|
चट्याङले मरेका भेडा। तस्वीर : दिलमाया शाही

जुम्ला : सोमबार राति परेको चट्याङले ४० वटा भेडा मरेपछि गुठीचौरका किसान चिन्तित भएका छन्। जुम्लाको गुठीचौर गाउँपालिका–४ स्थित डाबालेक पाटनमा चट्याङ लागेर ती भेडा मरेका हुन्।

चट्याङका कारण १५ भेडा घाइते भएका छन्। किसानले बर्खायाममा पाटनमा भेडा चराउने क्षेत्र हो। त्यहाँ गुठीचौर गाउँपालिकाका ४ जना किसानका २ सय भेडा थिए। चट्याङ लागेर नानो भण्डारीका १० वटा भेडा मरेका छन् भने २ वटा घाइते भएका छन्। 

त्यसैगरी मुनबहादुर भण्डारीका ४ वटा भेडा मरेका छन् भने २ वटा घाइते भएका छन्। त्यस्तै मुनिप्रसाद अधिकारीका १७ वटा मरेका छन् भने ७ वटा घाइते भएका छन्।

त्यसैगरी देवीप्रसाद अधिकारीका ९ वटा भेडा मरेका छन् भने ४ वटा घाइते भएको गुठीचौर गाउँपालिका इलाका प्रहरी कार्यालयका इन्चार्ज कमल श्रेष्ठले बताए। उनले भने, ‘चट्याङले ४० वटा भेडा मरे र १५ वटा घाइते छन्।’

प्रहरीका मुुचुल्का अनुसार साढे ६ लाख बराबरका भेडा मरेका छन्। स्थानीय मुनिप्रसाद अधिकारीले आयस्रोतको माध्यम भेडा मारिएकोमा दुःख लागेको बताए।

यहाँका किसानले भेडा बेचेर घरपरिवारका लत्ताकपडा, छोराछोरीको स्कुल खर्च चलाउने गरेका छन्। चट्याङले भेडापालक किसानमाथि बज्रपात परेको गुठीचौर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्मराज गिरिले बताए।

उनले भने, ‘विपद् कति बेला आउँछ, थाहै हुँदैन। हामीले चाहेर पनि रोक्न सक्दैनौं।’ उनले भेडापालक किसानहरूलाई राहत दिन गाउँपालिकामा छलफल गरिने बताए।

गुठीचौर क्षेत्रका अधिकांश नागरिकको मुख्य आम्दानीको स्रोत भेडापालन हो। पशु अस्पताल तथा पशु सेवा कार्यालयका जुम्लाका प्रमुख गोविन्द महतले प्रहरीको मुचुल्का, मरेका भेडाका फोटा, वडाको सिफारिस र सम्बन्धित किसानको नागरिकताको प्रतिलिपि लिएर किसानले जिल्ला प्रशासन कार्यालयले दिनुपर्ने हुन्छ।

जिल्ला प्रशासनले सिफारिस पशु अस्पताल तथा पशु सेवा कार्यालयलाई सिफारिस गरेको खण्डमा राहत दिने व्यवस्था रहेको छ।

उनले भने, ‘राहतका लागि कार्यविधि बनेको छ। त्यसैअनुसार भेडा किसानलाई राहत दिने व्यवस्था रहेको छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.