|

दाङ :  नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले माओवादीविना यो देश नचल्ने दाबी गरेका छन्।

बिहीबार तुलसीपुर उपमहानगरपालिका १८ वडाको पार्टीको कार्यालय उद्घाटन कार्यक्रममा यस्तो दाबी गरेका हुन्।

उनले भने, ‘अहिले पनि माओवादीहरूलाई सिध्याउन चाहन्छन्। माओवादीहरूलाई माथि उठ्न दिनु हुँदैन भन्ने तत्त्व पनि छन्। माओवादीका कारण आएको परिवर्तन कहिले पनि सिद्धिँदैनन्। त्यो कहिले पनि पछाडि फर्किदैन। माओवादी नभए यो देश चल्दैन।’

त्यस्तै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले समेत एक कार्यक्रममा माओवादीविना देशमा परिवर्तन सम्भव नभएको भनेको स्मरण गराउँदै माओवादी यो देशको महत्त्वपूर्ण शक्ति भएको समेत उल्लेख गरे। उनले माओवादी पार्टी श्रमिक जनताको पार्टी भएको समेत बताए।

उनले माओवादी पार्टी वर्गीय रूपमा श्रमजीवी जनताको पार्टी भएको भन्दै यसलाई बिर्सन नहुने र पार्टी सर्वहारा वर्गीय विज्ञानप्रति कर्तव्यनिष्ठ भएको दाबी गरे।

उनले भने, ‘हामी सिद्धान्तमा हिँडेका छौँ। हामीले श्रमजीवी जनतालाई छोड्दैनौँ। काम गर्ने वर्गको मुक्तिका लागि कुरा गर्ने कम्युनिष्ट पार्टीहरू धेरै छन् तर उनीहरू भ्रम फैलाउँछन्।’

त्यस्तै उनले अरू पार्टीले सिद्धान्तभन्दा पनि विकास निर्माणमा मात्र हेर्ने र एकछिन पछि सकिने भएकाले माओवादी पार्टीले सिद्धान्त र विकास निर्माणलाई सँगै लैजाने पार्टी भएकाले फरक भएको बताए।

त्यस्तै उनले श्रमजीवी जनताको अधिकार प्राप्तिका लागि बुर्जुवा वर्गसँग अझै लडाइँ जारी रहेको समेत बताए। शान्तिपूर्ण तरिकाबाट भए पनि अधिकारका लागि लडाइँ जारी रहेको उनको भनाइ थियो।

त्यस्तै उनले हिजो माओवादी सानो भएको र अहिले विशाल हुँदै गएको समेत उल्लेख गरे।

त्यस्तै फरक प्रसङ्गमा बोल्दै नेता महराले पार्टीले घाइते, अपांग तथा बेपत्ता पूर्व जनमुक्ति सेनाका लागि काम गर्दै आएको भएयता पनि अहिले त्यो विषयमा अन्तरराष्ट्रिय लडाइँ भएको बताए।

उनले बेपत्ताहरूका लागि खोजबिन गर्ने कमिटी बनेको भन्दै त्यसले काम गर्न शुरु गरे पनि एकथरी मानिसहरूले मेलमिलापमा नभई यसलाई सजायका रूपमा लैजानुपर्छ भन्दै आएको बताए।

उनले भने, ‘सशस्त्र द्वन्द्वका क्रममा मारिने र मार्नेबीचको द्वन्द्व समाधान गर्नुपर्छ भन्ने हाम्रो धारणा हो। मेलमिलाप हुनुपर्छ भन्ने हो तर यहाँ एकथरिका मानिसहरूले मेलमिलापभन्दा सजायमा लैजानु पर्छ भन्दै उचालेका छन्।’

त्यस्तै उनले प्रधानमन्त्री देउवाले पनि ५ दलीय गठबन्धन चुवानसम्म मात्र नभई चुनावभन्दा पनि पछिसम्म हुने भनेको भन्दै देशलाई असंवैधानिक कदमतर्फ तिर लग्ने तत्त्वहरूका विरुद्धमा गठबन्धन भएको बताए।

उनले यो गठबन्धनबाट मात्र गठबन्धका विरोधीहरूलाई परास्त गर्न सकिने भन्दै गठबन्धनमा भएका पार्टीहरूसँग हात मिलाएर अगाडि बढ्न कार्यकर्ताहरूलाई आग्रह गरे।

उनले अबको केही समयमा तीनवटै तहको चुनाव आउन लागेको भन्दै त्यसमा जित्नका लागि पनि तयार गर्न आग्रह गरे। उनले प्राविधिक रूपमा माओवादी पार्टी कमजोर भएको भन्दै सोझो रूपमा राजनीति गर्दा पछाडि परेको समेत बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.