|

झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरतीमा पहिलो पटक नेपालले परमादेशबाट सरकार पाएको बताएका छन्।

यसअघि धरतीमा कतै पनि परमादेशबाट सरकार नबनेको ओलीले दाबी गरे। बिर्तामोडमा ओलीले बडादशैँ, शुभ दीपावली र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै यस प्रकारका गलत क्रियाकलाप नगर्न सबैलाई विजयादशमीले सद्‍बुद्धि दियोस् भन्ने कामना गरे।

जनताको म्याण्डेड पाएको नेकपा एमालेलाई परमादेशबाट हटाएर समृद्धिको यात्रालाई रोक्ने प्रयास भएको ओलीको आरोप छ। उनले भने, ‘१० वर्ष अघिसम्म देश बन्दैन कि भन्ने थियो। अहिले देश बनाउन सकिने रहेछ भन्ने बनाएको छु।’

देश बनाउन सकिन्छ, तर गलत स्वार्थ भएकाहरूबाट सबै सचेत भएर खबरदारी गर्नुपर्छ, ओलीले थपे। अध्यक्ष ओलीले शुभकामना कार्यक्रममा शुभकामना मात्रै राख्ने भन्दै अन्य दलको टिकाटिप्पणी गर्न चाहेनन्।

उनले बडादशैँले सबैलाई सकारात्मक बन्न शक्ति प्रदान गरोस् भन्दै शुभकामना व्यक्त गरे। ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन नै लोकतन्त्र ल्याएको धारणा राखे। ओलीले मुलुकमा लोकतन्त्रका नाममा लुटतन्त्र मच्चाएको भन्दै लोकतन्त्र, विधि पद्धतिलाई ख्याल गर्न आग्रह गरेका छन्।

उनले परमादेशबाट बहुमत प्राप्त सरकार हटाएको स्मरण गर्दै सट्टापट्टाको खेलले मुलुक धरापमा पर्ने खतरा बढेको बताए। परमादेशबाट बनेको सरकारले तीन महिनासम्म सरकार समेत बनाउन नसकेको, बनाउँदा पनि ‘जेठान’सँग सट्टापट्टा गरेको सुनाए।

अदालतले परमादेशको बदलामा सट्टापट्टा गरेको उनले आरोप लगाए। पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले वर्तमान सरकार, गरिब विपन्न, भूमिहीन, सुकुम्वासीविरुद्ध अघि बढेकोले यसले विद्रोह जन्माउने बताए।

उनले एमालेका नेता कार्यकर्तालाई भ्रम र कुप्रचारको विरुद्ध लड्न निर्देशन दिए। निर्वाचनका लागि समेत तयारी अवस्थामा रहन ओलीले सङ्केत गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.