|

विराटनगर/झापा/भक्तपुर :  अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै विराटनगरका विभिन्न जलाशयमा उल्लासका साथ छठ पर्व मनाइएको छ।

४ दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठको तेश्रो दिन आज (बुधबार) साँझ विराटनगरलगायत तराईका विभिन्न स्थानका जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै धुमधामका साथ चैती छठ मनाइएको हो।

छठमा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोटलगायतले नदी किनार भरिभराउ भए।

सोमबारदेखि सुरु भएको छठअन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई र भोलि बिहान (बिहीबार) उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न हुनेछ। 

तस्वीरमा विराटनगरको छठः

यसैगरी झापामा पनि छठ हर्षोल्लासका साथ मनाइएको छ।

अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएर जिल्लाका नदी तथा खोला किनारमा छठ मनाइएको हो।

मेची निन्दा, हडिया, बिरीङ, मावा, अदुवा, कन्काईलगायत नदीका किनारमा व्रतालु तथा भक्तजनको घुइँचो लागेको थियो।

अघिल्लो वर्ष कोरोना महामारीले घर आँगनमै छठ मनाउनु परेकोले यस वर्ष नदी किनारमा दर्शनार्थीको उल्लासमय उपस्थिति थियो।

यता सीमावर्ती नाकासँग जोडिएको भद्रपुर–५ स्थित मेची किनारमा नेपाल तथा भारत दुवै देशका व्रतालु परिवारजनहरू एकै ठाउँमा आएर छठ मनाउँदा यसको छुट्टै महत्त्व र पहिचान रहेको छ।

नदी किनारको मसानघाटदेखि मेची पुलको मुख्यद्धार हुँदै देवी बस्तीसम्मको करिब डेढ किलोमिटर वारीपारी करिब ५ हजारभन्दा बढी पूजास्थलमा व्रतालु परिवारजनले पानीमा उत्रिएर सूर्य भगवानको पूजा आराधना गरी अर्घ्य चढाएका थिए।

मधेसी समुदायबाहेक अहिले साझा पर्वको रूपमा पहाडी, मारवाडी, बङ्गाली, राजवंशीलगायत समुदायले मेचीमा छठ मनाएका छन्।

मेची किनारमा व्रतालु तथा भक्तजनहरूको सुरक्षाका लागि नेपाल प्रहरीका ट्राफिकसमेत गरी १ सय ५०, सशस्त्र प्रहरी ६० परिचालन गरिएको वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर दलकुमार राईले जानकारी दिए।

तस्वीरमा झापाको छठः

भक्तपुर कमलपोखरीमा पनि छठ पर्व मनाइएको छ।

सद्भाव र भ्रातृत्वको प्रतीक छठ कमलपोखरीमा छठीमाताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई जलको अर्घ्य दिएर बडो हर्षोल्लासका यो पर्व मनाइएको हो।

विशेषगरी तराईवासी र मधेसी समुदायले मनाउने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यका र अन्य समुदायमा समेत लोकप्रिय बन्दै गईरहेको छ।

भक्तपुरको कमलपोखरीमा मधेसी समुदायले मात्र होईन पहाडी समुदायले समेत छठीमाईको पूजा गरी छठको ब्रत बसेका छन्।

पौराणिक ग्रन्थ महाभारतका अनुसार पाँच पाण्डवको गुप्तवासका क्रममा पाँच पाण्डवसहित द्रौपदीले सूर्यको आराधना गरी गुप्तवास सफल होस् भनी कामना गरी यो ब्रत लिएका थिए।

सोहीअनुसार छठको ब्रतको परम्परा सुरु भएको जनविश्वास रहेको छ।

महाभारतकै अर्को कथामा कर्णको अथाह शक्ति र ऐश्वर्य छठको ब्रतको प्रभावस्वरुप प्राप्त भएको उल्लेख पाईन्छ।

​तस्वीरमा भक्तपुरको छठः

(विराटनगरबाट सुजता लिम्बू, झापाबाट पार्थ मण्डल र भक्तपुरबाट लक्ष्मी गारु)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.