|

धरान : नयाँ निर्वाचित भई आउने नगर प्रमुखका लागि आज विहीबार देखि धरान उपमहानगरपालिका कार्यालयको कुर्सी खाली गरिएको छ।

मेयर तिलक राईले आज विदाई ज्ञापन कार्यक्रम आयोजना गरी नगर प्रमुख सहितका नयाँ निर्वाचित जनप्रतिनिधिहरु खाली भएको घोषणा गरेका हुन्।

नवनिर्वाचित जनप्रतिनिधिहरुले पद बहाली नगरेसम्म शुक्रवारदेखि उपमहानगरपालिका कार्यालयको दैनिक काम कारवाही कर्मचारीहरूबाट सञ्चालन हुनेछ।

चुनावमा प्रत्यासी हुन राजीनामा दिएका बाहेक वडाध्यक्ष बहाल रहेका ७ जना वडाध्यक्षले पनि आजैदेखि उपमहानगर कार्यपालिकाबाट विदाई लिएका छन्।

निर्वाचन आयोगले २०७४ सालको चुनावमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पदावधि जेठ ५ गते सकिने जानकारी गराएकोले सोही अनुसार विदाई ज्ञापन गरिएको बताउँदै मेयर राईले भने ‘हामी बहाल रहेकाहरुले नयाँ नगर प्रमुख, उपप्रमुख र निर्वाचित जनप्रतिनिधिहरूलाई पद बहाल गराई विदा लिने सोचेका थियौँ तर नियमले त्यसो गर्न दिएन।’

मेयर राई भने तत्कालीन नगर प्रमुख तारा सुब्बाको निधन भएको डेढ वर्षपछि उप चुनावबाट निर्वाचित भएका हुन्। उपमहानगरपालिकामा दुई तिहाई भन्दा बढी विपक्षी दलको बहुमत भएपनि सहमति र सहकार्यमा आफ्नो अढाई वर्षे कार्यकालले निर्विवाद पूर्णता पाउनु, नयाँ आउने जनप्रतिनिधिहरूका लागि उदाहरणीय विषय बन्न सक्ने उनले बताए।

उनले भने, ‘सहमति सहकार्य नभए धरानको विकास र निर्माणका कार्यहरु अवरुद्ध बन्न सक्ने र धरान पछि पर्ने अवस्था आउन सक्छ।’

अल्पकालीन कार्यकालका कारण खानेपानी जस्तो धरानको मुख्य योजनालाई पूर्णता दिएर समस्या समाधान गरेर देखाउने अवसर नपाएको बताउँदै उनले भने ‘पाँच वर्षको पूरा अवधि काम गर्न पाएको भए, उपमहानगरपालिकाले अघि बढाएको प्रायः सबै योजनाहरु परिणाममुखी अवस्थामा पुर्‍याउन सकिन्थ्यो भन्ने अहिले मलाई लागेको छ।’

दिवंगत तारा सुब्बाको कार्यकालमा कानुनहरु बनाउने केही कामहरु भएको उल्लेख गर्दै मेयर राईले भने, ‘डेढ वर्ष कार्यवाहक नदिई तत्कालै चुनावबाट आउन पाएको भएपनि कमसेकम खानेपानीको काम पुरा गर्न सकिन्थ्यो।’ सुब्बाको निधनपछि उपप्रमुख मञ्जु भण्डारी डेढ वर्ष कार्यवाहक नगर प्रमुख भएकी थिइन्।

मेयर राईले आफ्नो कार्यकालमा भ्रष्टाचार रोक्ने, विकास निर्माणका योजनाहरु लागत स्टिमेट भन्दा घटीमा सम्पन्न गर्ने, ठेक्का लगाउने काम भएकोले अनियमितताका गन्धसम्म नआएको कुरा सन्तोषको विषय भएको बताए। लामो समय विवाद र बजेटको अभाव भई रोकिएको बसपार्कको योजना परिमार्जन गरेर भएपनि कार्यान्वयनमा ल्याइएको बताउँदै एयरपोर्टकाे कुरा भने पटक पटक उठाएर धरान बासीलाई भ्रममा राख्न नहुने उनको भनाई छ।

मेयर राईले भने, ‘सरकारको नीति निर्माण तह यो एयरपोर्टका विपक्षमा छ, त्यसमा बल गर्नु जनतालाई भ्रममा राख्नु मात्र हुनेछ।’ संघीय गणतन्त्र आएपछि तीन तहको सरकारले घरघरमा सिंहदरबार पुर्‍याउने भनिएतापनि स्थानीय सरकार, प्रदेश र संघीय सरकार जस्तो अधिकार सम्पन्न नगरिएको आफ्नो अनुभव उनले सुनाए।

मेयर राईका अनुसार स्थानीय सरकार भनिएपनि प्रदेश र संघीय जस्तो सरकार बनाउने अधिकार नगरपालिकालाई नहुँदा विकास, निर्माण, नीति निर्माण र कार्यान्वयन गतिशील बनाउन नसकिएको अवस्था छ। उनले भने, ‘त्यसलाई कार्यान्वयन गर्न मेयरले कार्यपालिका सदस्यहरु मध्येबाट ७ जनाको स्थानीय सरकार बनाउन पाए कामको जिम्मेवारी बाँडफाँड भई तीब्रता पाउन सक्थ्यो।’ आफूले इमान्दार, परिणाममुखी कामगर्ने नगर प्रमुखको रुपमा काम गरेको बताउँदै नगरपालिकाको अनुभव अझैपनि धरानको विकासमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.