|

विराटनगर : नेपालको संविधानले लैगिंक रुपमा विभेद गर्नुलाई दण्डनीय अपराध मान्छ।

तर, यही समाजमा एउटा यस्तो तप्का पनि छ, जसले आफ्नो लैगिंक पहिचानकै आधारमा पाइलैपिच्छे अपमान र पीडा खेप्नु परिरहेको छ।

लैगिंक विभेदको यही दुष्चक्रमा परेका तेस्रोलिंगीहरु अपमानपूर्ण दैनिकी बिताउन बाध्य छन्।

उनीहरु समाजमा मात्रै होइन, पारिवारिक हेला र होच्याइँको शिकारसमेत बनेका छन्। तेस्रोलिंगीहरुको अवस्था कस्तो छ भन्ने जान्न थाहाखबरले पछ्याएर कुरा गरेकी एक जना तेस्रोलिंगीको अवस्थाले छर्लङ्ग पार्छ।

हालैको एक साँझ। विराटनगर बसपार्क क्षेत्र गुल्जार छ। त्यही क्रममा एउटा दृश्य देखिन्छ।

‘जाने हो ?’ गाडीको हर्नसँगै आएको मोटो आवाजले आफ्नै रफ्तारमा कुदिरहेको बाइक रोकियो।

अग्ली, कर्ली कपाल। छोटो स्कर्टमा स्लिपलेस (छोटो टिसर्ट) लगाएकी अमृता (नाम परिवर्तन) बाइकअगाडि ठिङ्ग उभिइन्।

खुलेर भन्नुपर्दा उनी ‘तेस्रोलिङ्गी’ यौन व्यवसायी हुन्। उनी बेलामौका विराटनगर बसपार्क क्षेत्रमा भेटिन्छिन्।

त्यही बसपार्कमा साँझको समय अमृताको आवाजले रोकिएको बाइकवाला मुन्टो हल्लाउँदै उनलाई धकेलेर आफ्नो गन्तव्यतर्फ अगाडि बढ्यो।

‘उफ! आज त कसैले पनि लाइन मार्दैन त यार!,’ छेवैको साथीसँग लेपासिँदै उनले दुखेसो पोखिन्।

केही समयको अन्तरालमा प्रहरी भ्यानको साइरन बजेसँगै उनी र उनका साथीहरु तितरबितर भए।

प्रहरीको लखेटाइपछि आफ्नै बाध्यता र परिस्थितिलाई गाली गर्दै गर्दा विराटनगरको गल्लीमा भेटिएकी अमृताले ७ वर्षको उमेरदेखि आफूले छोरी भएको महसुस गरेको सुनाइन्।

 ‘म ७ वर्षको हुँदादेखि आफूलाई छोरी भन्न रुचाउँथे, बाआमाले छोराको नामले बोलाउनु हुँदा रिस उठ्थ्यो,’ उनले सम्झँदै भनिन्, ‘दिदीहरुको लुगा लगाएर मेकअप गर्थें, मेरो स्वभाव देखेर आमाले धेरै पटक पिट्नुभएको छ।’

 ४ सन्तानमध्ये अमृताले छोराका रुपमा जन्म लिएकी थिइन्। उनी जन्मेको समय उनको घरमा उमङ्ग छाएको थियो।

छोरी मात्र जन्माएको भन्दै दिनरात बाको कचकच सुन्नुपर्ने आमाको कानले केही वर्ष विश्राम पाएको उनले सुनाइन्।

तर, अमृताको उमेर बढेसँगै एक्कासी बदलिएको स्वभावले पुनः उनको परिवारमा अशान्तिले डेरा जमाएको उनले बताइन्।

‘मेरा कारण बुवाले आमालाई फेरि कचकच गर्न थाल्नु भयो। मलाई मानसिक, शारीरिक यातना दिन थाल्नु भयो,’ उनले निर्धक्क पीडा फुकाउँदै सुनाइन्, ‘धेरै पटक घरबाट निकाल्न खोज्नुभयो तर, आमाको कारणले म घरबाटै निकाला भने भइनँ जे भए पनि आमा हो नि हैन? जस्तो भए पनि सन्तानको माया हुँदोरहेछ।’

घरभित्र आमाको ममताले आत्मसम्मानमा ठेस लाग्न नदिए पनि घरबाहिर साथीभाइ र गाँउलेको रुखो व्यवहारले उनलाई आफ्नो जीवन बोझझैँ लाग्ने गरेको पीडा उनले पोखिन्।

स्कुल जाँदा होस् या गाउँमा उनलाई साथीभाई, छिमेकीहरूले ‘तँ छ....’ भनेर सम्बोधन गर्दा धेरै पटक आत्महत्या गर्ने कोसिस नगरेकी पनि होइनन् उनले।

‘साथीभाइ, छिमेकीहरुको टर्चरले मलाई बाँच्न मन नै लाग्दैनथ्यो,’ रसाएको आँखा लिएर उनले भनिन्, ‘तर, अरुको लागि यो सुन्दर जीवन किन खतम गर्नु भनेर हिंसा सहेर बाँचे र आज पनि बाँचेकी छु।’

उनलाई पढेर सम्मानका साथ केही राम्रो काम गर्ने इच्छा नभएको पनि होइन तर, परिवर्तन हुँदै गएको उनको जीवनशैली र स्कुलमा साथीहरुले जिस्काएकै कारण उनले कक्षा ३ भन्दा माथि अध्ययन गर्न सकिनन्।

समाजको खिसिटिउरी र बुवाले दिएको पीडा सहन नसकेर १४ वर्षको उमेरमा घर छाडेर हिँडेकी अमृता आमाको मृत्यु हुँदा ९ वर्षपछि घर पुगेकी थिइन्।

घर पुग्दा मृत आमाको अनुहारसम्म हेर्न नपाइ बुवाले घरको आँगनबाट लखेटेको उनले सुनाइन्।

‘बुवाको त्यो व्यवहारले झनै मन दुखेको छ, सायदै अब घर जान्न होला,’ उनले भनिन्, ‘अब त आमा पनि हुनुहुन्न, आत्मसम्मानभन्दा ठूलो परिवार होइन क्यारे।’

 घरबाट निस्किएर हिँडेपछिका अभाव, भोको पेट र नाङ्गो खुट्टाले विराटनगरको तातो सडक र कठ्याङग्रिने चिसोको अनुभूतिले जीवन जिउन थप बलियो बनाएको उनले बताइन्।

गाँउको पीडा भुलाउन सम्भावनाको खोजी गर्दै शहर भित्रिएकी अमृता शहरले झनै थेगी नसक्नुको पीडा दिएको उनी सुनाउँछिन्।

‘गाँउमा धेरै पीडा खेपेर शहर भित्रिएकी म यो शहरले त झन धरै पीडा थपिदिएको छ’, उनले विगत सम्झँदै सुनाइन्, ‘आफ्नो कोही थिएन सडकमा नै मेरो बास हुन्थ्यो प्रहरीको लात्ती र छ...... भन्ने शब्दले धेरै पीडा हुन्थ्यो।’

विराटनगर, इटहरी, दमकका पसल, होटलहरुमा कामको खोजीमा भौंतारिँदै गर्दा उनले धेरै अपमान बेहोर्नुपरेको उनले सुनाइन्।

करिब ३ वर्ष लामो सडकको बसाइमा साँझको समय विराटनगरको बसपार्कमा उनले आफूजस्तै स्वभावका साथीहरु भेटिन्।

त्यसपछिका दिनमा सडकको बासलाई बिट मार्दै जीवनको यात्रा मोडिएको उनले सुनाइन्।

साथीहरुसँग मिलेर काम खोज्दै जाँदा आफूहरुलाई ‘अभासी लाग्छ’ भन्नेजस्ता शब्दले गालीगलौज गर्दै लखेटेका विविध घटनाले पनि यौन व्यवसायमा लाग्नुपरेको उनले सुनाइन्।  

तेस्रोलिङ्गी यौन व्यवसायमा लाग्नु रहरभन्दा पनि बाध्यता धेरै भएको उनले दुखेसो पोखिन्।

‘रहरले कसैले  खराब काम गर्छ र ?' प्रश्न गर्दै उनले सुनाइन्, ‘काम खोज्दै जाँदा तिमीहरुको अनुहार हेर्नु हुँदैन, अभास लाग्छ भन्दै लखेटेपछि हामी के गर्नु ? बाँच्नु त पर्‍यो नि जसोतसो।’

‘धेरैको प्यास मेटाएकी छु,’ उनले आफ्नो भोगाइ सुनाउँदै भनिन्, ‘मन हुनेले एक हजारदेखि २ हजारसम्म दिन्छन्, नहुनेले छ...... भन्दै गाली गर्दै रक्सी खुवाएर प्यास मेटाउँछन्।'

घरिघरि प्रहरीको गाली, पिटाइले आजित बनेकी अमृतालाई सबै छोडेर केही व्यवसाय गर्ने इच्छा नभएको पनि होइन्।

तर, अभावसँग जुध्दै भोको पेटलाई मात्रै महसुस गरेकी उनी आफूले अंगालेको पेसा नै सहज लाग्ने बताउँछिन्।

आफूहरु राज्यबाट पनि उपेक्षित भएको गुनासो गर्दै उनी भन्छिन्, ‘सरकारले शिपमूलक तालिम र काम दिए सडक ढुक्नुपर्ने बाध्यताबाट मुक्त हुने थियौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.