|

चाडपर्वहरू भित्रिएसँगै नेपाली समाजका विभिन्न समुदायहरूमा छुट्टै प्रकारको रौनकता भित्रिने गर्दछ।  नेपाली समाजका विभिन्न जाति तथा समुदायहरूमा आ–आफ्नै प्रकारका विशेषता बोकेका चाडपर्व तथा संस्कृतिहरू छन्। यो नै नेपाल र नेपालीको पहिचान हो।

चाडपर्वहरूले विशेषत बालबालिकाहरूलाई उत्साहित गराउने काम गर्छ। किशोर किशोरीलाई संकार हस्तान्तरण गर्न मद्धत गर्छ भने युवा तथा प्रौढहरूमा आत्मीयता विकास गराउँछ। साथै छुटेका र टुटेका सम्बन्धहरूलाई पुनर्मिलन गराउने कामसमेत गर्छ।

अहिलेको नेपाली समाजमा चाडपर्वको माध्यमबाट राजनीतिक तिक्तताको पुनर्मिलन हुनेदेखि जातीयता,  क्षेत्रीयता,  धार्मिक लगायतका थुप्रै पक्षमा सद्भाव,सहयोग तथा सहकार्यको  विकाससमेत हुने गरेको छ।

हाम्रो समाजमा चाडपर्वहरू पारिवारिक तथा सामाजिक आत्मीयता र सहिष्णुता विकास गराउने माध्यम पनि बनेका हुन्छन्। 

आज मौलिकताको दायराभन्दा माथि चढेर भड्किलो संस्कृतिको विकास गर्दै उद्दण्ड तरिकाले तिज मनाउने चलनको प्रारम्भ भएको देखिन्छ। अहिले सामाजिक सञ्जालदेखि कलाकारिताका क्षेत्रतिर मध्यनजर गर्ने हो भने आफ्नो शिर नै लाजले निहुरिन खोज्छ। यो आजको फस्टाउँदो विकृति हो।

विभिन्न चाडपर्वहरूका आफ्नै महत्व र विशेषताहरू छन्। सबै चाडपर्वहरूका सार समग्रमा उस्तै प्रकारका हुन्छन्। घर परिवारका सदस्यहरू विच भेटघाटको अवसर प्राप्त हुन्छ।समाजमा आफन्त र साथिभाईहरू विच जमघट गराउँछ। साथै आत्मियता बढाउदै सामाजिक सद्भावको विकास गराउन चाडपर्वहरूको महत्वपुर्ण भुमिका रहने गर्दछ।

अहिले तिज पर्वको रौनकताले शिखर चुम्न लागेको छ। अन्य पर्वझैं तिज पनि एउटा विशेष र विशिष्ट महत्व बोकेको पर्व हो। विवाह गरेर कर्म घर गएका छोरी चेलीलाई माइति घरमा बोलाएर एकदिन एकछाक भए पनि मिठो र पोषिलो खाना दरको रुपमा खुवाउने चलन थियो।

अहिले विशेष गरी शहरी क्षेत्रमा यसको फरक उपयोग गर्दै अति भड्किलो रूपमा तिजको दर खाने चलन शुरु भइसकेको छ। एकदिन दर खाने चलन अहिले एक दुई हप्ता अगाडिदेखि नै शुरु हुन थालेको छ।

केही समय अगाडिसम्म सँगै जन्मे हुर्केका साथीसंगीहरू जम्मा भएर सुख र दुखका भाकामा संगिनीमा रमाउने चलन थियो। अहिले महँगा गरगहना र पहिरनमा सुसज्जित भएर साथीसंगीहरूको माझमा छमछम नाच्ने शोख बढ्दै गएको छ।

आज मौलिकताको दायराभन्दा माथि चढेर भड्किलो संस्कृतिको विकास गर्दै उद्दण्ड तरिकाले तिज मनाउने चलनको प्रारम्भ भएको देखिन्छ। अहिले सामाजिक सञ्जालदेखि कलाकारिताका क्षेत्रतिर मध्यनजर गर्ने हो भने आफ्नो शिर नै लाजले निहुरिन खोज्छ। यो आजको फस्टाउँदो विकृति हो।

आज चाडपर्व तथा संस्कारहरू अति भड्किलो बन्दै गएका छन। मौलिकपन हराउँदै गएको आभास हुन थालेको छ। चाडपर्वको बेलामा देखासिखिमा हुने लवाइखवाई असामान्य रुपमा पेचिलो बन्दै गएका छन्।

विभिन्न पर्व तथा उत्सवमा गरिने महँगा भोज भतेरले कमजोर आम्दानी हुनेहरूको आर्थिक जिवन धरासायी बन्दै गएको छ। छिमेक तथा नातागोतामा कमजोर नदेखिन मानिसहरू महँगा दरका ब्याजमा ऋण लिन समेत पछि परेका छैनन। यो आजको तीतो यथार्थ हो।

चाडपर्वका संस्कार तथा संस्कृतिका सकारात्मक र हस्तान्तरण गर्दै जानुपर्ने थुप्रै कुरा छँदाछँदै पनि नकारात्मक पक्षले पनि गाँज्दै गएको कुरा पनि सत्य हो। समाजमा सबै मानिस समान क्षमता र हैसियतका हुँदैनन्।

सबैको आर्थिक अवस्था समान हुँदैन। यहाँ आर्थिक अवस्था बलियो हुनेहरूले भएभरको शक्ति लगाएर हरगहना तथा कपडा प्रदर्शन गर्ने संस्कारको विकास हुँदै गएको छ।

खानपान र भोजको आयोजना पनि निकै भड्किलो बन्दै गएको छ। यसको नकारात्मक प्रभाव कमजोर आर्थिक धरातल हुनेहरूमा नराम्रोसँग घुस्दै  गएको छ। जसको कारण चाडपर्व तथा संस्कृति नै धरापमा पर्ने खतरासमेत रहन्छ।

नेपालमा राजनीति गर्ने सबै दल र नेताहरूको मुखमा सरल र आदर्शयुक्त समाजको निर्माण गर्ने भन्ने हुन्छ। समाजलाई भड्किलो हुनबाट जोगाउँदै राम्रा सामाजिक मूल्य,  परम्परा र सस्कार जोगाउने प्रण प्राय सबैले गरेको सुनिन्छ। तर तिनै विशिष्ट भनिएका र आदर्श मानिएका व्यक्तित्वहरूको भड्किलो व्यवहार हेर्दा मात्र पनि उनीहरूको बोली र व्यवहारले समाजलाई अब कता डोर्‍याउला भनेर सहजै अनुमान गर्न सकिन्छ। 

राम्रा पक्षलाई संरक्षण गर्दै जाने र कमजोर पक्षलाई सुधार्दै संकार र संस्कृतिको संरक्षण र संवर्द्धन गर्दै जानुको विकल्प छैन। यसमा समाजका अगुवा मानिने बुद्धिजीवि, पढेलेखेकाहरू साथै समाज र राज्यको रुपान्तरण गर्ने संकल्प बोकेका राजनीतिक दलका नेतृत्व तहको अहम् भूमिका रहन्छ।

अहिले समाजमा पढेलेखेका मानिसहरू प्रशस्तै छन। राम्रो अंक ल्याएर उच्च शिक्षा हासिल गरेकाहरूले समाजको यथार्थता राम्रोसँग बुझेका हुन्छन् भन्ने मानिन्छ। तर उनीहरूको व्यवहार र संस्कार हेर्दा अब समाज सामान्य अवस्थामा रहला र? भन्ने प्रश्न सहज रुपमा आउँछ।

राज्यका नीति, कानुन र कानुन कार्यान्वायनका तह पनि समाजलाई दिशानिर्देश गर्ने जिम्मेवार पक्ष हुन्। तर, समाजका सामाजिक संस्कार र परम्परालाई कसरी व्यवस्थापन गर्ने र पुस्ता हस्तान्तरण कसरी गर्दै जाने भन्ने कुरा कानुन  र सरकारलाई जिम्मा लगाएर मात्र हुँदैन।

समाजमा सरलता र भड्किलोपनलाई कम गर्दै जाने उपाय समाजकै अगुवा, बुद्धिजीवी वर्ग र पढेलेखेका मानिसहरूले खोज्नुपर्छ। चाडपर्वहरूलाई झन् रमाइलो र उत्सवमय बनाउनुपर्छ। तर भोजभतेरलाई अति सामान्य र सरल बनाउनुपर्छ। जमघटमा प्रयोग गरिने पहिरन अति सरल र सामान्य हुनुपर्छ।

उत्सव रमाइलो भावनाले मात्र हुने कुरा हो। खानपान र लवाइखवाई गौण कुरा हो। तडकभडक नहुदा कमजोर आर्थिक अवस्थाको विल्ला भिराइने डरले मात्र भड्किलोपनको खोजी गरिएको हो। यि कुराहरू लाई सरल बनाउन हुनेखाने वर्ग, बुद्धिजिवी, सरकारी पद धारण गरेका विशिष्ट व्यक्तित्व, राजनिति गर्ने नेतृत्व तथा पढेलेखेकाहरू बाटै शुरु गर्नुपर्छ।

समाजमा मनाइने चाडपर्वहरू थप व्यवस्थित,मर्यादित र उल्लासमय बनाउँदै लैजानुपर्छ। खानपान र लवाइखवाइमा हुने भड्काव घटाउँदै जानुपर्छ। राम्रा पक्षलाई संरक्षण गर्दै जाने र कमजोर पक्षलाई सुधार्दै संकार र संस्कृतिको संरक्षण र संवर्द्धन गर्दै जानुको विकल्प छैन। यसमा समाजका अगुवा मानिने बुद्धिजीवि, पढेलेखेकाहरू साथै समाज र राज्यको रुपान्तरण गर्ने संकल्प बोकेका राजनीतिक दलका नेतृत्व तहको अहम् भूमिका रहन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.