|

काठमाडौं : काठमाडौ महानगरपालिकाभित्र ५० भन्दा बढी पार्क निर्माण हुने भएका छन्।  सार्वजनिक जग्गा संरक्षण गर्ने उद्देश्यले खाली स्थानमा पार्क निर्माण गर्न लागेको महानगरपालिकाले जनाएको छ। 

एक वडा एक पार्क निर्माण’ को नीतिअनुरूप काठमाडौं महानगरका प्रमुख विद्या सुन्दर शाक्यले सोमवार दुईवटा पार्कको शिलान्यास गरेका छन्। करिब ४ रोपनी ११ आनामा निर्माण हुने ‘बागमती दोभान’ र ‘अमरावती’ दुई पार्कको सोमबार एकैपटक शिलान्यास गरेका हुन्।

कार्यक्रममा बोल्दै प्रमुख शाक्यले  महानगरभित्र ५० वटा पार्क निर्माण भइरहेको बताए। उनले भने,‘सार्वजनिक जग्गाको संरक्षण गर्ने, हरियाली कायम गर्ने र स्थानीयको अपनत्व रहने गरी उहाँहरूलाई नै संरक्षणको जिम्मा दिने नीतिअनुसार हामीले प्रत्येक वडामा कम्तीमा एक पार्क निर्माणको अभियान अघि बढाएका हौँ।’

जहाँ–जहाँ सार्वजनिक जमिन छ, त्यहाँ–त्यहाँ त्यो जग्गाको संरक्षण गर्दै साना–ठूला पार्क बनाउँदै  आएको शाक्यले बताए। काठमाडौं महानगरपालिका क्षेत्रभित्र मात्रै ५० बढी पार्क निर्माणको काम अघि बढेको छ।  शाक्यले भने, ‘कति पार्क निर्माण सम्पन्‍न भएका छन्, कति निर्माणको चरणमा छन्, कति शिलान्यास भएका छन् भने कति शिलान्यासको तयारीमा छन्।’

काठमाडौं आधुनिक र परम्परागत सांस्कृतिक विशेषता भएको शहर भएको भन्दै त्यसको पहिचान जोगाउनुपर्ने चुनौती रहेको बताए। काठमाडौं भौतिक पूर्वाधार विभागका प्रमुख राम थापाले यो आर्थिक वर्षमा मात्रै करिब ३५ वटा पार्क निर्माणको तयारीमा रहेको बताए। 
 
११ आना जमिनमा निर्माण दोभान पार्क करिब ६७ लाखको लागतमा निर्माण हुनेछ भने चार रोपनी क्षेत्रफलमा निर्माण हुने अमरावती पार्क करिब ९० लाखको लागतमा निर्माण हुँदैछ। कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलगायत उपस्थित थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.