|

जनकपुरधाम :  पवित्र मानिएको जितिया पर्व जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ।

व्रत बस्नुअघि आजको दिन महिलाले घिरौँलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई प्रसाद चढाइ चिउरा दही र अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) खान्छन्। आजको दिनलाई ‘नहा, खा’ अर्थात् नुहाएर खानु भनिन्छ।

मंगलबार बिहान ४ बजेदेखि पानीसमेत नखाई उपवास बसेका व्रतालु महिलाहरूले बुधबार बिहान १० बजे व्रत सम्पन्न गर्नेछन्।

व्रतको पहिलो दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ जसलाई स्थानीय भाषामा माछ मरुवा (कोदो) भनिन्छ। विधिअनुसार बिहान काग कराउनुभन्दा पहिल्यै व्रती महिला ओठगन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ।

प्रायःजसो महिलाले ओठगनमा च्युरा, दही खाने गरेको पाइन्छ। त्यसपछि विकट उपवासका क्रम सुरु हुन्छ। आश्विन कृष्ण पक्षको अष्टमीका दिन मनाइने यो व्रत विशेष विकट रहेको पण्डित लालबाबु झा बताउँछन्।

सन्तानको दीर्घ जीवन, पुत्रप्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ। पुरोहित इन्द्रकान्त झाले यो पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्ने बताउँछन्। पितृपक्षमा मनाइने पर्वमा महिलाले आफ्नो दिङ्वगत पितृलाई पिण्ड चढाउँछन्।

भोलिपल्ट बिहानै सकालै उठेर व्रतीले पोखरी, नदीमा गएर स्नान गर्छन् र त्यही डिलमा घिरौँलाको पात, कचौरामा लगेको तेल लगाई त्यसमाथि हल चढाएर अर्घ दिसकेपछि घर आउँछन्।

आ–आफना सन्तानका कपालमा कचौरामा रहेको सो पुजनको तेल लगाइदिने चलन रहेको छ। यसपछि सबैलाई दही, चिउरा र फलफूल खान दिएर व्रती आफू पनि पारायण गरेर पर्वको समापन गर्छन्।

चिल र स्यालको  पूजा

हिन्दुधर्मको विभिन्न पर्वमा कतिपय चरा र जनावरलाई विशेष महत्व दिएर पूजा गरेर सम्मान दिने परम्परा रहेको छ।

सोअनुरूप गाई, परेवा, काग, कुकुर, हाँस, बाघ, मुसो लगायतका जनावरको पूजा गरिन्छ भने जितिया पर्वमा चिल र स्यालको पूजा गर्नुपर्ने हुन्छ।

थारू जनजातिका महिलाबीच लोकप्रिय पर्व जितिया

 

थारू जनजातिका महिलाबीच पनि यो पर्व अति लोकप्रिय रहेको छ। थारू समुदायमा विवाहित महिलाले आफ्ना सन्तति र पतिको सुखशान्तिको कामना गर्दै निराहार बसी तीन दिनसम्म यो पर्व मनाउने गर्छन्।

यस समुदायमा पर्वको पहिलो दिन पिना र पहेँलो माटो मुछेर घिरौँलाका पातमा घिरौँलाकै फूलबाट पूजा गरिन्छ र त्यही माटोबाट कपाल नुहाइन्छ।

भोलिपल्ट बिहान कुलदेवता बस्ने घरको पिँढीमाथि चिल र पिँढीदेखि तल स्यालको पूजा गरिन्छ। पर्वको तेस्रो दिन बिहान घरको आँगनमा पूजा गरेर उपवास तोडिन्छ र जिमुतवाहनको कथा सुन्ने र नाचगान गरिन्छ।

दशैँ आगमनको संकेत

जितिया पर्वलाई दसैँ आगमनको संकेतका रूपमा पनि लिइन्छ। कतिपय महिलाले यस पर्वमा पुर्खालाई समेत पूजा गर्ने गरेको पाइन्छ। यस पर्वमा आफ्ना कुलका मृत श्रेष्ठ महिलाको स्मरण गर्दै पुजन गरिन्छ।

छोरा र छोरीमा भेद्भाव गर्नुहुन्न भन्ने चेतना बढ्दै गएकाले यसलाई अचेल आफ्ना सन्तानको कल्याणका लागि मनाइने पर्व पनि भन्न थालिएको छ। ऐतिहासिक यस भूभागमा बसोबास गर्ने मुस्लिमबाहेकका महिलाको पर्वका रूपमा पनि यसले आफ्नो अस्तित्व हालसम्म कायम राखेको छ।

जितिया पर्वको अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा

प्रदेश २ सरकारले तराई मधेशका महिलाहरूको निष्ठाको कठोर पर्व जितियाको अवसरमा असोज १३ गते बुधवार सार्वजनिक विदा घोषणा गरेको छ।

मुख्यमन्त्री लालबाबु राउतले आज एक शुभकामना संदेश जारी गर्दै असोज १३ गते बुधबार प्रदेश भरि महिलाका लागि सार्वजनिक विदा भएको जानकारी गराएका हुन्।

मुख्यमन्त्री राउत द्वारा जारी शुभकामना सन्देशमा पुत्रको दिर्घायुको कामना गर्दै हिन्दु धर्माबलम्बी मधेसी समुदायका महिलाहरूले मनाउने कठोर व्रत जितियाको अवसरमा सम्पूर्ण महिलाहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको छ।

सन्तान प्रतिको स्नेह झल्काउने आमाको जितिया पर्वले प्रदेश भरि नै आस्था र प्रेम कायम रहोस् भन्ने शुभकामना पनि मुख्यमन्त्री राउतले दिएका छन्। उनले सबै प्रदेशबासीमा जितिया पर्वको शुभकामना व्यक्त गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.