|

विराटनगर : नेकपा माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा तीनजनाले दाबी गरेका छन्। माओवादी केन्द्र प्रदेश १ को मंसिर २५ र २६ गते हुने पहिलो अधिवेशनबाट नेतृत्वका लागि तीन नेताले अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका हुन्।

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, माओवादी केन्द्रका वर्तमान अध्यक्ष सुरेशकुमार राई हिमाल र प्रदेश सचिव हेमराज भण्डारीले अध्यक्षमा दाबी गरेका हुन्।

अध्यक्षको दाबी गरिरहेका आङ्बोले अधिवेशनमा प्रदेश १ को अर्थ राजनीतिक विषयलाई समेटेर कार्यपत्र प्रस्तुत गर्दै छन्। अध्यक्ष राईले सांगठनिक तथा राजनीतिक प्रतिवेदन पेश गर्नेछन्।

माओवादी केन्द्रले सम्मेलनबाट विचारको बहस गर्ने नेताहरूले बताएका छन्। यसका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिवेदन लेखेका छन्।

अध्यक्षको दाबेदारीमा आङ्बो पनि सशक्त रूपमा प्रस्तुत भएका छन्। केन्द्रबाट हस्तक्षेप भए निर्वाचन हुनेछैन।

‘राई र आङ्बोले अध्यक्षमा उठ्ने तयारी गरिरहनु भएको छ’, माओवादी केन्द्रका एक नेताले भने, ‘दुवै पक्ष निर्वाचनमा जाने तयारीमा हुनुहुन्छ।’

केन्द्रले हस्तक्षेप गरे चुनाव नहुन सक्ने उनले स्पष्ट पारे। 

विद्यार्थी संगठन र माओवादी निकट पत्रकारहरूको संगठनमा पार्टीको हस्तक्षेप देखिएको बताउँदै उनले चुनाव हुने सम्भावना कम रहेको बताए।

माओवादी केन्द्रका अन्य पदाधिकारी र सदस्यहरूमा दाबेदार कम छन्। अध्यक्षमा निर्वाचन हुने अवस्था रहे पनि पदाधिकारीमा सहमति हुने एक नेताले बताए।

एक हजार १ सय ४० प्रतिनिधि सहभागी हुने

अध्यक्ष सुरेशकुमार राईका अनुसार अधिवेशनमा १ हजार १ सय ४० जना प्रतिनिधि तथा स्वयंसेवक गरी १५ सयको सहभागी हुनेछन्।

अधिवेशनका लागि प्रदेशका १ सय ३७ स्थानीय तहबाट पार्टी सदस्य संख्याको आधारमा पालिकाहरूबाट ६ सय प्रतिनिधि आउनेछन्।

अधिवेशनमा आयोजक समितिका ९७ जना, ज्येष्ठ कम्युनिष्ट मञ्च प्रदेश १ बाट ८० जना, प्रदेश सल्लाहकारहरू सय जना र विभागबाट ३२ जना सहभागी हुनेछन्। प्रदेशका प्रतिनिधिको कुल १० प्रतिशत अर्थात् ९१ जनालाई प्रदेश आयोजक समितिले मनोनीत गर्नेछ।

मोरङको विराटचौकको जेसिस भवनमा हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट गर्नेछन्। प्रदेश अधिवेशनबाट १ सय ७५ जनाको कार्यसमिति निर्वाचित हुनेछ। १ सय जनाको हाराहारीमा राष्ट्रिय सम्मेलनका प्रतिनिधि चयन हुनेछन्।

प्रदेश समिति पदाधिकारीसहित बढीमा १ सय ७५ जनाको हुनेछ। समितिमा ३५ प्रतिशत महिला र १५ प्रतिशत दलितको प्रतिनिधि अनिवार्य हुने व्यवस्था माओवादीले गरेको छ। यस्तै प्रदेशमा अध्यक्ष, एक महिला अनिवार्यसहित ३ उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष हुनेछन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.