|

पर्वत : कास्कीको पोखरा महानगरपालिका प्रमुख पदमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तरलाई ३४ सयमा नै कायम राखेका छन्।

शनिबार बिहानसम्म ८० हजार १५४ मतको गणनामा उनीहरूबीच ३ हजार ४३९ मतान्तर रहेकोमा अपराह्नसम्म आइपुग्दा गणना गरिएको ८६ हजार २५७ मतमा थप ६ मतको अन्तर परेको छ। योसँगै उनीहरूबीचको पछिल्लो मतान्तर ३ हजार ४४५ रहेको छ।

आचार्यको पक्षमा ३४ हजार ८१९ मत आएका छन् भने थापालाई ३१ हजार ३७४ मत आएका छन्। नगर प्रमुखमा नै प्रतिस्पर्धा गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार शंकर खरालले ३ हजार ८८१ तथा अटेरी अभियानका खडकराज पौडेल (गनेश) ले २ हजार ३५० मत पाएका छन्।

उपप्रमुख पदमा पछिल्लो समय एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले गठबन्धनअन्तर्गत नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई लगातार पछाडि पारिरहेकी छिन्। सुरुवाती अग्रतामा रानाभाट अगाडि रहेको भए पनि पछिल्लो समयमा गुरुङकै अग्रता कायम रहेको छ।

मतगणनाको पछिल्लो नतिजाअनुसार एमालेकी गुरुङले कांग्रेसकी रानाभाटलाई ५१० मतले पछाडि पारेकी छिन्। गुरुङलाई ३५ हजार ७७९ मत पर्दा रानाभाटको पक्षमा ३५ हजार २८९ मत आएका छन्।

उपप्रमुख पदमा नै प्रतिस्पर्धा गरेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रञ्जना कुमारी सेन पौडेललाई ३ हजार ७७७  र विवेकशील साझाका माधव पौडेललाई १९८ मत आएका छन्।

२ लाख ७ हजार ७१२ जना मतदाता रहेको पोखरा महानगरपालिकामा कुल १ लाख ४३ हजार २२६ मत खसेको छ। महानगरका वडा–५, १६, १७, १९, २१ र ३३ एमालेका बलिया क्षेत्र मानिन्छन्। तर वडा–५ बाट भने एमालेले राम्रो मत पाउन सकेन। एमालेको आधार क्षेत्रका रूपमा रहेको वडा–३३ गठबन्धनका उम्मेदवार आचार्यको गृह वडा पनि हो। उनीहरूबीचको अवस्थालाई अन्दाज गर्न वडा–१६ को नतिजाले केही सङ्केत गर्ने नेताहरू बताउँछन्।

वडा–१६ बाट एमालेका थापाले मतान्तरलाई कम गर्न सके भने उनीहरूबिच बलियो प्रतिस्पर्धा हुन सक्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.