|

विराटनगर : प्रदेश १ का सामाजिक विकासमन्त्री जयराम यादवले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नियन्त्रणका लागि राम्रो तयारी भइरहेको बताएका छन्।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज (बुधबार) विराटनगरमा आयोजना गरेको शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा सरोकारवालाबीच गरिएको प्रदेशस्तरीय अन्तरसंवाद कार्यक्रममा सम्बोधन गर्दै मन्त्री यादवले कोरोना संक्रमण नियन्त्रणका लागि विगतमा भएका तयारीभन्दा राम्रो भइरहेको बताएका हुन्।

उनले १४ वटै जिल्लामा सञ्चालित कोभिड उपचार केन्द्रहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको जानकारी गराउँदै प्रदेश सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा पनि शय्या थपिने बताए।

‘कोभिड अस्पतालमा करिब २ सय शय्या तयारी अवस्थामा छ’, उनले भने, ‘अक्सिजन र भेन्टिलेटर शय्या पनि थपिएको छ।’ प्रदेश सरकार कोरोनाको नयाँ भेरियन्टको नियन्त्रणका लागि सजग रहेको मन्त्री यादवले दावी गरे।

कोरोना संक्रमण हुन नदिन स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन उनले आग्रह गर्दै साहस नै रोगको उपचार भएकाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाए कोरोनाबाट डराउनु नपर्ने मन्त्री यादवको भनाइ थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.