तोकिएको समयमै आयोजना सकेर वार्षिक २ सय १९ गिगावाट बिजुली उत्पादन हुने

|
आँखुखोला जलविद्युत आयोजनामा लगानी व्यवस्थापन सम्बन्धमा काठमाडौंमा मंगलबार आयोजित सम्झौता कार्यक्रम। तस्वीर : शीला तिम्सिना

काठमाडौं : व्यवसायी अजेयराज सुमार्गीले ३८ मेगावाटको आखुखोला जलविद्युत आयोजना निर्माण गर्ने भएका छन्।

खानी र टेलिकमका साथै २२ भन्दा बढी उद्योगमा लगानी गरेका सुमार्गीले करिब साढे ७ अर्ब रूपैयाँ अनुमानित लगानीको आँखुखोला जलविद्युतमा पनि लगानी अघि बढाएका हुन्।

बागमती प्रदेशको धादिङ जिल्लामा पर्ने रूबी भ्याली र खनियाबास गाँउपालिकामा निर्माण गर्न थालिएको आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ। सिटिजन इन्टरनेशनल बैंकको अगुवाइमा ५ बैंक र प्रवर्द्धक कम्पनी आँखुखोला हाइड्रो प्रालि बीच मंगलबार वित्तीय व्यवस्थापनसम्बन्धी काठमाडौंमा सम्झौता भएको छ।

सम्झौतामा प्रवर्द्धक आँखुखोला हाइड्रो प्रालिका तर्फबाट अध्यक्ष अजेयराज सुमार्गीले र बैँकहरूका तर्फबाट सिटिजन बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलका साथै सिभिल बैंक, नेपाल एसबिआई बैंक, नेपाल बंगलादेश बैंक र मेगा बैंक लिमिटेडका प्रतिनिधिले हस्ताक्षर गरेका छन्।

 लगानी व्यवस्थापन सम्झौता कार्यक्रममा आँखुखोला हाइड्रो पावर कम्पनी प्रालिका अध्यक्ष अजेयराज सुमार्गी । तस्वीर : शीला तिम्सिना

मुक्ति श्री कम्पनीको ९५ प्रतिशत स्वामित्व रहेको आँखुखोला हाइड्रो पावर कम्पनीका अध्यक्ष सुमार्गीले ग्यास तथा पेट्रोलियम पदार्थका कारण देशले ठूलो व्यापार घाटा बेहोरिरहेको र त्यसलाई प्रतिस्थापन गर्न जलविद्युतमा लगानी गर्न आवश्यक भएकाले आफू जलविद्युत आयोजना निर्माणतर्फ अघि बढेको बताए ।

आफूले लामो समयदेखि जलविद्युत क्षेत्रमा लगानी गर्न चाहेको भएपनि लाइसेन्स लिने प्रक्रिया र अन्य अध्ययनका कारण केही ढिलाइ भएको उनले बताए।

‘जलविद्युत क्षेत्रमा लगानी गर्ने योजना बनाएको ८ वर्षभन्दा बढी भयो, यसमा अरू उद्योगमा जस्तो सजिलो हुँदो रहेनछ,’ सुमार्गीले भने, ‘कि लाइसेन्स खरिद गर्नुपर्ने नत्र सुरूदेखि प्रक्रिया अघि बढाउँदा ५ वर्ष त लागि हाल्ने रहेछ।’

'४ वर्षमा नै जलविद्युत आयोजना निर्माणमा प्रतिबद्ध'

उनले अहिलेसम्म आफूले निर्माण गरेका सबै परियोजना तोकिएको समयमा नै बनाएको प्रतिक्रिया दिए। यो आयोजना पनि निर्धारित समय ४ वर्षभित्रै पूरा गर्ने प्रतिबद्धता उनले जनाएका छन्।

सिटिजन इन्टरनेशनल बैंकका प्रमुख कार्यकारी पोखरेलले व्यवसायी घरानाहरू जलविद्युत क्षेत्रमा आउन आवश्यक भएको बताए। व्यवसायी सुमार्गीको प्रवेशले जलविद्युत क्षेत्रमा लगानी विस्तारमा ठूलो सहयोग पुगेको उनको भनाइ थियो।

सिटीजन बैंकको अगुवाइमा २५ वटा आयोजनामा लगानी जुटाइएको जानकारी दिनुका साथै उनले समयमै निर्माण सम्पन्न गर्न बैंकका तर्फबाट आफूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

 लगानी व्यवस्थापन सम्झौतामा हस्ताक्षरपछि सम्झौता साटासाट गर्दै आँखुखोला हाइड्रो पावर कम्पनी प्रालि का अध्यक्ष अजेयराज सुमार्गी र सिटिजन इन्टरनेशनल बैंकका प्रमुख कार्यकारी अधिकृत  गणेशराज पोखरेल।  तस्वीर : शीला तिम्सिना

अनुमानित लागत ७ अर्ब ३३ करोड रूपैयाँ रहेको आयोजनामा ५ बैंकको ऋण ७५ प्रतिशत रहनेछ भने जलविद्युत कम्पनीको २५ प्रतिशत लगानी रहने जानकारी अध्यक्ष सुमार्गीले दिएका छन्।

जसअनुसार ५ बैंकले आयोजनामा ५ अर्ब ५० करोड रूपैयाँ बराबर ऋण लगानी गर्नेछन् भने जलविद्युत कम्पनीको १ अर्ब ८३ करोड रूपैयाँ लगानी रहनेछ।  

आयोजना आगामी ४ वर्षभित्रै निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य कम्पनीले राखेको छ।

आयोजना अघि बढाउन नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालयलगायत सरोकारवाला निकायमा सबै कानुनी प्रक्रिया पूरा गरेको कम्पनीले जनाएको छ।

आयोजनाबाट वार्षिक २१९ गिगावाट बिजुली उत्पादन

आयोजना निर्माणपछि उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको नुवाकोट जिल्लास्थित त्रिशुली ३ बी हब सबस्टेसनमा जोड्ने व्यवस्था गरिएको छ।

कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ६६ दशमलव ७ सय गिगावाट घन्टा र बर्खामा १५२ दशमलव ४३८ गिगावाट घन्टा गरी वार्षिक २१९ दशमलव १३८ गिगावाट घन्टा खुद विद्युत उत्पादन हुनेछ।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.