|

काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लबले बागमती प्रदेश न्यु डायमण्ड कप खुला महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

कीर्तिपुरको बहुउदेश्यीय कभर्डहलमा बिहीबार भएको प्रतिष्पर्धामा अपराजित रहँदै पुलिसले फाइनलमा स्थान बनाएको हो। उता अघिल्ला दुई खेलमा जित निकालेको एपिएफ भने बिहीबार पुलिससँग पराजित भयो।

निकै प्रतिष्पर्धात्मक बनेको खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा हराएको हो। पहिलो सेटमा २५–१८ को जित निकालेको पुलिसले दोस्रो सेट एपिएफलाई सुम्पिएको थियो। दोस्रो सेटमा २५–१४ दस्कोर निकाल्दै फर्किने संकेत देखाएको एपिएफले बाँकी सेटमा सम्हालिएको प्रदर्शन गर्न सकेन। नियमित स्पाइकर र केही अनुभवी खेलाडी बिनै मैदान उत्रिएको एपिएफले तेस्रो सेट २५–१७ र चौथो सेट २५–२० गुमाउन पुगेको थियो। यससँगै लिगका सबै खेल सकिएका छन्।

राउण्ड रोबिन लिगको आधारमा सञ्चालन भएको खेलमा अपराजित रहँदै पुलिस शीर्ष स्थानमा अटायो भने एपिएफ दोस्रो स्थानमा रह्यो। यी दुई टोलीबीच नै उपाधि भिडन्त हुने भएको हो।

यसअघि बिहीबार नै सम्पन्न दिनको पहिलो खेलमा भने आयोजक न्यु डायमण्ड एकेडेमीले परोपकार गर्ल्स होस्टललाई हराएर जारी प्रतियोगितामा पहिलो जित निकाल्यो। सहभागीमध्येको कमजोर देखिएको परोपकार टोलीमाथि न्यु डायमण्डले सोझो सेटमा जित निकाल्न सफल भएको हो। ​शुरुवातबाट नै दबाब दिएर खेलेको न्यु डायमण्डले परोपकारमाथि २५–२२, २५–१०, २५–१४ को सोझो सेटमा जित निकालेको हो।

प्रतियोगितामा ३ खेल खेलेको डायमण्डले एक जित र दुई हार बेहोरेको छ। अब डायमण्डले तेस्रो स्थानको लागि परोपकारसँग नै प्रतिष्पर्धा गर्नेछ। खेल शनिबार हुनेछ।

प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो हुनेले १ लाख २५ हजार प्राप्त गर्ने आयोजकले बताएको छ। चौथो हुने टिमले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। व्यक्तिगत विधा तर्फको सर्वोत्कृष्ट खेलाडीले २५ हजार र विधागत तर्फको उत्कृष्टले १० हजार रुपैयाँ पाउनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.