|

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विमानस्थल निर्माणको चर्चा चल्दै आएको छ। २०७५ सालदेखि सुर्खेतमा अन्तरराष्ट्रियस्तरको विमानस्थल निर्माणका लागि बहस शुरु भए पनि संघीय सरकारले यसबारे शुक्रबार मात्र सैद्धान्तिक स्वीकृति दिएको छ।

जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले भेरीगंगा (रामघाट)मा विमानस्थल निर्माणका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। योसँगै भेरीगंगा नगरपालिकामा विमानस्थल निर्माणका लागि प्रक्रिया अघि बढ्ने भएको हो। विमानस्थल निर्माण तथा विस्तारका विषयलाई राजनीतिक रूपमा समेत बहस गर्न थालिएको छ।

यसअघि कर्णाली प्रदेशका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले विमानस्थल विस्तारका लागि संघीय सरकारसँग द्विपक्षीय सम्झौता गरेको थियो। २०७७ असोज १५ गते भएको उक्त सम्झौताअनुसार सुर्खेतमा रहेको हालको विमानस्थल उत्तरतर्फ ५१० मिटर, दक्षिणतर्फ ६० मिटर र पश्चिमतर्फ ६६ मिटर विस्तार गर्ने उल्लेख थियो।

उता वीरेन्द्रनगर नगरपालिकाले पनि २०७७ माघ ३ गतेको कार्यपालिका बैठकबाट सुर्खेत विमानस्थल विस्तार गर्नुभन्दा नयाँ विमानस्थल निर्माणको विकल्प खोज्न प्रदेश र संघीय सरकारलाई अनुरोध गरेको थियो।

केही वर्षअघि संघीय सरकारले अन्तरराष्ट्रियस्तरको विमानस्थल निर्माणका लागि सुर्खेतको भेरीगंगास्थित रामघाट र छिन्चुको बीचमा रहेको मदानेचौरमा अध्ययन शुरु गरेको थियो।

संघीय सरकारका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितको प्राविधिक टोलीले अन्तरराष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययन गरेको थियो। भौगोलिक अवस्थाका कारण वीरेन्द्रनगरमा हाल सञ्चालनमा रहेको विमानस्थललाई अन्तरराष्ट्रियस्तरका रूपमा विकास गर्दा ठूला विमान अवतरण गराउन नसकिने अध्ययन टोलीले बताएको थियो। जसको विकल्पका रूपमा छिन्चुको मदानेचौरमा सम्भाव्यता अध्ययन गरिएको थियो।

अध्ययन टोलीले अन्तरराष्ट्रिय विमानस्थलका लागि मदानेचौर उत्तम रहेको निष्कर्ष निकालेको थियो। अन्तरराष्ट्रिय विमानस्थलका लागि २२ सय मिटरको धावनमार्ग अनिवार्य रहेकोमा मदानेचौरमा धावनमार्गको लम्बाइ २६ सय मिटरसम्म हुने अध्ययनले देखाएको थियो। यद्यपि डाँडो काट्नुपर्ने भएकाले लागत भने महँगो पर्ने नागरिक उड्डयन प्राधिकरणले बताएको थियो।

प्राधिकरणका अनुसार मदानेचौरमा विमानस्थल बनाउँदा १० अर्ब बजेट लाग्ने अनुमान गरिएको थियो। जसको चौडाइ ३० मिटर र निर्माण कार्य सम्पन्न गर्न ६ देखि ८ वर्षसम्म लाग्ने अनुमान प्राविधिक टोलीले गरेको थियो।

सुर्खेत विमानस्थलको हालको रनवे १ हजार २५५ मिटर र चौडाइ ३० मिटर रहेको छ। सुर्खेत विमानस्थलमा अहिले ७२ सिटे ‘एटीआर ७२’ जहाज अवतरण हुने गरेको छ। हालको धावनमार्गलाई उत्तरतर्फ विस्तार गरेर १ हजार ५५५ मिटर पुर्‍याउँदा ७० देखि ८० सिटे ‘एटीआर ७२’ जहाज अवतरण गर्न मिल्छ।

नागरिक उड्डयन प्राधिकरणले प्रदेश सरकारलाई बुझाएको विमानस्थल विस्तारको प्रारम्भिक सर्भेमा जमिन अधिग्रहण गर्दा करिब २ सय घरधुरी प्रभावित हुने उल्लेख छ। एक विद्यालय, स्वास्थ्यचौकी र केही सामुदायिक भवनसहित नागरिकका करिब दुई सय घरधुरी अधिग्रहण गर्नुपर्ने नागरिक उड्डयन प्राधिकरणको भनाइ छ। तीन सय मिटर रनवे विस्तारमा ९ अर्ब ४१ करोड रुपैयाँ खर्च हुनुका साथै आठ वर्ष समय लाग्ने प्राधिकरण प्रमुख प्रदीप अधिकारीको भनाइ छ।

हालको विमानस्थल विस्तारका लागि प्रदेश र संघीय सरकारबीच भएको सम्झौतामा ९ अर्ब ४१ करोडमध्ये संघीय सरकारको ५० प्रतिशत र प्रदेश र स्थानीय पालिकाले २५–२५ प्रतिशत खर्च व्यहोर्ने उल्लेख गरिएको थियो। आर्थिक र प्राविधिक रूपले विमानस्थल विस्तार उपर्युक्त देखिँदैन।

९ अर्ब ४१ करोड रुपैयाँ खर्च गरेर विमानस्थल विस्तार गर्दा पनि ठूला जहाज आउँदैनन्। रनवे पनि एकतर्फी मात्रै हुन्छ। ३५० मिटर रनवे विस्तारमा अर्बौ खर्च लाग्ने र त्यसले पनि ठूला जहाज सहज रूपमा आउन नसक्ने देखिएपछि विकल्पका रूपमा रामघाट विमानस्थल उपयुक्त छ। सम्भाव्यता अध्ययन टोलीले पनि रामघाटको मदानेचौर अन्तरराष्ट्रिय विमानस्थलका लागि उत्तम रहेको निष्कर्ष निकालेको थियो।

अन्तरराष्ट्रिय विमानस्थलका लागि २२ सय मिटरको धावनमार्ग अनिवार्य रहेकोमा मदानेचौरमा धावनमार्गको लम्बाइ २६ सय मिटरसम्म हुने अध्ययनले देखाएको थियो। यद्यपि डाँडा काट्नुपर्ने भएकाले लागत भने महँगो पर्ने नागरिक उड्डयन प्राधिकरणले बताएको थियो।

प्राधिकरणका अनुसार मदानेचौरमा विमानस्थल बनाउँदा १० अर्ब बजेट लाग्ने अनुमान गरिएको थियो। जसको चौडाइ ३० मिटर र निर्माण कार्य सम्पन्न गर्न ६ देखि ८ वर्षसम्म लाग्ने अनुमान प्राविधिक टोलीले गरेको थियो।

‘रनवे विस्तारले मात्रै सम्भव छैन’

कर्णालीमा उडान क्षेत्र विस्तारका लागि सुर्खेतस्थित हालको विमानस्थल विस्तारले मात्र हवाई सेवा प्रभावकारी नहुने नागरिक उड्डयन कार्यालय, सुर्खेतका प्रमुख देवेन्द्र पाण्डेको धारणा छ। कर्णाली प्रदेशमा हवाई सेवा विस्तारका लागि पूर्ण क्षमताको विमानस्थल आवश्यक पर्ने उनी बताउँछन्।

हालको विमानस्थललाई विस्तार गर्दा पनि रात्रिकालीन उडान भर्न सक्ने क्षमता राख्दैन। त्यसको मुख्य कारण यहाँको भौगोलिक वातावरण हो। कम कुहिरो भएको अवस्थामा पनि उडान रोक्नुपर्ने समस्या रहेको पाण्डेले बताए। कर्णालीमा उडान सेवा विकासका लागि रामघाट क्षेत्रमा विमानस्थल निर्माण गरिनु उत्तम विकल्प रहेको उनी बताउँछन्।

‘स्ट्रेन्थ’ कम भएपछि श्री एयरलाइन्स पछि हट्यो

२०७७ माघमा आफ्नो ८० सिटे जहाज ‘क्युआर–८००’ का साथमा सुर्खेत विमानस्थलमा निजी वायुसेवा श्री एयरलाइन्सले काठमाडौं–सुर्खेत परीक्षण उडान भरेको थियो। भारवहन क्षमता परीक्षणका लागि उडान भरेको श्री एयरलाइन्सले हाल नियमित उडान भरेको छैन। त्यस वेला श्री एयरलाइन्सका चालकले २० देखि २२ डिग्री सेल्सियस तापक्रमसम्म क्षमताअनुसारको लोड ल्याउन सकिने जानकारी गराएका थिए।

हालको विमानस्थल रनवेमा ‘स्ट्रेन्थ’ भारवहन क्षमता कम भएको र व्यापारिक रूपमा लागत धेरै लाग्ने भएपछि श्री एयरलाइन्सले नियमित उडान नगरेको नागरिक उड्डयन कार्यालय, सुर्खेतका प्रमुख पाण्डेको धारणा छ। उनले भने, ‘रनवेको स्ट्रेन्थ कम भएपछि श्रीले उडानलाई नियमित नगरे जस्तो लाग्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.