|

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हालैका केही कार्यक्रमहरूमा सबै पूर्व-माओवादी धार एक भए नयाँ जनयुद्ध जित्ने बताएका छन्।

त्यसलाई नेपालको राजनीतिमा विभिन्‍न कोणबाट व्या‍ख्‍या र विश्लेषण गर्ने काम भइरहेको छ।

यसैक्रममा थाहाखबर डटकमको असोज २६ मा रमेश पराजुलीको समाचारमा कोट गरिएका दुईजनाका भनाइलाई आधार बनाएर गरिएको टिप्पणीले मलाई पनि यसबारे केही लेख्‍न घचघच्याएको हो।

माओवादी केन्द्रका अध्यक्ष दाहालले गरेको उपरोक्त प्रस्ताव आफैँमा कुटिल र रहस्यमयी छ भन्‍ने कुरा सर्वप्रथम बुझ्‍न आवश्यक छ। किनकि पूर्व-माओवादीहरू यतिबेला छरपष्ट छन्। जसमा माओवादी केन्द्र आफैँ पूर्व-माओवादीहरूको  मात्र पार्टी होइन। जहाँबाट अधिकांश माओवादी नेता तथा कार्यकर्ताहरू पलायन भएका छन्। 

संसदीय  व्‍यवस्थाको विकल्प खोज्नेहरू छन्, नेत्रविक्रम चन्दको जनमत संग्रहको कुरा छ। सिके राउतहरू पनि जनमत संग्रहको अर्को प्रस्ताव अगाडि सारिरहेका छन्। राजावादीहरूको राजतन्त्रको पुन:स्थापना गर्ने र ०४७ को संविधान ब्युँताउने कुराहरू पनि चलिरहेका छन्।

हाल माओवादी केन्द्रमा तत्कालीन नेकपा एकता केन्द्र मसाल र नेकपा संयुक्तका नेता तथा कार्यकर्ताहरूको बाहुल्यता रहेको छ।

जसमा केही एमाले, माले र अन्य पार्टीबाट आएका नेता तथा कार्यकर्ताहरू पनि रहेका छन्। माओवादीले जनयुद्ध परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आएपछि पार्टीमा चरम द्वन्द्वको अवस्था थियो।

अधिकांश नेता तथा कार्यकर्ताहरूमा क्रान्तिकारी भावले भरिएको थियो भने अध्यक्ष दाहाललगायत केही नेताहरू एमाले र नेपाली कांग्रेससँग सहकार्य गर्दै संसदीय राजनीतिमा होमिनुभएको थियो। सोही अन्तरद्वन्द्व का कारण एकातिर पूर्व-माओवादी नेता तथा कार्यकर्ताहरू मूल पार्टीबाट अलग हुने उपायको खोजीमा थिए।

अर्कातिर अध्यक्ष दाहालले पनि पार्टीमा आफूसँग असहमत हुने नेता तथा कार्यकर्तालाई विभिन्‍न बहानामा पार्टीबाट किनारा लगाउने खेल खेल्नुभएको थियो। सोही खेलका क्रममा मोहन वैद्य र डा. बाबुराम भट्टराईलगायतका नेता अलग भए।

मोहन वैद्यले माओवादी जनयुद्धलाई फेरि सञ्चालन गर्न सक्नु भएन भने​ ०३८/०३९ तिर नेपाली कांग्रेसबाट तत्कालीन नेकपा चौममा प्रवेश गर्नुभएका डा. भट्टराईलाई कम्युनिष्ट राजनीतिप्रति नै वितृष्णा बढेर गएको थियो।

उहाँले सुरुमा स्टालिनको आलोचना गर्दै पछिल्लो समयमा मार्क्स, एङ्गेल्स र माओलगायत कम्युनिष्ट राजनीतिका अन्तराष्ट्रिय नेताहरूको आलोचना गर्न सुरु गर्नुभयो।​ हाल उहाँ दक्षिणपन्थी पार्टीमा टाउको लुकाएर आफ्ना पहिलेका गतिविधिको पश्चाताप गरिरहनुभएको छ।

मोहन वैद्यले पनि पूर्ववतरूपमा माओवादी जनयुद्ध हाँक्न नसकेपछि कैयन नेता तथा कार्यकर्ताहरूले पार्टी राजनीति नै परित्याग गरेर आआफ्नो व्‍यवसाय समातेका छन्। कतिपय खाडी मुलुकहरूमा पसिना चुहाइरहेका छन्।

वैद्यले संसदीय राजनीति पनि अवलम्बन गर्न नसकेको र जनयुद्ध पनि परिचालन गर्न नसकेपछि रामबहादुर थापालगायतका केही नेता फेरि माओवादी केन्द्रमै फिर्ता भए भने नेत्रविक्रम चन्द लगायतका नेताहरूले नेकपा माओवादी गठन गरेर पहिलाकै जस्तो सशस्त्र गतिविधि गर्ने प्रयास पनि सफल भएन।

बीचैमा माओवादी केन्द्रसहितको सरकारले चन्द समूहका गतिविधिमाथि प्रतिबन्ध लगाउने काम गर्‍यो। जसमा माओवादी केन्द्रका अध्यक्ष दाहाल र सो पार्टीका नेता तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापाको समेत प्रमुख हात रहेको त्यतिबेला नै व्‍याख्‍या र विश्लेषण भएको थियो।

माओवादी केन्द्रसँग अलग भएपछि एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी ओलीले सो प्रतिबन्ध नाटकीय रूपमा फुकुवाको निर्णय गर्नुभयो।

हाल आएर मोहन वैद्य र सिपी गजुरेल लगायतका नेताहरूले  अध्यक्ष दाहालले आफूहरूलाई भारतमा गिरफ्तार गराएको आरोप लगाउनुभएको छ। त्यसैगरी क्यान्टेनमेन्टको रकम हिनामिनाका विवादहरू पनि कायमै छन्। पूर्व-जनमुक्ति सेना र द्वन्द्वपीडितहरूका  गुनासा र अध्यक्ष दाहालमाथिका आरोप–प्रत्यारोपहरू पनि कायमै रहेका छन्।

यतिबेला अध्यक्ष दाहाल आफैँ पनि पूरै माओवादी खेमाको भरमा हुनुहुन्‍न भने पूर्व-माओवादी समूहका कुनै पनि खेमाले उहाँलाई रुचाएको देखिँदैन। नेकपाका महासचिव नेत्रविक्रम चन्दले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई संसदीय राजनीति छाडेर आउने भए मात्र एकताका बारेमा सोच्‍न सकिने बताउनुभएको छ।

मोहन वैद्यले दाहालसँगको एकता टाडाको विषय भएको बताइसक्नु भएको छ भने डा. भट्टराईले कम्युनिष्ट पार्टी छाडेर समाजवादी पार्टी र राजनीतिमा आउने भएको खण्डमा मात्र एकताका लागि सोच्न सकिने बताउने गर्नु भएको छ। उहाँले माओवादी केन्द्रका अध्यक्ष दाहालसमेत उपस्थित कतिपय कार्यक्रमहरूमा दाहालको पूर्व-माओवादीहरूका बीचमा एकता हुनुपर्ने भन्ने कुरालाई भावनात्मक भन्नु भएको छ।

त्यसैले पूर्व-माओवादीहरूको एकता अब आकाशको फल आँखा तरी मर् भनेजस्तो हो। यो कुरा अध्यक्ष दाहालजस्तो चतुर नेताले पनि बुझ्नुभएको हुनुपर्छ।

उहाँले पूर्व-माओवादीहरू बीचको एकताको कुरा उठाउनुका प्रमुख दुई कारण रहेका छन्। पहिलो नेपाली कांग्रेस र एमालेका साथै अन्तर्राष्ट्रिय शक्तिलाई तर्साउनु दोस्रो पूर्व-माओवादी समूहहरूबीचमा भ्रम सिर्जना गर्नु।

अध्यक्ष दाहालको जनयुद्ध परित्याग गरेर संसदीय राजनीतिमा आएदेखिकै प्रयास भनेको आफ्नो पार्टीका साथै नेपालको कम्युनिष्ट आन्दोलनलाई तितरबितर पारेर संसदीय भाषमा पार्नु रहेको देखिन्छ। त्यसैले उहाँ मौका पर्‍यो कि नेपाली कांग्रेससँग कार्यगत एकता गर्नुहुन्छ।

एमालेसँग पार्टी एकताको अभ्यास पनि गरिसक्नु भयो। फेरि पनि चिनियाँ राजदूतमार्फत एमालेसँग पार्टी एकताको प्रस्ताव गराउनुभएको छ। उहाँको प्रयास जहिले पनि आफ्नो पार्टी राम्रो बनाउनेभन्दा पनि अरूका पार्टी तोडफोड गर्ने र फुटाउनेमा केन्द्रित रहने गरेको छ।

उहाँले माओवादी केन्द्रको आगामी पुसमा राष्ट्रिय सम्मेलन गराउने भन्नुभएको छ। तर, हालसम्म पार्टीको सल्लाहकार समिति लगायतका कतिपय समितिहरूको बैठकसमेत भएका छैनन्।

जनवर्गीय संगठनहरूमा हस्तक्षेप गरेका कारण विवाद मात्र बढिरहेको छ। अरूको त के कुरा अखिल क्रान्तिकारीको अध्यक्ष तोक्ने लगायतका कार्यले गर्दा एकताबद्ध रहेको सो संगठन विवादग्रस्त बन्न पुगेको छ।

केन्द्रदेखि जिल्ला तहसम्म नै आफ्ना मान्छेलाई मात्र पार्टीमा स्थान दिने अभियान नै चलाउनुभएको गुनासो पनि छ। कतिपय योग्यता र क्षमता भएका नेता तथा कार्यकर्ताहरू पार्टीभित्रै काम नपाएर वल्लो घाट न पल्लो तिर भएर रहेका छन्। भनिन्छ हालसम्म सदस्यतासमेत नवीकरण गरिएको छैन।

अध्यक्ष दाहाल भने अरू अरू पार्टीका नेता तथा कार्यकर्तालाई आमन्त्रण गर्ने कार्यमा लाग्नुभएको छ। उहाँकै धेरै सहकर्मीले अनुभव गर्ने गरेका छन् अध्यक्ष दाहाल जे भन्नुहुन्छ त्यो गर्नुहुन्न, जे गर्नुहुन्छ त्यो भन्नुहुन्न। उहाँकै कारण एमाले विभाजित भएको आरोप पनि छ।

नेपाली कांग्रेस नराम्ररी सैद्धान्तिक विचलनमा फसेको छ। माधव नेपालहरू एमाले छाडेर पछुतोमा पर्नुभएको देखिँदैछ। राष्ट्रिय जनमोर्चाले उहाँकै लहैलहैमा बिनाकारण नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्दा पार्टीको ठूलो हिस्सा विभाजित भएको छ।

यस्तो अवस्थामा दक्षिणपन्थी राजनीतिक बाटोमा लागेकाहरूले फेरि जनयुद्धको नाम लिनु शोषित पीडित नेपाली जनताप्रतिको बेइमानी ठहर्नेछ। छलछाम र तिकडमबाजीले नेपालको राष्ट्रिय राजनीतिनै अस्तव्‍यस्त अवस्थामा पुगेको छ।

अब देश कुनै न कुनै प्रकारको आमूल परिवर्तनमा जान बाध्य भएको छ। बरु त्यसलाई शोषित पीडित नेपाली जनताको पक्षमा पार्ने प्रयास गरौं। किनभने माओवादी केन्द्र पूरै संसदीय व्‍यवस्थामा अभ्यस्त भइसकेको छ। त्यसैले अब सो पार्टीका अध्यक्षलगायत अधिकांश नेताहरू  अन्य माओवादी समूहहरूसँग एकाकार भएर नयाँ जनयुद्धमा जाने कुनै सम्भा‍वना छैन।

अन्य पार्टीका नेता तथा कार्यकर्ताले माओवादी केन्द्र अब पनि माओवादी राजनीतिमै छ भनेर भ्रम पालिरहनुपर्ने कुनै दरकार पर्दैन। सो पार्टी फेरि पनि घुमिफिरी एमाले र माओवादी मिल्नैपर्ने अवस्था छ। तर, विगतका घटनाले एमालेमा पनि माओवादी केन्द्रप्रति विभिन्न आशंकाहरू रहेका छन्।

प्रमुख दलका प्रमुख नेताहरूले एकपछि अर्को भ्रमको सिर्जना हुने कुरा गरेर त्यसैको खेती गर्ने प्रयास गरियो भने नेपालमा जतिबेला जे पनि हुनसक्ने अवस्था छ।

त्यसैले अबका दिनमा कार्यगत एकताका लागि प्रारम्भिक पहल हुनसक्दछ। जसका लागि पनि माओवादी केन्द्रले नेपाली कांग्रेससँगको कार्यगत एकता छाड्नुपर्ने हुन्छ।

हालको अवस्थामा माओवादी केन्द्रले पहल गरेर एमालेसहितको सर्दवलीय/सर्पवक्षीय चुनावी सरकार गठन गरेर अगाडि बढ्ने हो भने पनि धेरै कुराहरूमा सुधार आउन सक्ने अवस्था छ। तर, नेताहरूको अस्थिर मनस्थितिले देशको राष्ट्रिय राजनीति सही बाटोमा अगाडि बढ्न सक्दैन।

संसदीय व्‍यवस्थाको विकल्प खोज्नेहरू छन्, नेत्रविक्रम चन्दको जनमत संग्रहको कुरा छ। सिके राउतहरू पनि जनमत संग्रहको अर्को प्रस्ताव अगाडि सारिरहेका छन्। राजावादीहरूको राजतन्त्रको पुन:स्थापना गर्ने र ०४७ को संविधान ब्युँताउने कुराहरू पनि चलिरहेका छन्। यस्तो अवस्थामा सबै पक्षहरूसँग छलफल गरेर र सबैलाई समेटेर अगाडि बढ्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ।

प्रमुख दलका प्रमुख नेताहरूले एकपछि अर्को भ्रमको सिर्जना हुने कुरा गरेर त्यसैको खेती गर्ने प्रयास गरियो भने नेपालमा जतिबेला जे पनि हुनसक्ने अवस्था छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.