|

पर्वत : जिल्लाको फलेवास नगरपालिका–१० कुर्घा स्थित सात्ले नुवारखर्कका अम्मर बहादुर मल्लको जग्गामा धान कोदोको उत्पादन हुँदैन भन्दा फरक पर्दैन।

भिरालो पहाडी जग्गा भएकाले खेत खासै छैन भने बारीका पाटाभरी सुन्तलाका बोट छन्। बारीका पाटा सुन्तलाका बोटले भरिएपछि कोदो लगाउन पनि ठाउँ छैन।

धान र कोदो आफ्नै जग्गामा फलाउन नपाए पनि उनको घरमा अन्नको समस्या छैन। उनको जग्गामा धान र कोदो उत्पादन भए जति आम्दानी गर्न सक्थ्यो त्यो भन्दा धेरै गुणा बढी आम्दानी त सुन्तला बिक्री गरेरै भइरहेको छ। सुन्तला खेतीले नै परिवार पालेपछि उनले यसलाई सके अझै विस्तार गर्ने योजनामा छन्।

सात्ले नुवारखर्कमा झन्डै ५० घर परिवार छन्। उनीहरूको सबैको आम्दानीको प्रमुख स्रोत भनेको सुन्तला खेती नै हो। टाढैबाट हेर्दा पनि गाउँका घर वरिपरि हरियाली सुन्तलाका बोटहरू देखिन्छन्। गाउँलेहरूको दैनिकी पनि सुन्तलाबारीको सरसफाइ र बोटको काँटछाँटमा नै बित्ने गरेको छ। ‘यो क्षेत्र सुन्तलाको पकेट क्षेत्र पनि हो, गाउँका सबै जनाले सुन्तला खेती गरेका छौँ। धान कोदो खेती हामीले गरेका छैनौँ। सुन्तला बेचेर नै गाउँका सबैले परिवार पालिएको छ,’ स्थानीय गङ्गाबहादुर क्षेत्री भन्छन्, ‘यहाँ उत्पादन भएको सुन्तला सबैभन्दा बढी काठमाडौं जाने गरेको छ। त्यसपछि पोखरा र फाटफुट मात्रै कुश्मामा बिक्री हुन्छ।’

गाउँका हरेक घरले सुन्तला खेती गरेका छन्। एक परिवारले औसतमा ३ सय ओटा उत्पादन दिने बिरुवाहरू लगाएका छन्। गाउँमा नै बिरुवा समेत उत्पादन गर्ने गरेका उनीहरूले उत्तिकै सङ्ख्यामा नयाँ बिरुवाहरू पनि यस पटक लगाएका छन्। एउटा घरले ५ लाख रुपैयाँसम्मको आम्दानी सुन्तला बेचेर गरेको गाउँलेहरू सुनाउँछन्। अर्का सुन्तला कृषक टेकबहादुर क्षेत्रीले एउटा घरले नयाँ र पुराना गरेर सात वटासम्म बिरुवा लगाएको बताए। ‘एउटा परिवारले ५ लाख रुपैयाँसम्म कमाएका छन्। घर खर्ची, औषधीमुलो, किनमेल सबै यही पैसाबाट गर्ने हो,’ उनले भने, ‘जागिर खाएकाको घर रहेछ भने सुन्तलाबाट छुट्टै, जागिर पेसाबाट छुट्टै कमाई हुन्छ।’ गएको सिजनमा करिब ३५ टन भन्दा बढी सुन्तला निर्यात गरेको पनि टेकबहादुर बताउँछन्।

सुन्तला खेती बाहेक कफी उत्पादन, केरा खेती, अदुवा, लसुन, प्याज र बाख्रा पालनबाट पनि राम्रो उत्पादन हुने गरेको कृषकहरू बताउँछन्। गाउँभरी नै सुन्तलाका बोटहरू रहेका कारण मौरी पालन पनि फस्टाउँदै गएको छ।

सुन्तला झर्दा मर्का, कोल्ड स्टोरको अभाव

यस वर्ष छिट्टै र धेरै वर्षा भएका कारण गाउँलेले लगाएका सुन्तलाहरू विगतको वर्षमा भन्दा धेरै झरेको छ। यसरी नै सुन्तला झरिरहे अघिल्ला वर्षहरूको जस्तो आम्दानी गर्न नसकिने आर्थिक समस्यामा पर्न सकिने चिन्तामा उनीहरू छन्। सुन्तला धेरै नै झरेपछि कृषि ज्ञान केन्द्रबाट प्राविधिकहरु बोलाएर देखाएकोले अब भने समस्या नहुने आशामा उनीहरू छन्।

सात्ले नुवारखर्कसहित कुर्घाका अन्य गाउँहरूमा पनि सुन्तलाको राम्रो उत्पादन हुने गरेको छ। तर कोल्ड स्टोर नभएका कारण आफूहरू समस्यामा पर्दै आएको कृषकहरू बताउँछन्। सिजनको बेलामा सबैको उत्पादनले एकै पटक प्रतिस्पर्धा गर्नुपर्दा क्रेताले राखेको कम मूल्यमा नै सुन्तला बिक्री गर्नुपर्ने र त्यसो नगरे सुन्तला नै बिक्री नहुने समस्याको समाधानका लागि गाउँमा कोल्ड स्टोरको आवश्यकता रहेको उनीहरूको भनाई छ।

‘हामीले गत सिजनमा किलोको ६० रुपैयाँका दरले गाउँबाट बिक्री गरेका हौँ। बजार १२० सम्ममा सजिलै बिक्री भएको देखियो। हामीसँग कोल्ड स्टोर नभएकाले खरीदकर्ताले बोलेको मूल्यमा दिनुपर्ने बाध्यता भयो,’ गङ्गाबहादुर भन्छन्, ‘सिजनको बेलामा स्टोर गरेर राख्न पाए बेसिजनमा मूल्य पनि राम्रो आउने थियो। बेमौसममा पनि सुन्तलाको मागको आपूर्ति हुने थियो।’

गाउँलेहरूलाई सिचाईंका लागि पाइप र टिपेका सुन्तला मुख्य सडकसम्म निकाल्न समस्या रहेको कृषकहरू बताउँछन्। कालोपत्रे भएको मुख्य सडकबाट सात्ले नुवारखर्क जोड्ने गरी ट्रयाक मात्रै खुलेको भए पनि सम्बन्धित निकायले ध्यान नदिँदा बाटो अवरुद्ध रहेको टेकबहादुर क्षेत्रीले बताए।

सडकको समस्याका कारण डोकोभरी सुन्तला बोकेर करिब एक घण्टा हिँडेर सवारी रहेको ठाउँमा पुग्नुपर्ने बाध्यता रहेको उनको भनाई छ। गाउँभन्दा माथि पानीका स्रोतहरू रहेको भए पनि पाइपको अभावमा सिँचाइको समस्या रहेको गाउँलेहरू बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.