|

टेलिभिजनमा नयाँ समाचार प्रमुख आउने भए। समाचार कक्षमा खुसियाली छायो। शुभ साइतमा टेलिभिजनले उनलाई भित्र्यायो। तर, पुराना पत्रकारसँग तत्काल काम गर्ने मनस्थितिमा देखिएनन् उनी।​ टेलिभिजननजिकै होटलमा ‘सम्पर्क कार्यालय’ खोलेर बसे।

नयाँ पत्रकारको खोजी तीव्र पारियो।​ पुरानाको पनि अन्तरवार्ता लिइयो। अढाइ महिनापछि ‘जम्बो टोली’सहित समाचारप्रमुख टेलिभिजन प्रवेश गरे।

आउनेबित्तिकै सहकर्मी पत्रकारको कित्ता छुट्याए, ‘नयाँ’ र ‘पुराना’। पहिले काम गरिरहेकाहरू– पुराना। समाचार प्रमुखसँग आउने– नयाँ।

सिसा लगाएको ‘क्याबिन’मा नयाँ टोलीसँग छलफल गर्थे, उनी।अनेक दोष देखाएर पुरानालाई हतोत्साही बनाउँथे। अधिकांश पुराना पत्रकार समाचार प्रमुखको कोपमा परेर विस्तारै बिदा भए।

समय एउटै रहेन। नयाँ भनिएकाहरू पनि विस्तारै समाचार प्रमुखसँग चिढिन थाले। ‘सुनको अण्डा पार्ने’ आसमा समाचार प्रमुखलाई ल्याउने मालिक पनि निराश भए। डेढ वर्ष बितेपछि महिनाको अन्तिम दिन पारेर समाचार प्रमुखले बैठक राखे। सहकर्मी भन्दै थिए, ‘यो समाचार कक्षको नियमित बैठक होइन, विशेष छ।’

अनुमान सही थियो। बैठकमा समाचार प्रमुखले आधा घण्टा लामो मन्तव्य दिए।

सार यस्तो थियो–

‘जे सोचेर आइएको थियो, पूरा गर्न सकिएन। २१ औँ नम्बरमा परेर निस्किँदै छु। हाम्रो सञ्चार क्षेत्र सानो छ, यही काठमाडौंको सेरोफेरो।

चाँडै नै कतै भेट होला, साथीहरू निराश नहुनुहोला।’

उनी बाहिरिँदै गर्दा सहकर्मी खासखुस गर्दै थिए, हाकिम आफैँले रोपेको बिउको फल खाएर निस्किए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.