|

हेटौंडा : गत जेठ २८ गते हेटौंडास्थित गौरीटार रंगशालाको शिलान्यास गरेको १२ वर्ष  पुग्यो। गत शनिबार माधव नेपाल हेटौंडा आउँदा रंगशाला शिलान्यास भएको १२ वर्ष साढे ३ महिना भएको थियो। यो १२ वर्षमा रंगशालाको शिलान्यास गरेका तत्कालीन प्रधानमन्त्री नेपालको भूमिकामा धेरै परिवर्तन आयो तर उनले शिलान्यास गरेको रंगशालाले हालसम्म परिवर्तन पाएको छैन।  

२०६६ साल जेठ २८ गते नेता नेपालले प्रधानमन्त्री हुँदा हेटौंडा आएर रंगशालाको शिलान्यास गरेका थिए। शिलान्यास भएदेखि हालसम्म रंगशालाको आसपासमा भएका खाली जग्गा घरले भरिए, साना झुपडी ठूला महल बनेर ठडिए तर रंगशाला निर्माणले गति पाएन। २३ बिघा क्षेत्रफलमा रंगशाला बनाउन शिलान्यास गरिएको स्थान अहिले आइसोलेसनको नामले परिचित छ। 

१२ वर्षसम्म निर्माणले गति नलिएर गुमनाम बनेको रंगशाला गत वर्षदेखि सुरु भएको कोरोनाले गर्दा गौरीटार आइसोलेसनको रूपमा परिचित छ। यो ठाउँलाई गौरीटार रंगशाला भन्दा कमैले चिन्छन्। खेलाडी खेल्ने रंगशाला निर्माणले गति नलिए पनि महिला खेलाडी बस्ने छात्रावास भने निर्माण भयो। सोही छात्रावासलाई कोरोना संक्रमणकालमा आइसोलेसन बनाइयो।

हेटौंडाबाट पूर्वी मकवानपुरतर्फ जाँदा  हेटौंडा–६ मा एउटा ठूलो पहेँलो भवन देखिन्छ। त्यसभित्र प्रवेश गर्ने गेटमा गौरीटार आइसोलेसन लेखिएको छ। गेटभित्र जाँदा देब्रेपट्टि ३ वटा भवन देखिन्छन्। कुनै जंगलमा प्रवेश गरेजस्तै रूख, बोटविरुवा र झाडी देख्न सकिन्छ। झट्ट हेर्दा सिनेमाको भूतघर जस्तै देखिने एउटा ठूलो भवन छात्रा खेलाडीका लागि बनाइएको छात्रावास हो भने अन्य साना दुईवटा भवन कभर्ड हल हुन्।

छात्रावासका लागि बनाइएको भवन आइसोलेसन सेन्टर बन्यो भने कभर्डहल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवनको रूपमा छ। हाल कोरोना संक्रमणदर घटेको हुँदा उक्त आइसोलेसन बन्द गरिएको छ। 

प्रदेश सरकारको पनि प्राथमिकतामा परेन

बन्द प्रशिक्षण पनि सञ्चालन गर्ने गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सुरु गरेको गौरीटार रंगशाला निर्माण बागमती प्रदेश सरकारको पनि प्राथमिकतामा परेको छैन। प्रदेश सरकार गठन भएपछि रंगशाला निर्माणका लागि धेरथोर बजेट विनियोजन गर्दै आए पनि रंगशाला निर्माणले गति भने लिन सकेको छैन।

केही वर्षअघि संघीय सरकारअन्तर्गत ८ करोडमा निर्माण भएको छात्रावास पनि अब प्रयोग  गर्न नमिल्ने अवस्थामा रहेको छ। प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले छात्रावासका लागि बनाइएको भवन खेलाडीहरू बस्नका लागि उपयुक्त नभएको बताए।

‘कोठा एकदमै साना छन्, ट्वाइलेट बाथरुमको पनि व्यवस्था छैन। यत्रो ठूलो भवन त बनाइयो तर खेलाडीहरू राख्न प्रयोग हुँदैन। अन्तरराष्ट्रियस्तरका खेलाडीहरू पनि यहाँ आउँछन्। ठूला खेलाडीलाई यस्तोमा राख्न सुहाउँदैन’, भण्डारीले भने।

उनका अनुसार बागमती प्रदेश सरकारले आव ०७६/७७ मा रंगशाला निर्माणका लागि ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। सो रकमबाट फुटबल मैदान बनाइएको उनको भनाइ छ। ‘सम्याउने र दुबो रोप्ने जस्तो काम गरेर मैदान बनाइएको छ‚ अब प्यारापिट बनाउने काम हुँदै छ’, उनले थपे। 

त्यसैगरी गत आर्थिक वर्ष ०७७/७८ मा पनि प्रदेश सरकारले रंगशाला निर्माणका लागि ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर काम गर्न नसक्दा बजेट फ्रिज भएको सदस्यसचिव भण्डारीले बताए। चालू आर्थिक वर्ष ०७८/७९ मा पनि प्रदेश सरकारले रंगशालाका लागि ८ करोड रुपैयाँ छुट्याएको उनले जानकारी दिए।

भण्डारीका अनुसार फुटबल रंगशाला मात्रै निर्माण गर्न ९० करोड रुपैयाँ लागत अनुमान गरिएको छ। रंगशाला स्थलमा १९ वटा खेलकुद संरचना बनाउने योजना छ। तर प्रदेश सरकारले रंगशाला निर्माणका लागि विनियोजन गरेको बजेट र भएको कामको गतिलाई हेर्दा गौरीटार रंगशालाले कहिले पूर्णता पाउन भन्ने अवस्थामा नभएको भण्डारी बताउँछन्।

‘प्रदेश सरकारको ५ वर्षमा निर्माण सम्पन्न गरिसक्ने भनेको त हो तर यो सम्भव देखिदैन’, भण्डारीले भने। फुटबल मैदान बनाउन मात्रै ५ करोड खर्च भइसकेको उनको भनाइ छ। फुटबल रंगशाला निर्माणका लागि २५ करोडको टेण्डर आह्वान गरिएको भण्डारीले बताए। यो वर्ष रंगशालाको बजेट भने ८ करोड मात्रै छ।

उनले सो बजेटबाट चालू आवमा क्रिकेट मैदान सम्याउने काम गरिने बताए। उनले सो स्थानमा ५ हजार क्षमताको २५ करोड लागतमा ढलानको प्यारापिट पनि निर्माण गर्ने योजना रहेको सुनाए।  

खेलकुदमा घट्दै गयो प्रदेशको बजेट

बागमती प्रदेश सरकारको वार्षिक बजेट बढ्दै गएको छ तर सरकारले खेलकुदमा भने  प्रत्येक वर्ष बजेटलाई घटाउँदै लगेको छ।  
भण्डारीले दिएको जानकारीअनुसार प्रदेश सरकारले पहिलो वर्ष खेल क्षेत्रका लागि प्रदेशमा एक अर्ब रुपैयाँ विनियोजन गरेको थियो। प्रदेश सरकार गठन भएको दोस्रो वर्षमा खेल क्षेत्रको बजेट १ अर्बबाट घटेर ९० करोडमा झर्‍यो।

​तेस्रो वर्ष अर्थात् चालू आवमा प्रदेश सरकारले खेल क्षेत्रका लागि ६५ करोड रुपैयाँ मात्रै बजेट विनियोजन गरेको भण्डारीले जानकारी दिए। प्रदेश सरकारको बजेट वार्षिक रूपमा वृद्धि हुँदै जाँदा खेलक्षेत्रको बजेट भने घटिरहँदा बागमती प्रदेश सरकारले खेलकुदलाई प्राथमिकतामा नराखेको देखिन्छ।

परिषद्का सदस्यसचिव भण्डारीका अनुसार राष्ट्रिय/अन्तरराष्ट्रिय स्तरका थुप्रै खेलाडी उत्पादन गर्ने बागमती प्रदेशमा खेलकुदका थुप्रै संरचना निर्माण नभएर अलपत्र अवस्थामा छन्।   

स्थानीयलाई छैन आस

आइतबार अपराह्ण रंगशालामा निर्माणाधीन फुटबल मैदानमा पुग्दा स्थानीय युवा फुटबल खेलिरहेका थिए। उनीहरू दैनिक त्यहाँ फुटबल खेल्ने गरेका छन्। फुटबल खेलिरहेकामध्ये एकजनाले आफूले सानैमा प्रधानमन्त्रीले रंगशाला उद्घाटन गरेको सुनेको तर हालसम्म नबनेको भन्दै दुखेसो गरे। नाम भन्न नचाहेका उनले भने, ‘यहाँको शिलान्यास हुँदा म धेरै सानो थिएँ। मैले बल खेल्न थालेकै थुप्रो भयो, सानै हुँदा घर नजिकै रंगशाला बन्ने भयो भनेको सुन्दा बल खेल्न ऊर्जा मिलेको थियो तर यत्रो समयसम्म रंगशाला नबनेको देख्दा साह्रै दुःख लाग्छ।’

उनले आफूहरूलाई सरकारले रंगशाला निर्माण गर्ने आस नभएको भन्दै यथास्थितिमा छोडिदिन समेत आग्रह गरे। ‘बरु अहिले जस्तो छ त्यस्तै अवस्थामा छोडिदिए हुन्छ, हामीले खेल्न पाइरहेका छौँ। निर्माण गर्ने बहानामा अझै बिगारेर छोड्न पाइँदैन’, उनले थपे। उनले रंगशाला निर्माणले १२ वर्षसम्म गति नलिएको देख्दा अचम्भित भएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.