|

काठमाडौं : पछिल्लो समय नेपाली फिल्म बजारमा महानायक उपाधि कसलाई दिने भनेर राम्रै बहस चलेको छ। लामो समयदेखि राजेश हमाललाई महानायक भनिए पनि यसको विरोध गर्नेहरू पनि कम छैनन्।

राजेशसँगै केही भुवन केसीलाई महानायक मान्छन् भने केही शिव श्रेष्ठलाई। नेपाली फिल्म उद्योग यहाँसम्म आउनुमा तीनैजनाको ठूलो योगदान छ। महानायक कसलाई भन्ने भनेर कुनै मापदण्ड नभएकाले अहिले यो नै महानायक भन्ने अवस्था छैन।

यहाँ तीनैजना अभिनेताका केही फिल्मको बारेमा बताइएको छ। जसलाई तपाईं बिदाको समयमा युट्युबमा हेर्न सक्नुहुन्छ।

कान्छी

वि.सं. २०४१ मा प्रदर्शनमा आएको फिल्म कान्छी शिव श्रेष्ठका लागि मात्र होइन नेपाली फिल्म उद्योगकै लागि महत्त्वपूर्ण फिल्म हो। बीएस थापाको लेखन तथा निर्देशनमा बनेको यो फिल्म हलमा १०१ दिन मनाउन सफल भएको थियो।

फिल्ममा शिव श्रेष्ठसँगै शर्मिला मल्ल, सुष्मा शाही, शान्ति मास्के लगायतका कलाकारको अभिनय छ। अहिले यो फिल्म युट्युबमा पनि हेर्न सकिन्छ।

शिवले नेपाली फिल्ममा मात्र नभएर केही पाकिस्तानी फिल्ममा समेत अभिनय गरेका छन्। शिवका चिनो, स्वर्ग, सपना, मालतीदेखि लिएर नयाँ फिल्म एक्सन, बाग्मती लगायतका नयाँ फिल्म पनि युट्युबमा हेर्न सकिन्छ।

कुसुमे रुमाल

तुलसी घिमिरेको लेखन तथा निर्देशनमा बनेको कुसुमे रुमाल भुवन केसीको करिअरको कोसेढुंगो भन्दा पनि फरक नपर्ला। सबैभन्दा बढी मन पराइएका नेपाली फिल्मको सूचीमा कुसुमे रुमाल पनि पर्छ।

फिल्ममा भुवनबाहेक उदितनारायण झा, नीर शाह, तृप्ति नाडाकर लगायतका कलाकारको पनि मुख्य भूमिका रहेको छ। नेपाली फिल्मलाई व्यावसायिक बनाउन भुवनको ठूलो भूमिका रहेको मानिन्छ। कुसुमे रुमालबाहेक तिलहरी, कन्यादान, नेपाली बाबु, करोडपति, सन्तान जस्ता फिल्म पनि चर्चित छन्।

युगदेखि युगसम्म

राजेश हमालको पहिलो फिल्म युगदेखि युगसम्मबाट नेपाली फिल्म उद्योगमा नयाँ युग सुरु भएको मान्न सकिन्छ। पहिलो फिल्मबाटै चर्चा कमाएका राजेशले पछि एकै वर्षमा १८ वटासम्म फिल्म खेले।

दीपक रायमाझीको निर्देशनमा बनेको फिल्ममा राजेशसँगै कृष्टि मैनाली, टीका पहाडी, मदनदास श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

योबाहेक राजेशका देउता, धर्म संकट, देउकी, अल्लारे, पृथ्वी, अर्जुन लगायतका फिल्म युट्युबमा हेर्न सकिन्छ।

यीबाहेक सोभित बस्नेतको राजु राजा राममा शिव, भुवन र राजेश तीनैजना मुख्य भूमिकामा देखिएका छन्।

तीनैजना अभिनेता आफ्नो आफ्नो समयका बहुचर्चित अभिनेता मानिन्छन्। कुनै समय शिव, भुवन र राजेश भएकै भरमा फिल्म हेर्न दर्शक आउने गर्थे। अहिले नेपाली फिल्म अर्कै धारमा बगेको छ। कलाकारको नाम र अनुहारको भरमा फिल्म चल्दैन। यसले शिव, भुवन र राजेशले नेपाली फिल्ममा गरेको योगदानमा भने केही फरक पार्दैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.