|

पर्वत : पर्वतको कुस्मा नगरपालिका–८ स्थित परादीको ओढारे खोलामा बुधवार साँझ भएको जिप दुर्घटनाका एक घाइतेको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार उपचारकै क्रममा बागलुङको काठेखोला गाउँपालिका–७ घर भएकी २४ वर्षीया प्रतीक्षा पुनको मृत्यु भएको हो। 

गम्भीर अवस्थामा उपचार गरिरहँदा पोखराको मेट्रो सिटी हस्पिटलमा उनको मृत्यु भएको हो। यस अगाडि घटना भएकै दिनमा जिपका चालक बागलुङकै काठेखोला गाउँपालिका–४ तङ्ग्रामका ३१ वर्षीय लालबहादुर थापाको मृत्यु भएको थियो।

प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएकामध्ये सात जनाको गण्डकी अस्पताल, एक जनाको चरक हस्पिटल र एक जनाको फिस्टेल हस्पिटल गरी पोखरामा उपचार चलिरहेको छ भने छ जना उपचारपश्चात् निको भएर घर फर्किएका छन्।

बुधवार साँझ बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ७२५६ नम्बरको टाटा सुमो पोखराबाट कुश्माका लागि छुटेको ग १ ख ५२१८ नम्बरको बससँग जुध्दा दुर्घटना भएको थियो। जिप सडकबाट हुत्तिएर सडक बाहिरको नालीको भागमा पुगेको थियो।

केही घाइतेलाई जिपभित्रै च्यापिएको अवस्थामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेको थियो। दुर्घटनाको बारेमा अनुसन्धान चलिरहेको बताउँदै इन्स्पेक्टर अधिकारीले बसका चालकलाई नियन्त्रणमा लिएर पर्वत जिल्ला अदालतबाट १० दिनको म्याद थपी सोधपुछ चलिरहेको बताए।

बागलुङमा चक्काजाम

दुर्घटनामा घाइते भएकाको उपचारमा यातायात व्यवसायी र सम्बन्धित सवारी धनीले बेवास्ता गरेको भन्दै बिहीबार बागलुङको अक्षेतेमा काठेखोलाका स्थानीयले चक्काजाम गरे।

घाइतेहरूको ज्यान जोखिममा परेपछि बाध्य भएर चक्का जाम गरिएको र घाइतेहरूको उपचारको सही व्यवस्था नहुँदासम्म चक्काजाम जारी रहने स्थानीय विष्णु आलेले बताए।

पर्वतमा पनि सडक अवरोध

दुर्घटनामा परी ज्यान गुमाएका तथा घाइते परिवारका आफन्तहरूले बिहीबार साँझ दुर्घटना स्थलमा पुगी नाराबाजी गर्नुका साथै सडक बन्द गराएका थिए।
दुर्घटनाबाट ज्यान गुमाएका आफन्तहरूले धौलागिरि बस प्रालिले बेवास्ता गरेको भन्दै मध्यपहाडी लोकमार्ग अन्तर्गत  पोखरा–बागलुङ सडक खण्ड अवरोध गराएका हुन्।

दोषी चालकलाई कारबाही गर्नुका साथै बस व्यवसायी समितिले घटनाको जिम्मेवारी लिएर क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.