|

काठमाडौं : नेपाली महिला राष्ट्रिय फुटबल टिमकी मिडफिल्डर दीपा न्यौपाने आई लिग छनोट खेलका लागि भारततर्फ लागेकी छन्। प्रतिष्ठित भारतीय आई लिग छनोटका लागि उनी केरला महिला लिगमा प्रतिस्पर्धा गर्ने डन बस्को फुटबल एकेडेमीमा अनुबन्धित भएकी छन्।

नेपाल पुलिस क्लबबाट व्यावसायिक फुटबल खेलिरहेकी दीपाले क्लबलाई आइ लिगमा छनोट गराउन आफ्नो प्रयास महत्वपूर्ण हुने बताइन्। सोही प्रतियोगिताका लागि शनिबार नै राष्ट्रिय महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारी भारत पुगिसकेकी छन्।

सावित्रा भारतको गोकुलम केरलाबाट प्रतियोगिता खेल्दै छिन्। उक्त प्रतियोगितामा सावित्राको टिम गोकुलम,  दिपाको टिम डन बस्को केरला ब्लास्टरसहित कुल १० टिम रहेको जनाइएको छ। जहाँबाट शीर्ष टिमले आई लिगमा स्थान बनाउनेछ।

सावित्राले यसअघि सन् २०१९ मा सेथु र २०२१/२२ मा गोकुलमबाट ‘इन्डियन वुमेन्स लिग’ खेलेर उपाधि जिताइसकेकी छन्।

दीपाले पहिलो पटक अन्तरराष्ट्रिय लिग खेल्न लागेकी हुन्। उनी अहिले अनुबन्धित भएको टिम यसअघि उपविजेता बनेको थियो।

आज शुरु हुने प्रतियोगिताको पहिलो खेलमा गोकुलम केरला र केरला युनाइटेड तथा बिहीबार डन बस्कोले लड्स पीआरविरुद्ध प्रतिस्पर्धा गर्दै छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.