|

रुपेन्द्र पटेल

रौतहट : जिल्लामा धानको बिउ राख्‍ने बेलामै रासायनिक मलको अभाव भएको छ।

मल अभावसँगै हरेक वर्ष खेतीको मुख्‍य सिजनमै रासायनिक मलको अभाव झेल्दै आएका रौतहटका किसानहरू यस वर्ष पनि मलकै चिन्तामा परेका हुन्।

रौतहट जिल्लाभरिमा धानको बिउ राख्ने बेलामा करिब ८० हजार बोरा मल खपत हुने गरेको कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरले जनाएको छ।

केही समय पहिला १२ हजार बोरा डिएपी मल आएकोमा त्यो सकिएर अब ५ हजार बोरा बाँकी रहेको कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरका प्रमुख रवि केशरीले जानकारी दिएका छन्।

कृषि ज्ञान केन्द्र रौतहटको सिफरिसमा रौतहटका १८ वटै पालिकाबाट छनोट भएका कृषि सहकारीका माध्यमबाट रासायनिक मलको वितरण हुँदै आएको छ।

धानको बिउ राख्ने बेलामै रासायनिक मलको अभाव भएको र धानमा हाल्नका लागि मल खाद्य नपाउने अवस्था आएको चन्द्रपुर ८ का किसान राजन तिमल्सिनाले गुनासो गरे। कृषि सामग्री कम्पनी लिमिटेडले वितरण गर्ने मलखाद्य अभाव भएपछि किसानहरू चर्को मूल्य तिरेर पसलबाट भारतीय मल किन्न बाध्य भएको बृन्दान १ का किसान रामलोच राउतले बताए।

जिल्लाको चन्द्रपुर नगरपालिकामा किसानको मागअनुसार रासायनिक मल वितरण गर्न नसकिएको दिव्‍यज्योति कृषि सहकारी संस्थाका अध्यक्ष शिव अर्चायले भनाइ रहेको    छ।

चन्द्रपुर नगरपलिकामा मात्र ५ हजार बोरा बढी डिएपी मल आवश्यकता भएको भए पनि विभिन्न सहकारीका माध्यमबाट १३ सय बोरा डिएपी मल वितरण गरिएको छ। अहिले रौतहटमा युरिया मल नरहेको कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरले जनाएको छ।

रौतहटमा हरेक वर्ष धान लगाउने बेलामा रासायनिक मलको हाहाकार हुने गरेको  छ। रौतहटका सीमावर्ती गाउँका किसानहरूले भने, भारतीय बजारबाट मल खाद्य ल्याएर खेती किसानी गर्दै आएका छन्।

जिल्लाको उत्तरी भेगका किसानहरु यतिखेर रासायनिक मल खाद्यको खोजीमा भौतारी रहेका छन्। जिल्लाका कैयौँ स्थानीय तहमा रहेका सहकारीले लगेको मलसमेत उनीहरुले ब्ल्याकमा बेच्ने गरेको किसानहरुको गुनासो रहेको छ।

मलखाद्य अभावमा गतसाल जिल्लामा जति धान उत्पादन हुनुपर्ने हो त्यति नभएको कृषि ज्ञान केन्द्र रौतहटले जनाएको छ। रौतहट जिल्लाभरी रासायनिक मलको विक्रि वितरण गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरले अबको एक महिनाभित्र सरकारले आवश्यक मलखाद्य नदिए झनै मलको हाहाकार हुने जनाएको छ।

रौतहटमा हरेक वर्ष रासायनिक मलको अभावमा किसनहरुले आन्दोलन गर्दै आएको भए पनि सरकारले कानमा तेल हालेर सुतिरहेको रौतहटका पूर्व-प्रदेशसभा सदस्य कुन्दन कुसवाहाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.