|

इन्डियन प्रिमियर लिगमा बुधबार (आज) लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेङलोर (आरसिबी) बीच प्रतिस्पर्धा हुँदै छ। कोलकाताको इडेन गार्डेनमा हुने खेलमा जित निकाल्ने टोली क्वालिफायर-२ मा स्थान बनाउनेछ। जहाँ उसले फाइनल प्रवेशका लागि राजस्थान रोयल्सको सामना गर्नेछ। पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ। त्यसैले फाइनलको आशा कायमै राख्न पनि दुबै टोली 'गर या मर' को अवस्थामा मैदानमा हुनेछन्।

उत्कृष्ट फर्ममा रहेको लखनउ र धर्मराउँदै क्वालिफायरमा पुगेको बेङलोर बीचको खेल रोमाञ्चक हुने आँकलन गरिएको छ। पटक-पटक क्वालिफायरमा पुगेर पनि उपाधिविहीन हुँदै आएको आरसिबीका लागि नवप्रवेशी लखनउलाई पराजित गर्दै पुनः एकपटक आफ्नो १४ वर्षे प्रतीक्षालाई अन्त गर्ने चुनौती कायम राख्नु पर्नेछ। तर आरसिबीका लागि ब्याटिङ लाइनअपको चिन्ता कायम छ।

विराट कोहलीको अस्थिर प्रदर्शन रहँदा ग्लेन म्याक्सवेलको संयमता महत्त्वपूर्ण मानिएको छ। फेरि पनि ब्याटिङ अर्डरले आरसिबी समर्थकलाई ढुकढुक बनाइरहँदा विराटले अघिल्लो खेलको प्रदर्शन दोहोर्‍याउने विश्वास आरसिबीलाई छ। त्यस्तै कप्तान फाफ डुप्लेसिस र दिनेक कार्तिकको इनिङ पनि उतिकै जिम्मेवारपूर्ण हुन जरुरी छ।

यता नवप्रवेशी लखनउ भने कप्तान केएल राहुल र विकेटकिपर ब्याट्सम्यान क्विन्टन डिकको सानदार इनिङका कारण पछि फर्किनु परेको छैन। नेट रनरेटमा पछि रहँदै इलिमिनेटर खेल्नुपर्ने अवस्थामा पुगेको लखनउ अब आरसिबीलाई पाखा लगाएर पहिलो सहभागितामै आफ्नो फाइनल अभियानलाई एक कदम अघि बढाउन चाहन्छ।

उत्कृष्ट ओपनिङसँगै अलराउन्डरको साथमा लखनउ आशावादी छ। मुख्य रूपमा अलराउन्डरहरू मार्कस स्टोइनिस, जेसन होल्डर र दीपक हुड्डाले मध्य क्रम समाल्नेमा लखनउ पूर्ण विश्वस्त छ। बलिङतर्फ भने आरसिबी केही बलियो मानिएको छ। मुख्य रूपमा मोहम्मद सिराजको उत्कृष्ट प्रदर्शन र जोश हेजलवुडको आक्रमणमा हर्षल पटेलका साथ आरसिबीको आशालाई बलियो बनाउन केन्द्रित छन्।

यस्तोमा लखनउ भने आवेश खान, रवि विश्वोई र कृष्णप्पा गौतमका साथमा दुष्मन्था चमीराको अट्याकिङमा रहनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.