|

वयं रक्षामः

अर्थात् हामी रक्षा गर्छौं।

राक्षस जातिको  जीवनको मूलमन्त्र हो यो। खासगरी युद्धको बेला हामी स्वजाति र स्वदेशको लडेरै भए पनि रक्षा गर्छौं भन्न खोजिएको हो।

राक्षस शब्दको उल्लेख गर्नेबित्तिकै कतिपय पाठकलाई डर लाग्न थालिसक्यो होला। यसो किन भयो होला भने हामी बाल्यकालदेखि नै मस्तिष्कमा राक्षसको एउटा बनिबनाउ छवि बोकेर बाँचिरहेका छौँ। 

हामीमध्ये धेरैलाई थाहा नभएको हो कि बुझ पचाएको कुन्नी? रावण लङ्काका राजा मात्र होइन, ठूला विद्वान् पनि हुन्। रावण प्रजापति ब्रह्मका १० मानसपुत्रमध्येका एक पुलस्त्य ऋषिका नाति अनि विश्रवा ऋषिका छोरा हुन् भनिन्छ।

कस्ता राक्षसका जस्ता नङ पालेको? राक्षसका जस्ता आँखा। राक्षसको जस्तो नाक। राक्षसको जस्तो हाँसो। कस्तो राक्षसका जस्ता झाँका फिँजाएको! कस्तो राक्षसजस्तो। 

यस्ता अभिव्यक्तिहरू सुन्न कुनै आइतबार कुर्नुपर्दैन, स्वत:स्फूर्त प्रकट भई नै हाल्छन् समय र प्रसंगसँगै।   

हुन त राक्षश: शब्दको अर्थ नै त्यस्तै त्यस्तै न हो, जसबाट रक्षा गर्न परोस्।

राक्षस शब्द उच्चारण गर्नेबित्तिकै प्रसिद्ध ग्रन्थ रामायणमा लुकी बसेका रावण प्रकट भइहाल्छन्।  

हामीमध्ये धेरैलाई थाहा नभएको हो कि बुझ पचाएको कुन्नी? रावण लङ्काका राजा मात्र होइनन्, ठूला विद्वान् पनि हुन्। रावण प्रजापति ब्रह्मका १० मानसपुत्रमध्येका एक पुलस्त्य ऋषिका नाति अनि विश्रवा ऋषिका छोरा हुन् भनिन्छ।

म्याग्दी जिल्लाको पुलस्त्याश्रममा उनको जन्म भएको मानिन्छ। पुलस्त्याश्रम संसारका १५ पवित्रतम तीर्थस्थलमध्ये एक हो भन्ने मान्यता छ।      

ज्योतिषशास्त्रको ज्यादै प्रतिष्ठित अनि प्रामाणिक ग्रन्थ रावणसंहिता रावणले रचेका हुन्। यो ग्रन्थ भृगुसंहिताभन्दा बढी प्रामाणिक मानिन्छ। रावण भगवान् शिवका परमभक्त पनि हुन्। 

शिवताण्डवस्तोत्रम् रावणले नै रचना गरेका हुन् भनिन्छ। लंकाका अधिपति त उनी भइनै हाले: बाहुन पनि राजा हुन पाउने कस्तो ‘स्वर्णयुग’ रहेछ त्यो? अब लंका साँच्चै सुनको थियो कि थिएन, त्यो त पुरातत्वविदहरूले अनुसन्धान गरेर पत्ता लगाउलान् कि कुनै दिन?

रावणका असल पक्षहरूबारे चर्चा गरिसकियो, अब खराब पक्षहरूप्रति आँखा चिम्लनुपर्ने के नै कारण छ र? 

अयोध्याका राजा दशरथका जेठा छोरा राम -कौशल्याको कोखबाट जन्मेका- सौतेनी आमा कैकेयीको आफ्ना छोरा भरतलाई अयोध्याका राजा बनाउने प्रपञ्‍चका कारण १४ वर्षका लागि वनबास जान्छन्।

कौशल्या शोकमा डुब्छिन्, दशरथको, भरतको त्यस्तै हाल हुन्छ, समग्र अयोध्या नगरी शोकमा डुब्छ। पत्नी सीता र भाइ लक्ष्मण -सुमित्राको कोखबाट जन्मेका_ रामसँगै वन जान्छन्, भरत विलाप गर्दै सिंहासनमा बस्छन्। 

युद्धहरूमा सँगै लडेकाले, ज्यान हत्केलामा राखेर आफूलाई बचाएकोले, कान्छी रानी पनि भएको हुँदा बढी प्यारी भएकोले राजा दशरथले कैकेयीको आफ्ना छोरा भरतलाई राजा बनाउने प्रस्ताव दशरथले अस्वीकार गर्न नसकेका पो हुन् कि? 

आफ्नी सहयोगी मन्थराको कुरा सुनी सुनी कैकेयीका मनमा भरतलाई अयोध्याको राजा बनाउने चाहना जागेको हो पनि भनिन्छ। रानीलाई जोगाउन मन्थराको राक्षसीकरण त गरिएको होइन? इन्द्रीय शिथिल भइसकेका बुढा राजा दशरथ के गरून्, के नगरून् बरा?  

दशरथ र अन्य पात्रहरूलाई अयोध्यामै बसी विलाप गर्न छोडिदिउँ, हामी बरू राम र उनका अनुयायीहरूसँगै वनतर्फ लागौँ। 

राम, लक्ष्मण सीताको नयाँ थातथलो दण्यकारण्यमा एक दिन सुपर्णखा प्रकट हुन्छिन्। उनी रावणकी बहिनी हुन्।

सुपर्णखा सुन्दर राजकुमारहरूलाई देखेर मोहित हुन्छिन्। रामसँग विवाहको प्रस्ताव गर्छिन्। त्यसबेलाको समाजमा महिलाबाट पुरुषलाई विवाहको प्रस्ताव? के पदार्थ खाएर लेख्दै हुनुहुन्छ हो? भन्नुहोला।

राजा जनककी छोरी सीताले जनकपुरमा एकसे एक रूप-गुण-वैभवयुक्त राजकुमारहरूले भरिएको विशाल सभाकक्षमा राजा दशरथ र कौशल्याका छोरा रामलाई भव्य स्वयंवर समारोहमा वरण गरेको प्रसङ्ग बिर्सनुभयो?

के त्यो नारीलाई आफ्नो जीवनसाथी चयन गर्न पाउने स्वतन्त्रताको द्योतक होइन? पूर्ण स्वतन्त्रता त हाम्रो जस्तो अराजक समाजमा सत्ता र शक्तिले मातिएका केही 'बैलहरू'लाई मात्र प्राप्त हुन्छ। अरूहरूका लागि त जर्ज बर्नार्ड शले लेखिदिएकै छन्: योर फ्रिडम एन्ड्स व्हेर माइ नोज बिगिन्स।

दण्यकारण्यमै फर्कौं बरु, भिडभाड छोडेर सामाजिक दूरी कायम गर्नुपर्ने कोरोना भाइरस महामारीको समयमा।

'मर्यादापुरुषोत्तम' रामले अलि ठट्टाको भावमा लक्ष्मणतर्फ इशारा गर्छन्। लक्ष्मणले सुपर्णखाको अपमान गर्छन्, उनको नाकै काटिदिन्छन्। 

राजकुमार राम र लक्ष्मणले सुपर्णखाको प्रस्ताव अस्वीकार गर्न सक्थे। स्त्रीशक्तिको अपमान गर्नुपर्ने कुनै आवश्यकता थिएन। यो अपमान नै राम-रावण महायुद्धको एउटा कारक बन्न पुग्यो। अन्य कारकहरूबारे कथाले मागेछ भने पछि चर्चा गर्दै गरौँला।

बहिनीको अपमान 'हामी रक्षा गर्छौं'को गगनभेदी नारा घन्काउने राक्षसराज रावण कसरी सहन सक्थे र? तर राम, लक्ष्मणसँग बदला लिनका लागि उनले सुरुमै युद्ध थालेनन्,छद्मयुद्ध रोजे।

यसो गर्दा उनले पुन: स्त्रीशक्तिकै अपमान गर्न पुगे।

एक दिन रावण जोगीको भेषमा राम-सीताको कुटी अगाडि प्रकट भए भिक्षा माग्दै। भिक्षा दिने क्रममा लक्ष्मणले कोरिदिएको सुरक्षाको घेरो अर्थात् लक्ष्मणरेखा नाघिन् सीताले। वास्तवमा उनले तर्केरै भिक्षा दिन खोजेकी थिइन् तर 'जोगी'ले मानेनन्, श्राप दिन्छु भन्न थाले। 'लक्ष्मणरेखा' पार गर्नेबित्तिकै उनी अपहरणमा परिन्। 

यति भइसकेपछि त कुन 'माइकालाल'ले युद्ध हुनबाट रोक्न सक्थ्यो र?

राम-रावण युद्धमा रावणको हार भयो। उनले इन्द्रलाई हराउने पराक्रमी छोरा मेघनादलाई गुमाए, सुनको लंका गुमाए, इज्जत-प्रतिष्ठामा धक्का लाग्यो। 

आफ्नै भाइ विभीषण शत्रुपक्षसँग मिलेर भेद - नाभीमा रावणको जीवनशक्ति लुकेको छ भन्ने बात खोलिदिएपछि शत्रु खोज्न अन्त जानै परेन उनलाई, घरआँगनमै मृत्युदेव आइपुगे जस्तो भयो।

विभीषण वयं रक्षामःको उदात्त सिद्धान्त त्यागेर वयं यक्षामः पथमा लागे। वयं यक्षामः अर्थात् हामी भक्ति गर्छौं। रामको भक्ति गरेबापत् उनले लंकाको राजपाठ हात त पारे तर कलङ्कको टीका निधारमा लगाएर। रामको जति भक्ति गरे पनि विभिषणको पाप पखालिनेछैन, कलङ्कको टीका मेटिनेछैन। 

विभिषणलाई नै इंगित गरिएको एउटा उखान छ हिन्दीमा: घरका भेदी लंका ढाए। अर्थात् घरभित्रको जासुसले घरै तहसनहस पारिदिन्छ।

हाम्रो राजनीतिक नेतृत्वमा, कर्मचारीतन्त्रमा, राज्यका विभिन्न अङ्गहरूमा वयं यक्षामः वालाहरूको कमी छैन।

महत्वपूर्ण पदमा बहाल हुनेबित्तिकै ओहदाको प्रमाणपत्र पेश गर्न परेझैँ, उपचारका नाममा देशको भेद खोल्न, थप विदेशी हस्तक्षेप निम्त्याउन विदेशीइहाल्ने, महत्वपूर्ण निर्णय हुनेबित्तिकै अमूक दूतावासमा ब्रिफिंग गर्न गइहाल्ने यस विभीषण प्रवृत्तिको, दासमनोवृत्तिको जति निन्दा गरे पनि कमै हुन्छ। 

व्यक्तिगत र बढीमा दलगत क्षुद्र स्वार्थ परिपोषणका लागि प्रदर्शन गरिने यस्तो विभीषण प्रवृत्ति हाम्रो मूल स्वभाव होइन।

विक्रम संवत १८५७ को नेपाल-अंग्रेज युद्धपछि संस्थागत हुँदै गएको विभिषण प्रवृत्तिले हाम्रो भूस्वर्ग, मातृभूमि, पितृभूमि नेपाललाई क्षतविक्षत पारेको छ। साँधसिमानालाई अनुल्लंघनीय मानिन्छ, पवित्र मानिन्छ नेपाली समाजमा। तर, सिमानाको  पटकपटक उल्लङ्घन हुँदा, देशको भूखण्ड  परचक्रीले कब्जा गर्दा, हाम्रो जमीन र आकाशीय सीमाको पटकपटक उल्लङ्घन हुँदा पनि  'प्रजातान्त्रिक' सरकार विरोध गर्न सक्दैन, भक्तिभावमा घुँडा टेकेर बसिरहन्छ वयं यक्षाम: जप्दै।

पुनः लंकातर्फ फर्कौं। विभिषणको राज्याभिषेकपछि राम सीता र लक्ष्मणसहित अयोध्या फर्किन्छन् लंकामै बस्न विभिषणले गरेको आग्रह लत्याउँदै। सोचे होलान्: सहोदर दाइलाई धोका दिनेले मौका परे मलाइ के बाँकी राख्ला?

जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी: अर्थात् आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्, ठूली हुन्। रामलाई भगवान् मान्नेहरूलाई थाहा होला यो उनीहरूकै भगवानको मूलमन्त्र हो। सुनको लंका छाडी अयोध्या फर्केर उनले यो सिद्धान्तप्रतिको निष्ठा प्रमाणित गरे। 

नेपालमा अहिले विभिषणहरूको बिगबिगी छ,बोलाबाला छ। विदेशी प्रभुहरूले बुझ्नु जरुरी छ: स्वदेश, स्वजातिलाई धोका दिनेले मौका परेको बेला उनीहरूलाई पनि धोका दिनेछ। 

वयं रक्षाम:ले पनि आफ्नो जाति, समाज र देशको रक्षा, राष्ट्रिय हितको पक्षपोषणलाई अहं मान्छ।

रावणका कुकृत्यहरू छन् नै। सीताको अपहरण एक हो। कुबेरको पुष्पक विमान रावणले लुटेको हो भनिन्छ।

रामका पनि यस्ता कृत्यहरूको कमी छैन।   

सुग्रीव-बाली भाइभाइ लडेका बेला लुकेर बाँण हानी रामले बालीलाई मारे। यो कुनै पुरुषार्थ होइन। रामकै उक्साहटमा लक्ष्मणले सुपर्णखाको अपमान गरे।

राम विजयी भए, उनका अक्षम्म कृत्यहरू छोपिए। रावणको हार भयो, उनका कुकृत्यहरू छताछुल्ल भए। विजेताको देवत्वकरण र पराजितको दानवीकरण गर्नुनै भजनलालहरूको परम कर्तव्य हो।              

परस्परविरोधी जस्ता लागे पनि राम र रावण दुवै आआफ्ना जाति र देशका लागि लडेका हुन्। विभिषणको के कुरा गर्नु? उनको प्रभुभक्ति नि:शर्त हुँदै होइन, आफ्नो दुनो सोझ्याउनका लागि मात्रै हो।

नेपालमा अहिले विभिषणहरूको बिगबिगी छ, बोलावाला छ। विदेशी प्रभुहरूले बुझ्नु जरुरी छ: स्वदेश,स्वजातिलाई धोका दिनेले मौका परेको बेला उनीहरूलाई पनि धोका दिनेछ। 

अन्त्यमा,

आमनागरिकलाई प्रश्न: हाम्रो रगत, पसिना, आँसु र पेट काटी तिरेको कर खाएर मोटाएका, हामी र हाम्रो देशविरुद्ध कार्य गर्ने विभिषणहरूलाई चिन्‍न अनि सार्वजनिक जीवनमा तिनको पूजा होइन बहिष्कार गर्न ढिला भइसकेन र भन्या?

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.