काठमाडौं : तनहुँको व्यास नगरपालिकाको पुनः मतगणना गर्न माग गरिएको मुद्दामा उच्च अदालत पोखराले विपक्षी झिकाउने आदेश दिएको छ। नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले बिहीबार दायर गरेको रिटमा शुक्रबार प्रारम्भिक सुनुवाइ भएको हो।
न्यायाधीश ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले प्रारम्भिक सुनुवाइ गर्दै शुक्रबार विपक्षी निर्वाचन आयोग सहितलाई उपस्थित हुन आदेश दिएको रजिष्ट्रार श्रीलाल पौडेलले थाहा खबरलाई जानकारी दिए। उनका अनुसार अदालतले आज पठाएको आदेश प्राप्त भएको १५ दिनभित्र आफैं वा प्रतिनिधि उपस्थित गराउन भनिएको छ।
प्रमुखका उम्मेदवार जोशीले मतगणनामा धाँधली भएको भन्दै पुनः मतगणनाको माग गर्दै हिजो बिहीबार रिट निवेदन दिएका थिए। निवेदकको माग बमोजिम आदेश जारी गर्नु पर्ने वा नपर्ने बारेमा कानुनसम्मत आधार र कारणसहित उपस्थित हुन भनेको पौडेलले बताए।
व्यास नगरपालिकाका प्रमुखमा कांग्रेसका वैकुण्ठनाथ न्यौपाने १२ हजार ७८ मतसहित विजयी भएका छन् भने एमालेको समर्थनमा उठेका स्वतन्त्र उम्मेदवार जोशीले ११ हजार ८२६ मत प्राप्त गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।