|

म्याग्दी : बेनी नगरपालिका–३ भकिम्लीको कोप्रेभिरको जंगलमा एक पुरुषको शव बिहीबार (आज) दिउँसो फेला परेको छ।

गत कात्तिक २० गते भकिम्ली डाँडाखानी ससुरालीबाट फर्किदै गरेका बेनपा–१ अर्जमका भीमबहादुर श्रेष्ठको शव सडेगलेको अवस्थामा फेला परेको हो। 

भिरमा अड्किएको अवस्थामा भेटिएको शव कपडाको माध्यमबाट पहिचान भएको खोजीमा संलग्न विनोद प्रधानले जानकारी दिए।

मृतकले लगाएको कपडा र हुलिया मिलेपछि प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङ, मृतकका आफन्त र स्थानीय बासिन्दासहितको टोली घटनास्थलमा पुगेको थियो।

तिहारको भाइटीकाको दिनमा बहिनीका घरबाट फर्किने क्रममा कसैले श्रेष्ठमाथि आक्रमण गरी भिरबाट खसालेको हुनसक्ने अनुमान स्थानीयले गरे पनि प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ। 

मृतकको शवको केही भाग आसपासका क्षेत्रमा भेटिएकाले जंगली जनावरले खाएजस्तो देखिएको प्रत्यक्षदर्शी कर्ण प्रधानले बताए। मृतक श्रेष्ठ घर फर्किने क्रममा सम्पर्कविहीन भएको स्थान आसपासको भिरबाट सिधै तल शव भेटिएकाले घटना शंकास्पद देखिएको स्थानीयको भनाइ छ। 

शवलाई प्रहरीले पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाउने जनाइएको छ। बेपत्ता श्रेष्ठको खोजीका लागि स्थानीयको सक्रियतामा ज्यामरुककोट र भकिम्लीको सिमानामा पर्ने सौतासौती भन्ने ठाउँमा ड्रोनको समेत प्रयोग गरिएको थियो। 

बेपत्ता श्रेष्ठको मानसिक अवस्था समेत समान्य थियो भने परिवारमा कुनै समस्या नभएकाले घटना नियोजित भएको परिवारका सदस्यको भनाइ छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.