जनस्वास्थ्य मापदण्ड पालनामा लापर्बाही

|

काठमाडौं : नेपालमा कोभिड १९ संक्रमणदर फेरि उकालो लागेको छ। केही समय अघिसम्म ०.५ भन्दा कममा झरेको संक्रमणदर हाल ६ प्रतिशतमा पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार यो असार लागेपछि क्रमशः केही बढेको संक्रमितको संख्या यो हप्ता ह्वात्तै बढेको छ।

पछिल्लो केही दिनयता लुम्बिनी प्रदेशमा पर्ने भारतीय सीमा नाकामा धेरै संक्रमित देखिन थालेको बताउँछन् मन्त्रालयका सहप्रवक्ता तथा आपत्‌कालीन स्वास्थ्य व्यवस्थापन केन्द्र (एचईओसी) प्रमुख डा. समीर अधिकारी। हाल भारतमा केही संक्रमितको संख्या बढेको हुँदा त्यसको असर विस्तारै यता पनि संक्रमितको संख्या बढेको उनले बताए। ‘केही दिनयता संक्रमणदर ह्वात्तै बढेको छ, ०.५ सम्म झरेको संक्रमणदर फेरि ६ प्रतिशतमा पुगेको छ। केही दिनयता सीमा नाकामा संक्रमितको संख्या धेरै देखिन थालेको छ’‚ डा. अधिकारीले भने।

बुस्टर डोज लगाउनुपर्ने वेला भएकाले नलगाउँदा पनि जोखिम बढ्यो

कोभिडको ओमिक्रोन भेरियन्ट हाल समुदायमा रहिरहेको अवस्थामा धेरैको कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउने वेला भए पनि नलगाउँदा संक्रमणको जोखिम बढेको उनले बताए। हाल कोभिडविरुद्धको खोप पर्याप्त मात्रा हुँदा पनि धेरैले आफूले लगाउनुपर्ने खोप नलगाएको हुँदा पनि संक्रमणको जोखिम बढेको उनको भनाइ छ।  ‘केही समय अगाडि पूर्ण खोप लगाएकाहरूको हाल बुस्टर डोज खोप लगाउनुपर्ने समय आएको छ तर धेरैले बुस्टर डोज खोप लगाएको पाइएको छैन जसले गर्दा पनि संक्रमण बढ्ने जोखिम पुन बढेको देखिएको छ’‚ डा. अधिकारीले भने।

जनस्वास्थ्यको मापदण्ड पालना भएन

हाल भारतमा बढ्दो संक्रमणदरको प्रभाव र हाल देशमा देखिएको जनस्वास्थ्य मापदण्डमा लापर्बाहीले गर्दा संक्रमणमा वृद्धि भइरहेको डा समीरले बताए। ‘संक्रमण शून्य भएको थिएन, खोपको व्यापकता, जनस्वास्थ्यको मापदण्ड पालनामा कडाइ गर्दा संक्रमण घटेको थियो तर अहिले मानिसले मास्क नै नलगाई हिँड्ने, जथाभावी भीडभाड गर्दा संक्रमणदर तीब्र बढेको हो’‚ उनले भने।

केही दिन अघिसम्म १०० भन्दा तल झरेको देशभरको सक्रिय संक्रमितको संख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार हाल २६१ जना पुगेको छ। जसमा काठमाडौं उपत्यकामा मात्रै १६१ जना रहेका छन्। त्यस्तै शून्यमा झरेको आइसियूमा उपचार हुनेको संख्या फेरि देखिन थालेका छन हाल एक जना संक्रमितको आइसियूमा उपचार भइरहेको छ।

हाल नेपालमा कुल जनसंख्याको ९९ प्रतिशत जनसंख्याले एक मात्रा खोप र ८७ प्रतिशतले पूर्ण मात्रा खोप लगाएको अवस्थामा संक्रमण बढे पनि जटिल संक्रमण हुने  र मृत्युदर न्यून रहेको समेत डा अधिकारीले बताए।

‘संक्रमणदर बढ्दै गए पनि धेरै जनसंख्याले कोभिडविरुद्धको खोप लगाइसकेको अवस्थामा र अब बुस्टर डोज लगाउन छुटेकाहरूले खोप लगाएमा संक्रमणले गम्भीर असर नगर्ला भन्ने हाम्रो अनुमान हो‘‚ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.