|

झापा : प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगी चढेको गाडी विद्यार्थीले सडकमै रोकेर विरोध प्रदर्शन गरेका छन्।

नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) त्रिदेव क्याम्पस चारआलीका विद्यार्थीहरूले पेट्रोलियम पदार्थ मूल्यवृद्धि फिर्ताको माग राख्दै नेपाल आयल निगम, चारआली डिपो घेराउ गर्न जाने क्रममा मन्त्री सरावगी चढेको गाडी रोकेर विरोध प्रदर्शन गरेका हुन्।

बिहीबार बिहान ९ बजे क्याम्पसदेखि चारआली डिपोसम्म र्‍यालीसहित विरोध प्रदर्शन गर्दै जाने क्रममा मन्त्री सरावगी सवार प्रदेश १–०४–००१ झ ००३२ नम्बरको सेतो रङ्गको गाडी विद्यार्थीहरूले २० मिनेटसम्म रोकेर राखेका थिए।

विद्यार्थीले मन्त्री सवार गाडी रोकेपछि प्रहरी टोली तत्काल घटनास्थल पुगे र त्यसपछि विद्यार्थीले मन्त्रीको गाडी छाडेका थिए। साथै विद्यार्थीहरूले सरकारी नम्बर प्लेट भएका दुई वटा गाडी र एउटा मोटरसाइकलको चाबी खोसेर प्रहरीलाई जिम्मा लगाएको विद्यार्थी नेता विशाल गिरीले जानकारी दिए।

त्यसपछि विद्यार्थीको र्‍याली चारआली डिपो घेराउ गर्दै पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ताको माग राख्दै विद्यार्थी सङ्गठनद्वारा नेपाल आयल निगम चारआली डिपो घेराउ पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, विदेशी दलाल होसियार, गठबन्धन सरकार मुर्दावाद भन्दै नाराबाजी समेत गरेका थिए।

अनेरास्ववियुका झापा जिल्ला अध्यक्ष रोशन लामाको नेतृत्वमा भएको कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य दुर्गा धमला र जिल्ला सचिव  नारायण पोखरेलले मन्तव्य राखेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.