|
दैलेखको नारायण नगरपालिकाको कार्यालय। तस्वीर : उदयराज अधिकारी

दैलेख : जिल्लाको नारायण नगरपालिकाले स्कुलमा विद्यार्थीको दिवा खाजा भन्दै बिना प्रमाण ७ लाख रूपैयाँभन्दा बढी खर्च गरेको पाइएको छ।

महालेखा परीक्षकको कार्यालयको ०७५/७६ को प्रतिवेदनअनुसार नगरपालिकाले दिवा खाजा शीर्षकमा १२ विद्यालयका नाममा ७ लाख ६९ हजार रूपैयाँ जथाभावी खर्च गरेको उल्लेख गरेको छ।

दिवा खाजाबापतको रकम विद्यार्थीको दैनिक हाजिरी पुस्तिकाको प्रमाणित प्रतिलिपिका आधारमा दिनुपर्ने प्रावधान छ। हाजिरी पुस्तिका सम्बन्धित स्कुलका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षबाट गराउनु पर्छ।

यसका आधारमा कक्षा ५ सम्मका विद्यार्थीका लागि दैनिक १५ रुपैयाँका दरले खाजा खर्च दिनुपर्ने भएपनि नगरपालिकाले प्रमाणबिनै १२ विद्यालयलाई ७ लाख ६९ हजार दिएको महालेखाले उल्लेख गरेको छ।

महालेखाको प्रतिवेदनमा दिवा खाजा कार्यान्वयन पुस्तिका २०७५/७६ मा तोकिएको खास क्षेत्र वा सीमान्तकृत, लोपोन्मुख जातिका (लक्षित समूहका) बालबालिकालाई दिवा खाजाका लागि अनुदान दिन सक्ने व्यवस्था छ।

दैलेखमा विश्व खाद्य कार्यक्रम लागू भएकोले दोहोरो दिवा खाजा खर्च देखिएकाले असुल हुनुपर्ने महालेखाले उल्लेख गरेको छ।

यता, नारायण नगरपालिकाका शिक्षा शाखा प्रमुख हिमालयजंग शाहाले दैलेखमा विश्व खाद्य कार्यक्रम ०७० सालदेखि सकिएको र महालेखाको प्रतिवेदनमा भनेअनुसार दोहोरो नपरेको बताए।

उनले विद्यालयमा हाजिर भएका विद्यार्थी संख्या/प्रमाणका आधारमा दिवा खाजा दिइएको दाबी गरे।  

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रेशमबहादुर बुढाले प्रमाणका आधारमा दिवा खाजा कार्यक्रम नगरपालिकाले सञ्चालन गरे पनि महालेखाले कुन आधारमा असुल्नुपर्ने बेरुजु निकाल्यो थाहा नभएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.