|

काठमाडौं : नेपाल सुनचाँदी व्यवसायी महासंघले यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताएको छ।

सोमबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले गत वर्षको तुलनामा यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताएका हुन्।

उनले विगतका दुई वर्षमा कोरोना भाइरसका कारण व्यापार हुन नसकेको भए पनि यस वर्षको चाडवाडमा अपेक्षा अनुसारकै व्यापार भएको बताए। अध्यक्ष शाक्यले चाडवाडपछिका केही दिन बजार सुस्त भए पनि सरकारले प्रतिदिन तोकेको २० किलो सुनको आयात भइरहने हुनाले चाडवाडमा बिक्री भएर सकिएको ठाउँको परिपूर्ति हुने बताए।

उनले मंसिर महिनाबाट विवाहको लगन हुने भएकोले त्यो बेलामा पनि राम्रो व्यापार हुने कुरामा आशावादी रहेको बताए। अध्यक्ष शाक्यले कोरोनाविरुद्धको भ्याक्सिन लगाइसकेपछि सुनचाँदीको व्यापारले पनि राम्रो लय समातेको बताए। दशैँ र तिहारको बेलामा प्रतिदिन सुनको व्यापार ४० किलो र चाँदीको व्यापार १ हजार किलोसम्म भएको बताए। 

अध्यक्ष शाक्यले भने, ‘यसपालि सुनचाँदी व्यापारको कुरा गर्नुपर्दा, पोहोर साल कोरोनाको कारणले गर्दा व्यापारमा नराम्रो प्रभाव परेको थियो, त्यसको तुलनामा यस वर्ष उत्साहजनक व्यापार भएको छ, यस वर्षको दशैँमा दिनको ४० किलोको हाराहारीमा सुनको बिक्री भएको छ।'

दशैँपछि तिहारको बेलामा लगभग ४० किलोको हाराहारीमै दैनिक व्यापार भइरहेको पनि उनले बताए।

धन्तेरसको दिनमा लगभग ५० किलोको हाराहारीमा माग आएको पनि उनले सुनाए। त्यस्तै, प्रतिदिन १ हजार किलो हाराहारीमा चाँदीको माग आएको उनले बताए।

 उनका अनुसार धन्तेरसको दिनमा मात्रै तिहारमा २ हजार केजीसम्म चाँदीको माग आएको थियो। यो वर्षको चाड सुनचाँदी व्यवसायको लागि राम्रो रहेको उनले सुनाए।

'मंसिर महिनादेखि विवाहको लगन शुरु हुँदैछ, त्यसमा पनि हामी आशाप्रद रुपमा राम्रो व्यापार होला भन्ने आशामा छौँ' अध्यक्ष शाक्यले भने, 'सुनचाँदीको बजारले राम्रो लय समातेको छ, हामीले गरगहना बनाउने डिमाण्डलाई सुन नपुगेकाले काँचो सुन उपलब्ध गराउन सकेका छैनौँ।’

अध्यक्ष शाक्यले सरकारले सुनचाँदी सप्लाइ (वितरण) को नियमलाई वैज्ञानिक र पारदर्शी बनाउन आवश्यक रहेको बताए।

अध्यक्ष शाक्यले सप्लाइको सिस्टमलाई वैज्ञानिक र पारदर्शी बनाउन जरुरी रहेको पनि बताए।

सुनको आपूर्तिको व्यवस्थापन गर्नको लागि काठमाडौंमा नै आएर सुन किन्नुपर्ने जुन बाध्यात्मक परिस्थितिलाई परिवर्तन गर्नुपर्छ भन्नेमा आफूहरू रहेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.