|

चौतारा : परपुरुषसँग मिलेर सिन्धुपाल्चोककी एक महिलाले श्रीमान्‌को हत्या गरेकी छिन्। जिल्लाको जुगल गाउँपालिका ३, गुम्बाथानमा सोमबार ३९ वर्षका छेवाङ लामाको हत्या भएको हो।

लामाको हत्या अभियोगमा प्रहरीले निजकी श्रीमती २८ वर्षीया निमा साङ्बो तामाङ र सोही ठाउँका ३६ वर्षका कान्छालाल लामालाई पक्राउ गरेको छ।

उनीहरूबीच अनैतिक सम्बन्ध रहेको हुनसक्ने समेत प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए।

मृतक लामा ६ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेकोमा हालैमात्र घर फर्केका थिए। घरमा श्रीमतीको मोबाइलमा अत्यधिक फोन आउने गरेको थाहा पाएपछि उनले सो फोन १ दिन लिएर सिमकार्ड फेरी पुनः फिर्ता गरेको थाहा भएको प्रहरीले जनाएको छ।

श्रीमान्‌ले आफूहरूको सम्बन्धबारे थाहा पाउने डरले उनीहरूले योजनाबद्ध रूपमै हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यस्तो छ घटनाक्रम

मृतक लामाको घर र ससुराली एउटै गाउँ हो भने शंकित लामा समेत सोही स्थानका बासिन्दा हुन्। मृतक लामा ससुराली घरमा साँझ खाना खाएर घर फर्किने क्रममा ससुरालीबाट करिब १ सय मिटर पर उनको हत्या भएको थियो।

ससुरालीबाट फर्केको केही बेरमा उनले चिच्याएर सालोलाई बोलाए पनि डरका कारण सालो केही ढिला गरी स्थानीय छिमेकी जम्मा गरेर भिनाजुको घरतर्फ गएका थिए।

घरमा भिनाजुलाई नदेखेपछि उनीहरू पुनः सोही बाटो फर्कदा बाटोमा भिनाजुको मोबाइल फुटेको अवस्थामा भेटेपछि खोजी शुरु भएको थियो।

बाटोभन्दा केही तल अर्धनग्न भई खोल्छामा घोप्टो परी नलले छोपिएको अवस्थामा शव फेला परेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए।

तत्काल प्रहरी चौकी तेम्बाथान कात्तिके, इलाका प्रहरी कार्यालय, जलविरे र जिल्ला प्रहरी कार्यालयबाट टोली खटिई गई घटनास्थलको छानबिन र स्थानीयसँगको कुराकानीको आधारमा नजिकैको गोठमा लुकी राखेको अवस्थामा उनीहरूलाई सोही राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला अदालत, सिन्धुपाल्चोकबाट ७ दिनको म्याद थपी हिरासतमा राखिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.