'यतिबेला हामी घरमा लुकिरहेका छौं, हामीले कैदको फैसला गरेका अपराधी अहिले स्वतन्त्र छन्'

|
बिबिसी

तालिबानले अफगानिस्तान कब्जा गरेपछि देशभित्रका करिब २ सयभन्दा बढी महिला न्यायाधीश लुक्न विवश बने।

कट्टरपन्थी तालिबानले देश कब्जा गरेसँगै उनीहरूले आफ्ना सदस्य जेलबाट निकालेका थिए। कैदीहरू मुक्त गरिए। तीमध्ये केही अपराधी यस्ता थिए जो कुनै समय महिला न्यायाधीशहरूले सजाय तोकेर जेलको चिसो हावा खाइरहेका थिए।

तीमध्ये २६ जना महिला न्यायाधीश हालै अफगानिस्तानबाट भाग्न सफल भएका हुन्। ग्रीसमा सुरक्षित बसेका उनीहरूसँग बिबिसीले गरेको कुराकानीमा देशबाट कसरी भाग्न सफल भए भनेर बताएका छन्। 

उनीहरूको पलायनको कथा उनीहरूकै शब्दमाः

मध्यरातमा फोन बज्यो। पिकअप (गाडी) रहेको ठाउँ पक्का भयो र घरबाट निस्किने समय भयो।

कालो झोला बोकेकी न्यायाधीश सना आफ्ना दुई छोराछोरी लिएर सडकमा आइन्। उनीहरूको झोलामा दुई जोर कपडा, पासपोर्ट, फोन, नगद र यात्राका लागि सकेसम्म धेरै खानेकुरा थिए।

सना सम्झन्छिन्, 'हामी त्यहाँबाट निस्कँदा कहाँ जाँदैछौं, हामीलाई थाहा थिएन। हामीलाई बाटोमा असुरक्षा छ र खतरा हुन्छ भनियो तैपनि हामी डराएनौं र यसै खतरा उसै खतरा, जे पर्ला पर्ला भने आँट गरेर हिँड्यौं। किनभने हामीलाई थाहा थियो कि यो मात्र हामी बाँच्ने एउटा उपाय थियो।'

छोराछोरी कारमा चढेपछि पनि सना फर्केर आफू जन्मेको शहरलाई हेरिरहेकी थिइन्। जहाँ आफ्नो बाल्यकाल बिताएकी थिइन्, उनी हुर्केकी थिइन् र पारिवारिक जीवनको सुरुवात गरेकी थिइन्।

तर अब भने उनको जीवन गाडी हाँक्दै गरेको एक अपरिचित व्यक्तिको हातमा निर्भर थियो। उनी कहाँ जाँदै छिन् भन्ने उनलाई केही थाहा थिएन, तर उनलाई के चाहिँ राम्ररी थाहा थियो भने म आफू हुर्किएको यो शहरमा बस्न सक्दिनँ।

उनी भन्छिन्, 'देश छोड्दा मैले आफ्ना छोराछोरीलाई नियालेर हेरेकी थिएँ। यो मेरो जीवनको बिर्सनलायक क्षण थियो। म साह्रै निराश थिएँ। तिनीहरूलाई अफगानिस्तानबाट जिउँदै निकाल्न सक्छु कि भनेर मैले कल्पना मात्र गरेको थिएँ।'

सनाले ३ महिनादेखि  महिलाविरुद्ध हुने हिंसात्मक अपराधका कारण जेल सजायको फैसला गर्ने न्यायाधीश र पैरवी गर्ने वकिलहरूको खोजी तालिबानले गरिरहेको बताइन्।

सना भन्छिन्, 'मैले अदालतमा काम गरें जहाँ मैले हत्या, आत्महत्या, बलात्कार र अन्य अपराधका अभियुक्तहरूको सामना गरें। मैले दिएको सजाय गम्भीर खालका अपराधका लागि थियो। तर, ती सबैले छुटेपछि हामीलाई खोजेर मार्ने भन्दै थिए।'

हालै बिबिसीले गरेको एउटा अनुसन्धानले अफगानिस्तानमा २ सय २० भन्दा बढी महिला न्यायाधीश लुकेर बसेको पत्ता लगाएको छ।

उनीहरू तालिबानको शासनमा विभिन्न अपराधका अभियुक्तले प्रतिशोध लिने त्रासमा बाँचिरहेका छन्।

यी आरोपहरूबारे तालिबान प्रवक्ताका सचिव बिलाल करिमीले भने, 'महिला न्यायाधीशहरूले कुनै पनि महिलाजस्तै त्रासबिना बाँच्न पाउनु पर्छ। कसैले पनि तिनीहरूलाई धम्की दिनु हुँदैन। हाम्रो विशेष सैन्य युनिटले यी गुनासा हेर्न चाहन्छ र उल्लंघन भएको छ भने कारबाही गरिनेछ।'

करिमीले अफगानिस्तानको अघिल्लो सरकारका सबै कर्मचारीलाई 'आममाफी' दिने तालिबानको प्रतिज्ञा पनि दोहोर्‍याए।

तर सनाले विगत केही महिनाका त्रासदीपूर्ण अनुभव वर्णन गर्छिन्।

उनी भन्छिन्, 'हामी हरेक दुई वा तीन दिनमा आफ्नो बस्ने ठाउँ परिवर्तन गर्थ्यौं, कहिलेकाहीं हामी सुरक्षित घरमा र कहिलेकाहीं होटलमा जाने गर्थ्यौं। हामी घर फर्कनसक्ने अवस्थामा थिएनौं। किनभने हाम्रो घरमा छापा मारिएको थियो।'

देश छाड्दा

पिक-अप भ्यानबाट उत्रिएपछि सना र उनको परिवार नसुतेरै मरुभूमिको बाटो १० घण्टाभन्दा बढी यात्रा गरे।

हरेक आधा घण्टामा उनीहरू तालिबानको जाँच चौकीमा रोकिन्थे। सशस्त्र मानिसहरू त्यहाँ हुन्थे र यात्रुको जाँच गर्थे।

सनाले आफ्नो सानो बच्चालाई काखमा बोकेर लगेकी थिइन्।

'यदि तिनीहरूले म न्यायाधीश हुँ भनेर थाहा पाएको भए हामीलाई तुरुन्तै मार्ने थिए,' सना रुँदै भन्छिन्, 'पतिका कारण महिलाहरूले आत्महत्या गरेका घटना मैले यसअघि थाहा पाएकी थिएँ। एउटी आइमाईले कुन बेला मृत्यु रोज्छे होला भनेर म सधैं सोच्ने गर्थें। तर जब म निराश हुन थालें, म पनि ठीक त्यस्तै स्थितिमा पुगें। म मृत्युसँग अंकमाल गर्न तयार थिएँ।'

मरुभूमि हुँदै सकुशल सीमाबाट निस्केपछि सना र उनका छोराछोरी सडकमा पुग्नुअघि एक साताभन्दा बढी समय एउटा घरमा बसे।

शरण

एथेन्स आइपुगेपछि सबै २६ जना न्यायाधीश र तिनीहरूका परिवारलाई शहरको अपार्टमेन्टमा छाड्नुअघि कोरोनाको परीक्षण गरियो।

अस्थायी भिसा योजनाअन्तर्गत ग्रिसको प्रशासनले न्यायाधीशहरूलाई १४ दिनको खाना र बासको व्यवस्था गर्‍यो।

दुई सातापछि के हुन्छ भनेर ती २६ जना र उनीहरूका परिवार कसैलाई पनि कुनै जानकारी छैन। न्यायाधीशहरूलाई तेस्रो देशमा शरणको लागि आवेदन दिन सल्लाह दिइएको छ।

बेलायतमा शरणका लागि आवेदन दिनेमध्ये अस्मान पनि एक हुन्। अफगानिस्तानमा न्यायाधीशको रुपमा २५ वर्षको अनुभवी उनी तालिबानको डरले भागेको यो पहिलो पटक होइन।

सन् १९९६ मा सोभियत सेना पछि हट्यो। तालिबानले देश कब्जा गरेपछि अस्मान र उनको परिवार अफगानिस्तानबाट भागेका थिए।

'हामीले तालिबानको आधिपत्य देखेको यो दोस्रो पटक हो। म एक जना न्यायकर्ता थिएँ जब तालिबान पहिलोपल्ट सत्तामा आयो', अस्मान भन्छिन्, 'त्यतिबेला पनि महिला न्यायाधीश थिए, जसलाई पहिलो पटक समाजबाट बाहिर निकालिएको थियो।'

सन् २००१ मा अमेरिकी र नाटो सेना आएपछि अस्मान घर फर्किन् र फेरि न्यायाधीशका रूपमा काम गर्न थालिन्। दुई महिनाअघि इतिहास फेरि दोहोरियो।

सनाले यसअघि तालिबानको उदय देखेकी थिइन्। ९० सालमा तालिबान सत्तामा आउँदा  उनले कानुनमा स्नातक गरिसकेकी थिइन्।

'जबरजस्ती ५ वर्ष घरमै बस्नुपरेको थियो। र मैले काम छोड्नुपरेको थियो', उनी भन्छिन्, 'महिला न्यायकर्ता बन्नु आफैंमा ठूलो लडाइँ हो। सबैभन्दा पहिला, आफ्नो परिवारलाई अध्ययन गराउन तिनीहरूले मन्जुरी दिनुपर्छ। त्यसपछि, विश्वविद्यालयमा गएर जागीर पाउँदा तिनले आफूलाई पाइला पाइलामा प्रमाणित गर्नुपर्ने हुन्छ।'

अफगानिस्तानमा महिलाको पीडा बुझ्न महिला न्यायाधीश आवश्यक रहेको उनले सुनाइन्।

'यो रोग निको पार्न डाक्टरको आवश्यकता भएझैं महिला न्यायाधीशले पनि महिलाका कठिनाइहरू बुझ्छन् र यसले भेदभाव हटाउन मद्दत गर्छ', उनले भनिन्।

अफगानिस्तानमै छुटेकाहरू

सना ग्रीसको सानो अपार्टमेन्टमा आफ्नो फोन हेर्दैछिन्। स्वदेशको घरको पुरानो तस्बिर देखाउँदै उनी गर्वसाथ भन्छिन्, 'कानुनबमोजिम यो सम्पत्ति पतिको नभएर मेरो थियो।'

उनी अगाडि थप्छिन्, 'म भागेपछि तालिबानका एक जना वरिष्ठ कमान्डर मेरो घरमा बस्छन्, मेरै गाडी चढ्छन् र मेरै सबै सामान प्रयोग गर्छन्।'

ग्रिस आउने सबै महिला न्यायाधीशमध्ये सबैभन्दा कान्छी अत्यन्त दुःखी छिन्।

तालिबानको आधिपत्यअघि एक कनिष्ठ न्यायाधीश नरगिसले प्रान्तीय पारिवारिक अदालतमा ५ वर्षभन्दा थोरै समय काम गरिन्।

उनको सम्पूर्ण विश्वविद्यालय शिक्षा र काम अमेरिका समर्थित अफगानिस्तानमा भयो।

'तालिबान सत्तामा आएपछि २० वर्षयता अफगान महिलाले आफूले हासिल गरेका उपलब्धि कायम राख्न अब असम्भव छ,' नगरिस भन्छिन्।

सनाले भने अझै आश पूरै मारिसकेकी छैनन्।  'हामी महिला न्यायाधीशले लागू गरेका नियम इतिहासबाट सजिलै मेट्न सकिंदैन। तालिबानले तिनको बेवास्ता गर्न सक्छन् तर मेट्न सक्दैनन्', उनी भन्छिन्।

उनी संविधानको कुरा गर्दै थिइन्। धारा २२ बमोजिम अफगानिस्तानका सबै नागरिक, पुरुष र महिलालाई समान अधिकार छ।

धारा ४३ अन्तर्गतको शिक्षा अफगानिस्तानका सबै नागरिकको अधिकार हो र धारा ४८ अन्तर्गत काम गर्न पाउनु प्रत्येक अफगानीको अधिकार हो।

सनाले महिलाविरुद्ध हुने हिंसा निवारण ऐन सन् २००९ मा कानुन नै पारित भइसकेको बताएकी छिन्।

सनाजस्ता महिलाको अगुवाईमा बलात्कार, जबर्जस्ती विवाह, महिलालाई सम्पत्ति लिनबाट रोक्ने, महिला वा बालिकालाई विद्यालय वा काममा जान नदिने लगायत २२ कामलाई अपराधीकरण गरेको थियो।

यसबीच, तालिबानले काम गर्ने सबै महिला र केटी विद्यार्थीहरूलाई काम गर्ने ठाउँ वा सिक्ने वातावरण 'सुरक्षित' नभएसम्म स्कूल वा कामबाट टाढा रहन आग्रह गरेको छ।

सनाका अनुसार यी अस्थायी व्यवस्था हुन्। तर, त्यसका लागि तालिबानले कुनै समय तोकेको छैन।

भविष्यमा महिलाले कहिले न्यायाधीश वा राष्ट्रसेवक बन्न पाउलान् ? यो गम्भीर प्रश्न हो।

सना ग्रीसको आफ्नो नयाँ घरबाट अफगानिस्तानको भविष्यमा दर्दनाक दृश्य देखिरहेकी छिन्।

'अहिले हामी घरमा लुकिरहेका छौं। हामीले कैद गरेका अपराधीहरू अहिले स्वतन्त्र छन्', उनी भन्छिन्।

उनले विदेशमा पनि अन्यायविरुद्ध लड्ने र प्रत्येक अफगान महिलालाई साथ दिने संकल्प गरेकी छिन्।

'अफगानिस्तान कुनै तालिबान वा विशेष समूहसँग मात्र जोडिएको छैन। यो हरेक अफगानी हो', उनले भनिन्।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.