|

घर, समाज वा देश बिग्रनुका निम्ति कि आवश्यकताभन्दा धेरै जान्ने मान्छेको बाहुल्यता हुनुपर्ने रहेछ, कि त जान्दै नजान्ने मान्छेको बाहुल्यता चाहिने रहेछ।

गहिरिएर सोच्दा हाम्रो देश विसंगतिको बाटोतर्फ लाग्नुमा भने धेरै जान्ने मान्छेको बाहुल्यता प्रमुख कारण हो।

यहाँ नेतादेखि अभिनेतासम्म, डाक्टरदेखि कन्डक्टरसम्म, पत्रकारदेखि अलपत्रकारसम्म, हाकिमदेखि पिएनसम्म, सरकारी कर्मचारीदेखि तरकारी व्यापारीसम्मका हरेक व्यक्तिलाई आफ्नो कामबाहेक अरू सबै कुराको पूर्ण ज्ञान छ। उनीहरूका गफ सुन्दा लाग्छ, यिनीहरू नै समृद्धिका हिमायती हुन्।

हाम्रो देशका यस्तै जान्ने मान्छेहरूको भिडमा अग्रपंक्तिमा आउँछन् लाइसेन्स विनाका डाक्टरहरू। वास्तवमा उनीहरूको अध्ययन र व्यवसायको क्षेत्र चिकित्सा शास्त्र होइन। तर उनीहरू विभिन्न रोगको उपचारमा विज्ञहरूले झैँ सल्लाह, सुझाव र उपचार विधि तथा उपचार सामग्री उपलब्ध गराउने खुबी राख्छन्।

त्यसैले उनीहरूलाई लाइसेन्स विनाका डाक्टर नाम दिनु अत्युक्ति हुँदैन।

यी लाइसेन्स बिनाका डाक्टरहरूको सूचीमा पहिलो नम्बरमा आउँछन् स्त्री रोग विशेषज्ञ अर्थात् अल्लारे उमेरका प्रेमीहरू।

रजोवती हुने समय नजिकिँदा असाध्यै पेट दुखेर भिडियो कलमार्फत आफ्नो व्यथा सुनाउने प्रेमिकालाई बेबी तातोपानी खाऊ न सञ्चो हुन्छ भनेर उनीहरू विशेष सल्लाह दिन्छन्। उनीहरूलाई लाग्छ तातोपानी स्त्रीरोगको अचूक औषधि हो।

अर्का एकथरी डाक्टरले कतै सहयात्राको क्रममा अति नै टाउको, निधार वा अनुहार दुख्यो भनेर गुनासो गर्ने प्रेमिकालाई दुखेकै ठाउँमा चुप्पा खाइदिएर तत्काल दुखाई दूर गरिदिन्छन्।

धन्न त्यस्ता बिना लाइसेन्सका विशेषज्ञ डाक्टरका प्रेमिकाले उनीहरूसँग सार्वजनिक स्थानको यात्रामा आफ्नो पाइल्सको समस्याको पनि उपचार माग्दैनन्।

अर्का एकथरी डाक्टर छन् अर्बुदरोग विशेषज्ञ। गुट्खा, पराग, चुरोट, सुर्ती, रक्सी, गाँजा, जे भेटे पनि भो भन्न नसक्ने यी डाक्टरहरू बाटोमा कुनै व्यक्तिले नङले नै रिचार्जकार्ड कोट्याउँदै गरेको देखे भने त्यसरी रिचार्जकार्ड कोट्याउँदा क्यान्सर लाग्न सक्छ है रिचार्ज कार्ड कोट्याउँदा सिक्का प्रयोग गर्ने गर्नुहोस् आफ्नो स्वास्थ्यभन्दा ठूलो संसारमा के होला र? भनेर अमूल्य सल्लाह दिन तत्पर भइहाल्छन्।

यिनीहरू आफ्नै स्वास्थ्यको मामिलामा पनि अत्यन्त सजग रहन्छन्। बायाँ हातमा चुरोट र ओठमा सुर्ती च्यापिरहेको भए पनि क्यान्सरको डरले यिनीहरू दाइने हातमा भएको रिचार्ज कार्ड कोट्याउन भने सिक्का नै प्रयोग गर्ने गर्छन्। 

लाइसेन्स बिनाका डाक्टरहरूको पंक्तिमा नाम लेखाएका अर्का डाक्टरहरू हुन् सौन्दर्यविद्। यिनीहरू अर्थात् कस्मेटिक सामान व्यावसायी डाक्टरहरू आम मानिसका सौन्दर्यसम्बन्धी समस्यामा विशेष चासो राख्छन्।

मानिसलाई तँभन्दा कुरुप यो संसारमा कोही छैन भनेर अनेक उदाहरणसहित सजिलै पुष्टि गरिदिन्छन्। के के उपायले संसारकै सुन्दर बन्न सक्छस् भनेर चित्त बुझ्दो सुझाव दिइहाल्छन्।

शिरदेखि पाउसम्म सर्लक्क मिलेको जिउडालको भए पनि कालो वर्णको हुनु नराम्रो हुनु हो भनेर विशेष सूत्रमार्फत प्रमाणित गरिदिनु यिनीहरूको प्रमुख अस्त्र हो।

गोरो भएर मात्र पनि वास्तविक सुन्दरता झल्किँदैन भन्दै यिनीहरूले वास्तवमा नै सुन्दर बन्न आफ्नो अनुहारमा कुन किसिमले परिमार्जन गर्नुपर्ने भन्ने कुराको फेहरिस्त निकालिदिन्छन्।

त्यति मात्र होइन यी डाक्टरहरूको अर्को गजबको खुबी के छ भने अनुहारको चायाँ, पोतो, डण्डीफोर, अनुहारको चाउरीपना, छालाको खस्रोपना, चिल्लोपना उस्तै परे शरीरको दुखाई सम्मका रोगहरू कुन कम्पनीको कुन क्रीमले फुमन्तर हुन्छन् भनेर विशेष सुझावका साथ तुरुन्तै उक्त सामान भिडाउनसमेत सक्षम हुन्छन्।

यही पंक्तिमा थपिने अर्का डाक्टर हुन् कपाल रोग विशेषज्ञ।

यी विशेषज्ञ डाक्टरहरू व्यक्तिगत रुपमा भन्दा पनि संस्थागत रुपमा बढी परिचित हुन्छन्। कपालको नाम निशाना केही बाँकी नरहेर चिल्लो हेलिकोप्टर नै ल्याण्ड गराउन मिल्छ कि जस्तो तालुमा पनि सजिलै कपाल उमार्न सकिने राय यिनिहरूको हुन्छ।

तर त्यसको लागि  आफ्ना कम्पनीले बजारमा ल्याएका साबुन, स्याम्पु आदिको भरपुर प्रयोग गर्नुपर्ने यिनिहरूको मान्यता रहन्छ। कपाल झर्नबाट रोक्न, कपाल झरिसकेको तालुमा पुनः कपाल उमार्न, दुम्सीका काँढा जस्तो जर्रो कपालसमेत सजिलै नरम र मुलायम बनाउन, कपाल कालो, लामो र बाक्लो बनाउन साथै पचास सिठ्ठी लगाउँदा समेत नगल्ने भइसकेको छालालाई पनि कोमल, मुलायम र मनमोहक बनाउन अरू केही कष्ट गर्नु पर्दैन, केवल यिनीहरूका साबुन, स्याम्पु र अन्य उत्पादन प्रयोग गरिदिए पुग्छ।

तर, अधिकांश यस्ता डाक्टरी संस्थाका मुख्य डाक्टर अर्थात् मालिक वा प्रबन्ध निर्देशक स्वयं कि त नक्कली कपालले तालु छोपेर हिँडेका हुन्छन् कि 'भाग्यमानीको निधार ठुलो' भन्ने उखान चरितार्थ भएको देख्न पाइन्छ।

यी त भए शारीरिक रोग विशेषज्ञहरू। शरीर स्वस्थ भएर मात्र मानिस पूर्णतया स्वस्थ हुँदैन। पूर्ण स्वस्थ हुनका लागि मानसिक रुपमा समेत स्वस्थ हुनु अत्यावश्यक छ। त्यसैले हाम्रो देशमा चिकित्सा शास्त्र अध्ययनको कुनै प्रमाणपत्र विना नै सम्पूर्ण मानसिक रोगको उपचार गर्न सक्षम मनोचिकित्सकहरू छ्याप्छ्याप्ती पाइन्छन्।

यी मनोचिकित्सकहरू डिप्रेशन, एञ्जाइटी डिसअर्डर, मानसिक असन्तुलन, नसासम्बन्धी रोग, छारेरोग, लागुपदार्थ दुर्व्यसनको लत, अनिद्रा, बिर्सने रोग, बौद्धिक अपांगतालगायत हरेक मानसिक रोगको निदानका उपायका जानकार हुन्छन्। यी डाक्टरहरू उपर्युक्त रोगहरूलाई बोक्सी, वायु, भूत, प्रेत, पिशाच, डाँकिनी, शाकिनी, राक्षस आदि लागेको तथ्य प्रस्तुत गर्दै झारफूक, हेराउने, चराउने, भाग–भोग दिने, पात्लो फाल्ने आदि अनेक तिकडम गरेर उपचार गर्दछन्।

कतिपय स्थानमा त प्रमाणपत्रधारी डाक्टरहरूसमेत यिनै डाक्टरका प्रमुख ग्राहक भएको पाइन्छ। हाम्रो देशमा स्वास्थ्य क्षेत्रमा मात्र नभएर हरेक क्षेत्रमा आवश्यकता भन्दा बढी नै बौद्धिक व्यक्तिहरू भेटिन्छन्।

समाजमा एउटा उक्ति छ। तर, उक्तिमा मेरो खास कुनै आकर्षण छैन। अहिले सम्झेको कारण भन्न मन लागेको छ: 'एउटा सफल व्यक्तिको पछाडी एउटी महिलाको हात हुन्छ' र एउटा असफल व्यक्तिको पछाडि धेरै महिलाको हात हुन्छ' भनेजस्तै देश सफल हुन पनि हरेक क्षेत्रमा सम्बन्धित विषय विज्ञको हात हुन्छ र देश असफल हुनुमा एउटै क्षेत्रमा धेरै थरी विज्ञहरूको हात हुने रहेछ।

हुन त शिक्षा देशको समुन्नतिको लागि प्रमुख र अत्यावश्यक अंग हो। तर पनि तालमेल कता मिलेन कुन्नि? कवि उपेन्द्र सुब्बाले भनेजस्तै बाउले नपढेर दुःख पाए मैले पढेर दुःख पाएँ। देशले धेरै पढेका मान्छे बढी भएर दुःख पायो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.