|

काठमाडौं : कमलपोखरी पुनर्निर्माणको पहिलो चरणको काम करीब ९५ प्रतिशत सम्पन्न भएको छ।

पुनर्निर्माणपछि लबालब (टनाटन) पानी भरिएको कमलपोखरीको निरीक्षणका सिलसिलामा काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले करीब ९५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए।

काठमाडौं महानगरपालिकाका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, वडाध्यक्ष भरतलाल श्रेष्ठसहित निरीक्षणका लागि आज कमलपोखरी पुगेका शाक्यले केही समय अनावश्यक विवादका कारण काममा केही अवरोध भए पनि अहिले सुन्दर पोखरी निर्माण हुने चरणमा पुग्दा खुशी लागेको बताए।

उनले छिटै कमलपोखरीको उद्घाटन गरी यहाँको सम्पदालाई पर्यटनसँग जोड्ने योजना रहेको पनि बताए। उनले पानी पुनर्भरण र पानी शुद्धिकरण गर्ने योजनासहित पोखरी पुनर्निर्माण गरेको स्मरण गराए।

उनले महानगरपालिकाले कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारेको र त्यहीअनुरुप काम भइरहेको पनि बताए।

सहरी योजना आयोगका उपाध्यक्ष बस्नेतले कमलपोखरीमा चार ओटा कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहने जानकारी दिए। करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भइरहेको उक्त पोखरी बास्तुशास्त्रमा आधारित भएर निर्माण भइरहेको पनि उनले बताउ।

महानगरपालिका सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठले आकाशे पानी पोखरीमा जम्मा हुने व्यवस्था गरेको जानकारी दिए। गेट, शौचालयको केही र रंगरोगनलगायतको मात्रै काम बाँकी रहेको जानकारी दिए। कडेँल निर्माण सेवा कम्पनीले भक्तपुर र ललितपुरको बुङमतीका अनुभवी कामदार ल्याएर पुनर्निर्माणको काम गरेको जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.