|

काठमाडौं : भारतीय सहयोगमा मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ छोनहुपस्थित श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नति गरिएका भवनको उद्घाटन गरिएको छ। 

भारतीय दूतावासका कार्यवाहक राजदूत श्रीमती नामग्य सी खम्पाले छोनहुपस्थित श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालय भवनको आज उद्घाटन गरेकी छन्। कार्यवाहक राजदूत खम्पाले उद्घाटन समारोहमा सो विद्यालयलाई एउटा स्कुल बस र घरपझोङ गाँउपालिकालाई एउटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरिन्।

‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रम अन्तर्गत एवम् उच्च प्रभाव सामुदायिक विकास परियोजना अनुरुप भारतको अनुदान सहयोगमा कुल २ करोड ६३ लाख रूपैयाँको लागतमा विद्यालय भवनको स्तरोन्नति गरिएको हो।

जिल्ला समन्वय समिति मुस्ताङले उक्त परियोजना कार्यान्वयन गरेको हो। यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारतले अघि सारेको “[email protected] : आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजना मध्येको एक हो।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ। तीमध्ये स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै प्रदेशमा गरी ४७० परियोजना सम्पन्न भइसकेका छन्। तीमध्ये मुस्ताङ जिल्लाका १५ गरी गण्डकी प्रदेशमा ५७ वटा परियोजना रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.