|

काठमाडौं :  नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट म्याच हुने एक मात्र मैदान हो। यो मैदानमा अन्तर्राष्ट्रियस्तरको पहिलो क्रिकेट म्याच एसिसी ट्रफीअन्तर्गत जापान र हङकङबीच ५ अक्टोबर सन् १९९८ मा भएको थियो।

 त्यसअघि ३ अक्टोबर सन् १९९८ मा नेपाल र थाइल्याण्डबीच र २ अक्टोबरमा बंगलादेश र पपुवान्यूगिनी बीच खेल हुनुपर्नेमा खराब मौसमका कारण खेल हुन सकेको थिएन।

 जसकारण जापान र हङकङबीचको खेल नै त्रिवि क्रिकेट मैदानमा भएको पहिलो अन्तर्राष्ट्रिय खेल हुन पुग्यो। त्यसयता यो मैदान अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय खेलहरू खेल्ने एक मात्र मैदान बनेको छ। नेपालले क्रिकेटको क्षेत्रमा उल्लेख्य प्रगति गरिरहेको छ।

तर, अन्तर्राष्ट्रियस्तरको खेल मैदान हुन नसक्दा खेलाडीहरूले चाहेजति अभ्यास गर्न सकेका छैनन्। एउटा मात्र अन्तर्राष्ट्रिय स्तरको रंगशालाका कारण नेपाली खेलाडीहरूलाई विदेशमा गएर म्याच खेल्न पनि सकस परिरहेको स्वयं खेलाडीहरूले नै बेलाबेला बताउने गरेका छन्।

 नेपाली खेलाडीहरूलाई सिकाउन आएका प्रशिक्षकहरू पनि नेपालले अन्तर्राष्ट्रियस्तरको खेल मैदान तयार पार्न सके नेपालको क्रिकेट स्तरमा उल्लेखनीय परिवर्तन हुने दाबी गरिरहेका छन्। तर, पनि सरकार यसबारेमा लाचार देखिन्छ। नेपालले सन् १९८८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) बाट एशोसिएट सदस्यता पाएको थियो।

अहिलेसम्म आइपुग्दा नेपाल टी–२० वरीयतामा विश्वमा १३ औँ स्थानमा छ भने एकदिवसीयमा १६ औँ स्थानमा छ। नेपालमा त्रिभुवन क्रिकेट मैदान बाहेकका अन्य ३ वटा मैदान भए म्याच खेलाउन, खेलाडीहरूलाई अनुभव बटुल्न र अभ्यास गर्ने कुरामा धेरै सहयोग हुने  टियु क्रिकेट मैदानका क्युरेटर मधु तामाङले बताए।

उनले एउटै क्रिकेट पिचमा खेल्दा एक,दुई वटा खेलपछि नराम्रो असर पर्ने समस्या रहेको भन्दै अन्य अन्तर्राष्ट्रिय स्तरका क्रिकेट मैदान बनाउनुपर्ने जोड दिए।

एउटा म्याच खेलिसकेपछि एउटा मैदानमा एक महिना म्याच खेलाउन उचित नहुने बताउँदै उनले नेपालमा अन्य क्रिकेट मैदान नबन्दा खेलका लागि मैदान तयार गर्न पनि समस्या रहेको बताए। उनले एकपछि अर्को लगातार म्याच खेलाइरहँदा  त्रिवि क्रिकेट मैदानलाई खेलको भार भएको उल्लेख गरे।

‘नेपालको अन्तर्राष्ट्रिय ग्राउण्ड यही एउटा मात्रै भयो, यसको विकल्पमा अरू ग्राउण्डहरू पनि छैन। यस्तै तीन वटा जति ग्राउण्ड भइदिएको भए, टुर्नामेण्ट गर्न सजिलो हुन्थ्यो, मैदानलाई भार पनि पर्दैन थियो, इपिएलको लागि तयारी लगभग सकिएको छ। १५-२० दिन अघिदेखि तयारी शुरु भयो। टी २० को लागि घाँसे मैदान फाइदाजनक हुन्छ।

हामीसँग अहिले ठिक्क मिल्ने पिच छ, ब्याटिङको लागि राम्रो हुने पिच छ, एउटै विकेट (पिच) मा सबै म्याच खेलाउन पनि सकिँदैन, खेलाए पिचलाई धेरै भार पर्छ, १० दिनको म्याच भए ३ वटा विकेट, ५ दिनको भए दुईवटाले पनि धान्न सकिन्छ', उनले भने, ' एउटा मात्रै पिच भए शुरुका केही म्याच राम्रो हुन्छन्।

त्यसपछि बल बाउन्स हुने लगायतका समस्या देखापर्छ। गर्मीमा जाडोमा भन्दा राम्रो हुन्छ, जाडोमा मैदान धेरै चिसो हुँदा घाँसहरूको मुना मर्छन्। तर, गर्मीमा पिच चाँडो सुक्छ। एउटा म्याच खेलिसकेपछि पिचमा एकमहिनासम्म खेल्नको लागि सहज र त्यति उपयुक्त मानिँदैन। सकेसम्म एक म्याच खेलेपछि एकमहिना सम्म मैदानलाई आराम गर्नदिनुपर्छ। तर, नेपालमा एउटा मात्रै अन्तर्राष्ट्रिय क्रिकेट मैदान छ, जसकारण मैदानले आराम नै पाउँदैन।’

त्रिवि क्रिकेट मैदानमा म्याच गराउनका लागि अहिले तीन वटा पिच रहेका छन्, जसमा हरेक म्याचमा पालैपालो म्याच गराइनेछ। इपीएलको लागि मैदान तयार भइसकेको छ। पिच २२ गजको हुनेगर्छ। यसको दुवैतर्फ स्टम्प हुन्छन्।

यसमा घाँस कम हुन्छ भने पिचले म्याचमा टीमको रणनीतिलाई प्रभावित बनाउँछ। नेपालले सन् १९९८ मा एसीसी ट्रफीको आयोजना गर्ने अवसर पाएको थियो। त्यसका लागि अन्तर्राष्ट्रिय स्तरको मैदान आवश्यक पर्ने भएपछि सन् १९९६ मा भारतको जीस्पोर्टस कम्पनीसँग मैदान बनाउन सम्झौता गरेको थियो। सम्झौताअनुसार सानो फुटबल मैदानलाई जीस्पोर्ट्सले अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाइदिएको थियो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.