबण्डा गर्छन्। भ्रष्टाचारी नेता र मच्छर उस्तै उस्तै हुन् जसले साखुल्ले भएर साधु जस्तो भएर देशलाई निचोर्दछन्। यद्यपि मच्छर अप्रायोजित घातक हुन्छ तर भ्रष्ट प्रायोजित रूपमा घातक। मच्छर सर्प र बिच्छी अञ्जान हुन्छन्।  त्यसैले उनीहरूको अपराध भनेको गैह्र मनसाययुक्त छ। भ्रष्टहरू त योजनाबद्ध तरिकाले आम जनतालाई चुसिरहेका छन्।

मानवीय शक्ति र उसको क्षमताले यो संसारबाट मच्छरलाई समाप्त पार्न सक्दैन त्यसैले सुधार गर्ने भनेको झूल हो वा त्यसै किसिमको धुप हो। मानव अवनतिको शुरुवात मच्छरलाई समस्याको रूपमा देखाउने र झुललाई कमजोर बनाउने खेलबाट भैरहेको छ।

एकातिर गरिबी बढ्दैछ। गरिब अन्य वस्तु जस्तै झुल पनि अलि सस्तो किन्न चाहन्छन्। फलस्वरूप ती राम्रोसँग मिलाएर झुण्ड्याउन सकिँदैन अनि या त मच्छरभित्र छिरेर टोक्छन् या  बाहिर नै कुरेर बस्छन्। सुत्नेवाला पल्टिँदै झुलमा टाँसिँदा मजाले चुस्छन्। औषधि जुन बढी परिश्रमले बनाएर बेचिँदैछ भन्ने हल्ला पिटाइन्छ। दुर्भाग्य यी सबै नाफाको चक्करकरमा नक्कली बनाउँदै लगिन्छ र अन्तमा औषधिको मारक क्षमताभन्दा रोग अर्थात् मच्छरको प्रतिरोधात्मक क्षमता बढी हुन जान्छ।

हामी जहिले पनि मच्छरलाई समस्याको रूपमा देख्यौँ। वास्तवमा त्यसबाट बच्ने तयारीमा पनि कमजोरी छ।  सुधार झुलमा गर्न सकिन्थ्यो त्यतातिर हाम्रो ध्यान मोडिएको छैन। झुल लगायत केही केमिकलको प्रयोग गरी मच्छरबाट बच्न प्रयास गर्ने तयारीमा पनि चुक भएको छ। अर्को तर्फ चुनावको बेलामा लहै लहैमा भोट हालेर भ्रष्टलाई उँचो पदमा पुर्‍याउन प्रयास गरिरहेका छौँ।

सरकारी कर्मचारी र राजनीतिक नेतृत्वले कमिसन नखाने हो भने अवैध काम फगत एक व्यापारी वा एक घरधनीले मात्र गर्न सक्दैन। बाहिर जनताका माझमा साधु देखिएर अख्तियारवालाले कुकर्म गरिरहेका छन्। 

केवल कुर्सी हेरेर, चढेको गाडी हेरेर, घर सम्पत्ति हेरेर कसैलाई उच्च ठान्ने ज्यादै ठूलो मान्ने प्रवृत्तिबाट मुक्त समाजको निर्माण गर्नुपर्छ। भ्रष्टाचारी, मच्छर, जुका, किर्ना आदि सबै अरुलाई चुस्ने र एउटाको अधिकार अपहरण गरी अर्कोलाई दिएर दाम कमाउने तत्त्व हुन्।

जसरी मच्छरभन्दा कमजोर झुल घातक छ त्यसैगरी समूल भ्रष्टाचार भन्दा त्यो भ्रष्टलाई नांगेझार पार्न नसक्ने हाम्रो मनस्थिति पनि कमजोर छ। सरदर तलबभन्दा १० गुणा बढी जोड्नु, कर तिराई र सम्पत्ति बीच फरक हुनु भनेको जनता वा ग्राहक चुसेकै प्रमाण हो। त्यसबारे चनाखो हुन नसक्नु नै हाम्रो घनघोर कमजोरी हो।

यो समस्या हरेक क्षेत्रमा गरिब देशमा देखिँदै छ, जहाँ केही कुरा सुधार गर्ने चाहना छैन केबल …प्रोपगाण्डा’ छ र केबल क्षणिक रूपमा चुनाव जित्ने होड छ।  गरिबी यस्तो चिज हो जसले मानव जातिलाई जहिले पनि दीनहीन अवस्थामा पुर्‍याउँछ। जनता बेहाल अवस्थाबाट जसको हो उनीहरूले छद्मरूपमा गलत काम गरेर आम जनतालाई रोजगारीबाट विमुख बनाउँछन्।

सत्य के हो भने मच्छर, प्रकृतिको देन हो यसलाई समाप्त पार्न सकिँदैन। तर भ्रष्टाचारीलाई जनताले चाहे भने दुई महिना भित्र समाप्त पार्न सक्छन् किनभने भ्रष्टाचार डेँगु मलेरिया जस्तो प्राकृतिक विपद् होइन। पहिलो कुरा मानिसलाई उसको सम्पत्तिको आधारमा होइन,कर्मको आधारमा सम्मान गरौँ। पदमा पुगेको जो कोही होस्, अधिकारसम्पन्न जोसुकै होस्, सम्पत्ति भएको जोसुकै होस्, उसलाई मानसम्मान दिने; सडक, खेत खलिहानमा पसिना बगाइरहेको सामान्य व्यक्ति जो मैलोधैलो र पसिना गन्धयुक्त छ उसलाई पूर्णतया बेवास्ता गर्ने प्रवृत्तिबाट मुक्त हुन सिकौँ।

केवल कुर्सी हेरेर, गाडी हेरेर, घरसम्पत्ति हेरेर कसैलाई उच्च ठान्ने, ज्यादै ठूलो मान्ने प्रवृत्तिबाट मुक्त समाजको निर्माण गर्नुपर्छ। भ्रष्टाचारी, मच्छर, जुका, किर्ना आदि सबै अरुलाई चुस्ने र एउटाको अधिकार अपहरण गरी अर्कोलाई दिएर दाम कमाउने तत्त्व हुन्।

कहिलेकाहीँ अकबरको गोडामा टाँसिएको जुका पनि राजगद्दीमा पुग्न सक्छ। तसर्थ गद्दीमा पुग्ने सबैलाई पुज्न छोडेर उसको कर्म र प्रक्रियाबारेमा सचेत हुन सिकौँ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.