निर्माण नगर्न अदालतको आदेश

|

काठमाडौं : देशको संघीय राजधानी काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा चाप बढेसँगै सरकारले अन्य ठाउँमा विमानस्थल निर्माण गर्न विकल्पको खोजी गर्न थाल्यो। देशका विभिन्न ठाउँमा सम्भाव्यता अध्ययन गर्दा बाराकाे निजगढ उपर्युक्त विकल्पको रुपमा देखियो। 

लामो समयदेखि निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणको कुरा चर्चामा रह्यो। विभिन्न स्थानका विषयमा लामो छलफल र बहसपछि निजगढमा अन्तरराष्ट्रिय विमानस्थल बनाउने कुराको टुंगो लागेको थियो। सरकारले विमानस्थल बनाउन पूर्व तयारीका कामहरू विभिन्न चरणमा काम अगाडि बढाएको थियो।

२०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अन्तरराष्ट्रिय विमानस्थल बनाउने योजना अगाडि बढाएका थिए। २०५१ सालमा सम्भाव्यता अध्ययन गरियो। निजगढलाई नै छनोट गरिएको थियो। सोही योजनालाई विमानस्थलको गुरुयोजना बनाई अगाडि बढाएको थियो। ०७१/७२ मा शुरु गरिएको सो योजना ०८५/८६ मा सम्पन्न गर्ने  तयारी गरिएको थियो।

तर यता बिहीबार सर्वोच्च अदालतले ऐतिहासिक फैसला गर्दै निजगढमा विमानस्थल नबनाउन आदेश दिएको छ। बिहीबार न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र डा.मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले निजगढमा विमानस्थल बनाउने सबै निर्णय बदर गर्दै विमानस्थल चाहिए अर्को विकल्प खोज्न आदेश दियो। अदालतले  निमार्ण नगर्न आदेश दिएसँगै सरकारले गरेको लगानी खेर गएको छ। 

विमानस्थल निर्माणमा कति भयो खर्च?

निजगढ विमानस्थल निकै लामो समयदेखि नेपालीमा बहसको विषय बन्यो। लामो समयदेखि चलिरहे पनि आव ०७१/७२ बाट सरकारले बजेट दिन शुरु गरेको थियो। विमानस्थल निर्माणको क्रममा १ अर्ब ११ करोड खर्च भएको  नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको निजगढ विमानस्थल आयोजना प्रमुख विजय यादवले जानकारी दिए। 

विमानस्थल निर्माणका क्रममा हालसम्म नदी नियन्त्रण, मुआब्जा वितरण, अध्ययन अनुसन्धान लगायतमा सो रकम खर्च भएको उनले भनाई छ। सन् २०१४ मा ६० अर्ब लागत अनुमान गरिएको निजगढ विमानस्थलको पछिल्लो लागत अनुमान ७ खर्ब पुगेको थियो। जसमा गुरुयोजना बनाउने खर्च समावेश गरिएको छैन। 

गुरुयोजना बनाउँदा भएको खर्चबाहेक नै यति खर्च भएको हो। आयोजना प्रमुख यादवले भने, ‘यसमा मुआब्जा वितरणमा भएको खर्च भने समावेश छ।’ उनका अनुसार निर्माण क्षेत्रमा पर्ने नम्बरी जग्गा, बोटविरुवा लगायतको वर्गीकरण गरेर हालसम्म ४७ करोड ८० लाख रुपैयाँ मुआब्जा वितरण गरिएको छ। 

के के भयो काम 

विमानस्थल निर्माण गर्न विभिन्न चरणमा काम अगाडि बढाइएको थियो। आयोजनाका अनुसार वन विभागले रुख कटानका लागि काटिने रुखमा टाँचा लगाएको थियो। 

निर्माण क्षेत्रको पूर्व र पश्चिम सिमानामा पर्ने २ वटा खोलामा आउने बाढीले विमानस्थलमा क्षति नपुगोस् भनेर ‘वाल’ लगाइएको थियो। एयरपोर्ट बन्ने ठाउँको चारैपट्टि सडक बनाइएको थियो। कालोपत्रे गर्ने तयारीका लागि चारैपट्टि बनाइएका सडकलाई ग्राभलिङ गरिसकिएको थियो। यति मात्रै नभई, टाँगियाे बस्ती स्थानान्तरणका लागि आवश्यक पूर्वाधार र बजेटका विषयमा पनि निर्णय हुने चरणमा काम भएकाे जानकारी प्रमुख यादवले दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.