|

नेपालीमा प्रचलित एउटा लोकप्रिय उखान छ  “घरै पिँडालु, वनै पिँडालु, ससुराल गयो भने  झन् बाह्रहाते पिँडालु।” भात खान पाउने आशा आशै रहन्छ।  विश्वव्यापी मानवाधिकार घोषणा, १९४८ को दफा १ पढ्दा यस्तै लाग्छ “प्रतिष्ठा र अधिकारका दृष्टिले सबै मान्छे जन्मजात समान हुन्छन्”।

यही हो अमेरिकाली स्वाधीनता घोषणाको पहिलो वाक्यको कानुनी र मानवीय आधार पनि। ठूला उपयोगितावादी विश्व प्रसिद्ध कानुनविद् जिरेमी बेन्थामका विचारमा  “मानवाधिकार अर्थात् प्राकृतिक नैसर्गिक अधिकार बस् गफ हो।

एउटा यस्तो अधिकार जो प्राकृतिक हुनेबित्तिकै नगण्य हुन्छ- एउटा भाषिक सिर्जना, बाँसका खुट्टामा हिँड्नुजस्तै।” हिँड्न त सकिन्छ तर पार लाग्दैन। जसरी आज रुस र अमेरिका युक्रेनी जनतालाई बमगोलाका माध्यमबाट भोगाउँदैछन्।

हो, हिजो सिरियामा भोगाए, अफगानिस्तानमा भोगाए। असली सार्थक चैँ मत्स्य न्याय अर्थात् जसको शक्ति उसको भक्ति नै रहेछ। यी महाप्रभुमध्ये कुनै अघि लागेपछि यस्ता आदर्श वाक्य कागजमा सीमित रहँदा रहेछन्, बस्। 

माछाको संसार सबैभन्दा आदिम पशुको संसार हो जब कि मनुष्यको संसार भने जैविक पशु भए पनि ज्ञान–विज्ञानको हिमाल ठड्याएको बौद्धिक संसार हो। उसको भौतिक संसार पनि यन्त्रमा बसेर उड्ने, गुड्ने, पौडिने, दौडिने उच्चतम सुविधाजनक मानवीय संसार भएको छ। जीवनको यस्तो उत्कृष्टता बिर्सिएर उसले साना छिमेकीलाई सताउने बेलामा चैँ माछाकै संसार खोज्नु बिडम्बना होइन र ?

चीनले तिब्बतलाई १९५० मा भोगायो, भारतले सिक्किमलाई १९७५ मा मिलायो। राष्ट्रसंघ, युरोपेली युनियनले हेर्दाहेर्दै सर्वियालाई च्यातेर कोसोभो बनाए, इराकी जनतालाई अचार बनाए। पाकिस्तानलाई दुई टुक्रा पारे।

एउटा किम इल सुङलाई महान बनाएर सारा उत्तर कोरियालाई सिन्के धूप पारिएको छ। म्यानमारको हालत उस्तै छ। ताइवान सधैँ धम्कीमै बाँचेके छ। .....विश्वभरि कतिकति। नेपालको लिम्पियाधुरा र अरु सयौँ सीमा मिचान भारत स्वधर्म ठान्छ।

लाग्छ, भाषाका शब्द भावहीन हुन्छन्। शास्त्र, कान'न, लेखक, पत्रकारका लेखन कागजमा मौन चिच्याइरहन्छन्। तर यथार्थ बाँसका खुट्टा नै भइरहन बाध्य हुन्छन् चेचन्या र युक्रेन जस्तै।  हाम्रा सुस्ता र मानेभन्ज्याङ जस्तै। मूलत: भारत र नेपालमा शरणार्थी बनेका अफगानी भुटानी र तिब्बती जस्तै। जहाँ देखायो त्यहीँ ठप्पा लगाउने भुटान, नेपालका स्वतन्त्रता जस्तै।

के साना मुलुक वा साना मान्छे स्वतन्त्र छन् त शब्दको वास्तविक परिभाषामा जस्तै?  द फाइल अफ काश्मिर चिच्याउँछ। हिजो पशुपति शर्मा आज प्रकाश सपूत चिच्याए जस्तै। भाषामा अक्षर लिएर शब्द र शब्द लिएर भाव बनिन्छ। तर, के व्यवहारमा पनि त्यो यथार्थ हुन्छ?

दलितसँग विवाह गरेमा पुरस्कार पाइने लेखाइ अट्टहास गर्छ जब चुटेर, गाउँ निकाला गरेर त्यस्तालाई व्यवहारले चरम यातनासहित सजाय गरिरहेको हुन्छ। विवाह त टाढा, चुलो छोएकोमा, चिया खाएको गिलास नमाझेकोमा, जात ढाँटेर डेरा लिएकोमा दलितहरू निर्मम चुटिन्छन्।

बोक्सी कहीँ हुँदैन तर गरिब दु:खीलाई त्यस झुट्टा आरोपमा चुटिन्छ, मलमूत्र खुवाइन्छ, मारी नै दिइन्छ तर कानुन रमिता हेरिबस्छ। भाषाको निर्जीव शब्द शक्तिवालका हातमा परेपछि सजीव भएर यथार्थ बनिन्छ।

यसको मतलब बेन्थामले भनेजस्तै प्राकृतिक अधिकार गफ मात्रै किन होइन? बाँसको खुट्टा किन होइन? जब त्यसमा चढेर अग्लो भएको भ्रम त जन्मिन्छ तर व्यवहारमा हिँडेर कहीँ पुगिँदैन?

जनताको स्वतन्त्रताको वकालत गर्ने आफूलाई पूर्व सोभियतसंघको हकवाला ठान्ने रुस बालक, वृद्ध, रोगी युक्रेनीलाई क्षतविक्षत पारिरहेको छ। धरतीमा जन्मिएका हरेक मान्छेले स्वतन्त्रतापूर्वक बाँच्ने र सुख पाउने अधिकार छ भनेर घोषणा गर्ने अमेरिका धमाधम हतियारको व्यापार गरिरहेको छ। त्यस हतियारले युक्रेनीहरूको रगत बगाइरहेको छ। आफूलाई संसारको मनुष्यका ज्यूधनको रक्षक दाबी गर्ने राष्ट्रसंघ वादविवादको पक्ष र विपक्षमा अलमलिइरहेको छ।

आखिर सभ्य र सभ्यताको डंका पिट्ने यी ठूला ठालूहरू नै कमजोर र अशक्तहरूका रगतको होली खेलिरहेका छन्, होइन र? जुनै गृहयुद्ध वा आन्तरिक आन्दोलन वा बाह्य युद्ध होस् फेला पर्ने भनेका उनै हुन् जो कमजोर र अशक्त हुन्छन्। कमजोर र अशक्त भनेका बालक हुन्, वृद्ध हुन्, रोगी हुन् र महिला हुन्। सशक्त जति उनका सिपाही र अशक्त जति उनका सिकार !

घुमीफिरी रुम्जाटार भनेजस्तै यति घुमफिर गरेर पनि पुगिने चैं उहीँ हो हाम्रा कविको महावाणीमा -

 “बडाले जो गर्‍यो काम हुन्छ त्यो सर्वसम्मत।

छैन शंकरको नंगा मगन्ते भेष निन्दित।।”

रुसी विमान युक्रेनको छातीमा ताकिताकी बम गोला वर्षाइरहेका छन्। युक्रेनको अर्थतन्त्र र ऊसँगको बाह्यव्यापार लथालिंग भइरहेको छ। तर, रुसलाई विश्व जनमतले गरेको उसको निर्मम आलोचनाको नली खुट्टाको रौँ जति पनि परवाह छैन।

भारत, चीन जस्ता ठूलाहरू उसैसँग गले लगाइरहेका छन्। अन्तत: ठूलाले जे गरे पनि स्वीकार्य हुने रहेछ। मत्स्यन्याय भनेको यही होला।  हरेक ठूला माछा हरेक साना माछालाई सुलुसुलु निलिरहन पाउँछन्। यता, साना माछा भने ठूला माछाका पेटमा पसेर कथित स्वतन्त्रताको डम्फु बजाइरहन्छन्, धाती न गुहारी।

चाहिएको त थियो मत्स्यन्याय नभएर मनुष्यन्याय जहाँ हरेक साना मुलुक ठूला मुलुक जत्तिकै स्वतन्त्र सार्वभौमसत्ताको उपभोग गरून्। तर, यथार्थ भने ठूला माछासँग रातदिन जी हजुरी गरेर र उनीहरूको कृपापात्र भएर।

मत्स्यन्याय माछाको संसारमा चल्नुपर्ने जहाँ माछाको संख्या र अनुभूतिस्तर प्रकृतिले तदानुसारै व्यवस्थित गरेकी हुन्छिन्। मनुष्यका संसारमा मनुष्यन्याय नै चल्नुपर्ने। किनभने मनुष्य संसारमा माछाको जस्तै आकार त ठूलो–सानो हुन्छ तर संख्या र अनुभूतिस्तर भने मनुष्यकै हुन्छ।

मनुष्यका संसारमा मनुष्य वा राज्य सानो ज्यानको भएपनि ठूलो ज्यानको मान्छे वा राज्यसँग घुँडा जोडेर बहस मुवाहिस गरिरहेका हुन्छन्। मत प्रयोजनमा समान हैसियतले मतदान गरिरहेका हुन्छन्। तर, यथार्थ धरातलमा उभिनेबित्तिकै यो पनि उही बेन्थामको परिभाषाजस्तै मात्रै होइन र? ठूलाको प्रभावबाट मुक्त रहन नसक्ने?

मान्छे होस् वा राज्य होस्, ज्यानको ठूलो, धनको ठूलो र मनको ठूलो र तीनै स्तरले सानोमा फरक त पर्ने नै रहेछ। तैपनि माछाको संसार र मनुष्यका संसारमा भौतिक–बौद्धिक दुवै दृष्टिले आकाश–जमिनको फरक हुनुपर्ने।

माछाको संसार सबैभन्दा आदिम पशुको संसार हो जब कि मनुष्यको संसार भने जैविक पशुता भए पनि ज्ञान–विज्ञानको हिमाल ठड्याएको बौद्धिक संसार हो। उसको भौतिक संसार पनि यन्त्रमा बसेर उड्ने, गुड्ने, पौडिने, दौडिने उच्चतम सुविधाजनक मानवीय संसार भएको छ। जीवनको यस्तो उत्कृष्टता बिर्सिएर उसले साना छिमेकीलाई सताउने बेलामा चैँ माछाकै संसार खोज्नु विडम्बना होइन र?

आज मान्छे वस्त्राभूषणबाट सज्जित भएर वातानुकूलित भवनमा बस्छ र विश्वव्यापी अदालत र संगठनहरूमा विश्वव्यापी भाषिक प्रणालीमा समाजशास्त्र, कानुनशास्त्र र नीतिशास्त्रका विचार विमर्श चलाउँछ।

यो स्तरको उसको ज्ञान–विज्ञान, निर्माण–आविष्कार त मनुष्यको रोदन–क्रन्दनको उन्मूलन, हाँसी खुसीको बहार र युद्ध जन्य विभिषिकाको अन्त्यका निमित्त उपयोग हुनुपर्ने होइन र? ठीकविपरीत बमगोला पड्काएर विश्वका आधाभन्दा बढी मान्छेलाई अंगभंग गराएर र भोकैतिर्खै राखेर विजयको नाक घोक्र्याउनु सभ्य हुनु हो कि पूर्व ढुङ्गे युगतिर फर्किनु हो?

लाग्छ मान्छे आफैँले सिर्जेको मनोविज्ञानको अब्सेसिभ डिस्सोसिएसन कम्प्लेक्सको सिकार भएको छ। पुर्ख्यौली भन्दैमा, गरी ल्याएको भन्दैमा, त्यसका आदत र साधन सँगै छन् भन्दैमा अम्मलीले जस्तै कहिलेसम्म गलत परम्परा छोड्न नसक्ने?

असल मान्छेले त बेठिक भनेर देख्नेबित्तिकै, हानिकारक भन्ने थाहा पाउनेबित्तिकै, असुहाउँदो भनेर चिन्नेबित्तिकै त्यसलाई परित्याग गरेर ठिक र लाभदायक र सुहाउँदो चाहिँ अपनाउनुपर्छ होइन र? त्यही प्रगतिशीलता र त्यही सर्भाइभल अफ द फिट्टेस्टको सार होइन र? के त्यही होइन र

“सर्वे भवन्तु सुखिनः। सर्वे सन्तु निरामया। सर्वे भद्राणि पश्यन्तु। माँ कश्चिद् दुःख भाग्जने”को सार?

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.